कोरोना प्रभावित दुनियाँमा विचित्रका खबरहरू आइरहँदा अमेरिकाको वासिङ्गटन राज्यबाट अर्को त्यस्तै प्रकृतिको खबर सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा सङ्घर्ष गर्ने क्रममा कोमामा पुगेकी एक जना गर्भवती महिलाले कोमामा छँदा नै बच्चा जन्माएकी छन् र उनले त्यसको श्रेय परमेश्वर र आफ्नो विश्वासलाई दिएकी छन् । छोरीको नाउँ ‘अभा’ राखिएको छ जसको अर्थ हुन्छ— जीवनको सास ।
उनको नाउँ हो, एङ्गेला प्रिमाछेन्को । २७ वर्षकी उनमा ज्वरो देखा परेपछि मार्च २४ मा उनलाई गार्हो हुन थाल्यो । गर्भवती भएकी ३३ हप्ता पुगेकी महिलामा ज्वरोको लक्षण देखा पर्नु खतराको घण्टी थियो । कोरोना जाँचको लागि उनी अस्पताल गइन् जुन अस्पतालमा उनी श्वासप्रश्वासम्बन्धी थेरापिस्टको रूपमा काम गर्छिन् । उनमा कोरोना सङ्क्रमणको पुष्टि भयो ।
एङ्गेलाको अवस्था बिग्रँदै जान थाल्यो र मार्च २९ मा आइपुग्दा उनलाई कोमामा राखियो । अप्रिल १ सम्ममा यी गर्भवती महिला अचेत नै थिइन् । तर अप्रिल ६ मा बिउँझँदा उनलाई पत्याउन कठिन भयो । किनकि उनको बढेको पेट मात्र सुकेर गएको थिएन, तर जुन रोगले उनलाई अस्पताल पुर्याएको थियो, त्यो पनि गायब भएर गइसकेको थियो ।
एङ्गेलाकी एक जुम्ल्याहा बहिनी छन् जसको नाउँ हो, ओक्साना लुइटेन । त्यस अन्धकारपूर्ण घडिको बारेमा उनले इन्स्टाग्राममा लेखिन्, “मैले अति नै शक्तिविहीनता र डरको महसुस गरेकी छु र म नियन्त्रणबाहिर छु । तर त्यसरी नै विश्वासको वृध्दि हुन्छ । … परमेश्वर असल हुनुहुन्छ ।”
एङ्गेला आईसीयुबाट डिस्चार्ज भएपछि उनको विलक्षण सङ्घर्षको तारिफ गर्न उनका सहकर्मीहरू उनको वरिपरि भेला भएका थिए । कोरोनाविरुद्ध आफ्नो सफल युद्धको श्रेय उनले परमेश्वरलाई दिइन्, “यो केवल परमेश्वरको अनुग्रह थियो ।”
परमेश्वरको अनुग्रहद्वारा भर्खरै यस धरतीमा जन्म लिएकी अभाकी एमिली नाउँ गरेकी एक दिदी छिन् जो केवल १० महिना जेठी छिन् । किनकि तोकिएको समयभन्दा अगावै अभाले जन्म लिइन् ।
कम्तीमा पनि दुई पटक कोरोना भाइरसको जाँचको नतिजा नेगेटिभ देखा नपरुञ्जेलसम्म एङ्गेलाले आफ्ना पति डेभिड र छोरीहरूसित भेट गर्न सकिनन् ।
उनले भनेकी छन्, “सबैभन्दा कठिन दिन र क्षणहरूमा पनि आशा हुन्छ । तपाईंले परमेश्वर, मानिसहरू र समुदायमाथि भरोसा गर्न सक्नुहुन्छ । मेरो लागि प्रार्थना गर्ने समुदायका मानिसहरू यति धेरै रहेछन् भनी पत्याउन पनि गार्हो भएको छ । … म अत्यधिक आभारी छु । यसरी बाहिर आउनु आश्चर्यकर्म हो जस्तो लागिरहेको छ ।”
स्रोत: https://www1.cbn.com/cbnnews/2020/april/woman-credits-god-after-giving-birth-in-coma-while-fighting-coronavirus-lsquo-i-rsquo-m-a-miracle-walking-rsquo?fbclid=IwAR3fAQ6qu8hQaa0xlnNDaeGi6MT8idrzMY8BgN5IS5o6JaJKkYtAJUf1vv0