दासप्रथा— ख्रीष्टियान शिक्षाको नतिजास्वरूप अन्त्य भएको कुप्रथा

दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो ।[1] दासप्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँहरूमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ । राजा, पुजारीसाथै दार्शनिकहरूले यसको अनुमोदन गरेको पाइन्छ । व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका अनुयायीहरूले उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

प्राचीन संसारमा दासप्रथा यति व्यापक थियो कि ख्रीष्टको आगमनसम्ममा एथेन्समा मात्र ७५% र पूरै रोमी साम्राज्यमा आधाभन्दा बढी दासहरू थिए भनी अनुमान गरिएको छ ।[2] अमेरिका पत्ता लगाउने कोलम्बसले त्यहाँ पाइला टेक्नुअगि त्यहाँका धेरै आदिवासीहरूले पनि दासप्रथालाई व्यापक रूपमा अभ्यास गर्थे ।

ईश्वरशास्त्री अगस्टिन (ख्रिस्टाब्द ३५४-४३०) ले दासप्रथालाई पापको फल र ईश्वरीय योजनाको विपरीत भएको देखे ।[3] ख्रीष्ट आउनुहुँदा उहाँले दासप्रथालाई निमिट्यान्न पारिसक्नुभएको थियो भनी चौथो शताब्दीमा नै प्रखर वक्ता ख्रिसोस्टोमले प्रचार गरे ।[4] पाँचौँ शताब्दीमा आएरल्यान्डमा सन्त प्याट्रिकले दासप्रथाको विरोध गरे ।[5] अन्ततः रोमी सम्राट् जस्टिनियन (शासनअवधि ५२७-५६५) ले दासहरूलाई मुक्त गर्न अवरोध गर्ने सबै कानुनलाई निर्मूलन पारे ।[6] बार्‍हौँ शताब्दीमा आइपुग्दा युरोपमा दासप्रथा दुर्लभ बनिसकेको थियो भने चौधौँ शताब्दीसम्ममा यो प्रायः अज्ञात भइसकेको थियो ।[7] दासहरूप्रति ख्रीष्टियानहरूको आदर, स्वीकार र स्वतन्त्रताले गर्दा धेरै दासहरूले नयाँ विश्वासलाई स्वीकार गरे । केही त मण्डलीका बिशपहरूसमेत बने ।

चौधौँ शताब्दीसम्म आइपुग्दा युरोपमा दासप्रथा प्रायः समाप्त भइसकेको भए तापनि सत्रौँ शताब्दीमा ब्रिटिस साम्राज्यले यसलाई ब्युँताएको थियो, खास गरी इङ्गल्यान्डका उपनिवेशहरूमा । १७८९ मा ख्रीष्टियान राजनीतिज्ञ विलियम विल्बरफोर्सले इङ्गल्यान्डको संसद भवनमा दासप्रथाको विरुद्धमा खरो भाषण गरे । दासप्रथा अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भन्ने तिनको तर्क थियो । १७८१ देखि संसदमा झन्डै प्रत्येक वर्ष नै दासप्रथाको विरुद्धमा विधेयक पेस गरिएको भए तापनि विल्बरफोर्स र तिनको पक्षमा मत हाल्नेहरू पटक-पटक पराजित भए । निरन्तर प्रयासको बाबजुत १८०७ मा इङ्गल्यान्डबाट दासप्रथा उन्मूलन भयो । २८३ भोट निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ ओटा मत त्यसको विपक्षमा ।[8]

अमेरिकामा १८६५ मा दासप्रथा उन्मूलन भए तापनि संसारका विभिन्न मुलुकहरूमा बिसौँ शताब्दीसम्म यसको अभ्यास गरिएको थियो । इथियोपियामा १९४२ सम्म, साउदी अरबमा १९६२ सम्म, पेरुमा १९६४ सम्म दासप्रथा कायम थियो ।[9] छिमेकी मुलुक भारतमा १८४३ मा दासप्रथालाई कानुनी रूपमा निर्मूलन गरिएको थियो[10] भने नेपालमा १९२५ मा ।[11]

