कोरोनाको कारण प्रभावित ५० हजार परिवारलाई चर्चद्वारा राहत वितरण

ओक्लाहामा अमेरिकाको दक्षिण मध्यतिर पर्ने एउटा राज्यको नाउँ हो । क्षेत्रफलको हिसाबले यो बिसौँ ठुलो राज्य हो ।[i] नेपालभन्दा केही हदसम्म ठुलो यस राज्यको कुल जनसङ्ख्या ३९ लाख रहेको छ ।[ii] प्यु रिसर्च सेन्टरमुताबिक यहाँ ७९% मानिस ख्रीष्टियान छन् ।[iii]

कोरोना सङ्क्रमित सङ्ख्याको आधारमा आइतबार बेलुकासम्म ओक्लाहामा ३२ औँ स्थानमा छ । यहाँ २,५७० जना कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित छन् भने १३९ जनाको ज्यान गइसकेको छ ।[iv] यही राज्यस्थित एउटा मेगाचर्चले कोरोना भाइरसको कारण प्रभावित ५० हजार परिवारलाई खुवाउने काम गरेको छ ।[v]

चर्चको नाउँ हो, भिक्ट्री चर्च । यसका वर्तमान पास्टर हुन्, पावल डार्टी । मण्डली भवनका ढोकाहरू निष्क्रिय भए तापनि मण्डलीका सदस्यहरू भने व्यावहारिक सहयोगका लागि सक्रिय छन् । आफ्नो क्षेत्रमा भएका लघु व्यवसायहरूसित सहकार्य गरी मण्डलीले खाँचोमा परेकाहरूलाई खुवाउन नेतृत्व गर्‍यो ।

“हाम्रा ससाना व्यवसायहरू छन् जसले ठिक अहिले मानिसहरूका खानाका लागि आआफ्ना मासिक तलब र चेक हस्तान्तरण गर्दै छन्,” पास्टर पावलले भने ।

पास्टर पावलले फक्स न्युजलाई बताएअनुसार खाँचोमा परेकाहरूको सेवा गर्नु नै मण्डलीको कर्तव्य हो, “हाम्रो चर्च र हरेक चर्चको मिसन भनेको परमेश्वरलाई प्रेम गर्नु र मानिसहरूलाई प्रेम गर्नु हो । कठिन क्षणको लागि कठिन नापको आवश्यकता पर्छ ।”[vi]

चर्चको यस्तो सेवामूलक कामबाट प्रभावित भई स्थानीय सरकारका पदाधिकारीहरूले पनि चर्चको राहत प्रयासमा टेवा पुर्‍याउँदै छन् । पास्टरले व्याख्या गरे, “मैले हाम्रा मेएर, प्रहरी-प्रमुख र गभर्नरलाई फोन गरी भनेँ कि हामीले हजारौँ मानिसलाई मदत गर्दै छौँ र मलाई लाग्छ कि तपाईंहरूले हाम्रो कामलाई रोक्नुहुन्न । उहाँहरूले जवाफ दिनुभयो, ‘तपाईं सोर्‍है आना ठिक हुनुहुन्छ । … तपाईंले हाम्रो सहरका गरिबहरूका लागि जे गरिरहनुभएको छ, त्यो ठिक अहिले संसारको खाँचो हो’ ।”

चर्चको सेवाबाट प्रभावित भई मानिसहरूमा आशा पलाएका कथाहरू पनि सुन्न भ्याएका छन् पास्टरले । पास्टरका अनुसार येशू संसारको आशा हुनुहुन्छ, “हामीले आफ्नो आशा राख्न सक्ने एउटै ठाउँको बारेमा मैले तिनीहरूलाई बताएँ र त्यो हो— परमेश्वरको वचन र येशू ख्रीष्टको नाउँ ।”[vii]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/List_of_U.S._states_and_territories_by_area Accessed on 19 April 2020

[ii] https://en.wikipedia.org/wiki/Oklahoma Accessed on 19 April 2020

[iii] https://www.pewforum.org/religious-landscape-study/state/oklahoma/ Accessed on 19 April 2020

[iv] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 19 April 2020

[v] https://www1.cbn.com/cbnnews/us/2020/april/they-are-getting-help-and-hope-ok-church-feeds-over-50-000-families-hit-by-coronavirus Accessed on 19 April 2020

[vi] https://www.foxnews.com/us/oklahoma-church-hosts-epic-drive-in-service-as-houses-of-worship-adapt-to-coronavirus Accessed on 19 April 2020

[vii] https://www1.cbn.com/cbnnews/us/2020/april/they-are-getting-help-and-hope-ok-church-feeds-over-50-000-families-hit-by-coronavirus Accessed on 19 April 2020

Facebook Comments

Powered by Youth Circle