९३ वर्षीय वृद्धको जवाफ जसले डाक्टरहरूलाई रुवायो

इटालीको अस्पतालमा एक जना ९३ वर्षका वृद्ध उपचारको लागि भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि तिनलाई एक दिनको रेस्पिरेटर  (कृत्रिम रूपमा स्वासप्रश्वास गराउने यन्त्र) को खर्च तिर्न अनुरोध गरिँदा तिनी रुन थाले । बिलको खातिर रुनु पर्दैन भनी डाक्टरले ती पाका मानिसलाई थमथमाउन खोज्दा ती वृद्धले जवाफमा जे भने त्यसले उल्टै सबै डाक्टरलाई नै रुवाइदियो ।

ती पाका मानिसले भने, “मैले तिर्नुपर्ने पैसाको लागि म रोएको होइनँ किनकि म यी सबै तिर्न सक्षम छु । म यसकारणले गर्दा रुँदै छु कि मैले ९३ वर्षसम्म परमेश्वरको सास फेरिरहेको छु, तर त्यसको लागि मैले कहिल्यै एक पैसा पनि तिरेको छैनँ । एक दिन अस्पतालमा रेस्पिरेटर प्रयोग गर्नलाई ५०० युरो तिर्नुपर्छ । म परमेश्वरप्रति कति ऋणी छु भन्ने कुरा के तपाईंहरूलाई थाहा छ ? यसको लागि मैले पहिले कहिल्यै पनि परमेश्वरलाई धन्यवाद दिएको थिइनँ ।” यी पाका मानिसको जवाफ मननयोग्य छ ।

गोठालोबाट राजा बनेका दाऊदले झण्डै तीन हजार वर्षअगि लेखेका थिए, “आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ । र तारा–मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ” (भजनसंग्रह १९:१) । मण्डलीको सतावटकर्ताबाट जोसिला मिसनरी बनेका पावलले करिब दुई हजार वर्ष पहिले लेखेका थिए, “उहाँको अदृष्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ” (रोमी १:२०) । प्रसिद्ध वैज्ञानिक आइज्याक न्यूटनले लगभग ३५० वर्षअगि लेखेका थिए, “सूर्य, ग्रह र पुछ्रेताराहरूको यो ज्यादै सुन्दर प्रणाली बुद्धिमान् र शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ ।”

आज हामीलाई थाहा छ कि यो पृथ्वीको वातावरण ७८.०९% नाइट्रोजन, २०.९५% अक्सिजन र बाँकी अन्य ग्याँसहरू मिलेर बनेको छ । वातावरणमा भएको करिब २१% अक्सिजनको मात्रा एकदमै ठिक छ । यदि यो २५% भएको भए, आगलागी हुनेथियो भने यदि यो १५% भएको भए मानिसहरू निस्सासिएर मर्नेथिए । हामीले कुनै दर्द वा रोगविना सित्तैँमा सास फेर्दा यसको महत्त्वलाई गम्भीर रूपमा लिएका हुँदैनौँ । जब हामी अस्पतालमा पुग्छौँ तब हामीलाई थाहा हुन्छ कि कृत्रिम रेस्पिरेटरको माध्यमद्वारा अक्सिजन लिँदा यसको महङ्गो मूल्य पर्दोरहेछ भनेर । कोरोना भाइरस (कोभिड-१९) को महामारीमा रेस्पिरेटरको महत्त्व झनै छर्लङ्ग भएको छ ।

तपाईंले सित्तैँमा आफ्नो जीवनकालभरि अक्सिजन पाइरहनुभएकोले परमेश्वरप्रति धन्यवादी हुनुहोस् ।

Facebook Comments

Powered by Youth Circle