सतावटकर्ताबाट सुसमाचारका राजकुमार बनेका प्रेरित पावलले फिलेमोनलाई बिन्ती गरेका छन् कि तिनका कमारा ओनेसिमसलाई तिनले कमाराको रूपमा नभई प्रिय भाइजस्तै व्यवहार गर्नुपर्छ (फिलेमोन १६) । ओनेसिमस आफ्ना मालिक फिलेमोनबाट भागेर गएका कमारा थिए जो तिनीकहाँ फर्कंदै थिए । ख्रीष्टियान भएको नाताले हामीले अब उसो दासप्रथाको अभ्यास गर्नुहुँदैन भनी पावल मालिक फिलेमोनलाई पत्र लेखेर बिन्ती गर्दै छन् । पावलले अर्को पत्रमा पनि भनेका छन्, “अब … न कमारा छ न फुक्का, … किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) । प्राचीन संसारमा शताब्दीऔँसम्म विद्यमान दासप्रथाको अभ्यासलाई ध्यानमा राख्दा पावलका वचनहरू क्रान्तिकारी थिए भनी व्यक्त गर्न सकिन्छ । फिलेमोनलाई लिखित पत्र र गलातीको यस खण्डले तत्कालीन समय र अनुगामी पुस्तामा दासप्रथाको उन्मूलनको लागि दृढ जग बसाल्ने काम गरेका थिए ।

सुरुका ख्रीष्टियानहरू फुक्का ख्रीष्टियानहरूसित मात्र नभई दासहरूसित पनि घुलमिल हुन्थे । चाहे दासहरू होउन् वा फुक्का, तिनीहरूले उही वेदीमा प्रभु-भोज लिन्थे । ख्रीष्टियानहरूको यस्तो किसिमको समावेशी व्यवहार रोमीहरूको भन्दा निकै फरक थियो जसले दासहरूलाई घृणा गर्थे ।

महान् इतिहासकार विल डुरान्टका अनुसार ख्रिस्टियमत भेदभाव गर्ने धर्म थिएन, बरु यसले त सबै किसिमका मानिस, वर्ग र राज्यलाई निमन्त्रणा गर्छ ।[12] दासप्रथाको निर्मूलन र जातिभेदको इन्कार दुवैको जरा आदि ख्रीष्टियान शिक्षामा गडेका छन् । चाहे दासप्रथा विरुद्ध विलियम विल्बरफोर्सको अभियान होस् या रङ्गभेद विरुद्ध मार्टिन लुथर किङ्गको आन्दोलन होस्, यी सबै नै आदि ख्रीष्टियान अभ्यासलाई बिउँताउने प्रयत्न मात्रै थिए । हजारौँ वर्षसम्म मानव-जातिलाई पीडा दिने दासप्रथा मूलतः ख्रीष्टियानहरूको प्रयासद्वारा अन्त्य भयो ।[13]

 

सन्दर्भ स्रोतहरूः

[1]     नेपाली बृहत् शब्दकोश (काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठान, २०७५) ।

[2]     Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version]. Retrieved from Amazon.com

[3]     Ibid.

[4]     Ibid.

[5]     Ibid.

[6]     Ibid.

[7]     Ibid.

[8]     कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. २२४ ।

[9]     Schmidt, How Christianity Changed the World [Kindle Version]. Retrieved from Amazon.com

[10]    https://en.wikipedia.org/wiki/Slavery_in_India

[11]    https://thehimalayantimes.com/opinion/topics-ending-slavery-in-nepal/

[12]    Will Durant, Caesar and Christ: A History of Roman Civilization and of Christianity from Their Beginnings to A. D. 325 (New York: MJF Books, 1971), 602.

[13]    D. James Kennedy and Jerry Newcombe, What If Jesus Had Never Been Born? [Kindle Version]. Retrieved from Amazon.com

 

Facebook Comments

Powered by Youth Circle