मैले परमेश्वरको प्रेम देखेँ— हरेस खाइसकेका तर कोरोनालाई जितेका व्यक्ति

अमेरिकाको उत्तर-पूर्वमा अवस्थित एउटा राज्यको नाउँ हो, ओहियो । भूगोलको आधारमा चौँतिसौँ ठुलो यस राज्य नेपालभन्दा केही हदसम्म सानो छ । २०१९ को अनुमानअनुसार यहाँको कुल जनसङ्ख्या एक करोड १६ लाख रहेको छ ।[i] प्यु रिसर्च सेन्टरअनुसार यहाँका ७६% मानिस ख्रीष्टियान छन् ।[ii]

कोरोना सङ्क्रमणको दृष्टिकोणबाट अमेरिकाका ५० ओटा राज्यमध्ये ओहियो सत्रौँ स्थानमा छ । शुक्रबारसम्ममा ८,४१४ जना सङ्क्रमित छन् भने ३८९ जनाको निधन भइसकेको छ ।[iii]

यस राज्यमा निको हुनेहरूमध्ये एक जनाको गवाही घतलाग्दो छ । तिनको नाउँ हो, निक ब्राउन । ३८ वर्षका तिनी कोरोना भाइरस (कोभिड-१९) को सङक्रमणबाट झन्डै मरिसकेका थिए । तिनको भनाइअनुसार परमेश्वरमाथि तिनको विश्वास र प्रार्थनाले तिनको स्वास्थ्यलाभमा भूमिका खेलेका छन् ।

गत महिना फ्लुजस्ता केही लक्षणहरू देखिपछि ब्राउन जाँचको लागि डाक्टरकहाँ गए । तिनको अवस्था बिग्रँदै गएपछि तिनलाई इन्टेन्सिभ केएर युनिट (आईसीयु) भर्ना गरियो । अन्तत: जीवन रक्षाको लागि तिनलाई भेन्टिलेटरमा राखियो ।

ब्राउनले भने, “यही प्रक्रिया अगाडि बढिरहेको बेलामा अस्पतालले मेरी पत्नीलाई भेट गरी मेरो जीवनको अन्त्यको विषयमा भएका विकल्पहरूबारे छलफल गर्‍यो ।”

आईसीयुमा भर्ना गरिएको तेस्रो दिनमा ब्राउनलाई कोरोना पोजिटिभ भएको पुष्टि भयो । तिनको अवस्था झन्झन् बिग्रँदै गयो । तिनलाई पूर्ण जीवन सुरक्षामा राखियो ।

स्वास्थ्यमा सुधार हुँदै गर्दा तिनले अस्पतालका कर्मचारीहरूले तिनको कोठाको काँचको झ्यालमा लेखेका दैनिक लक्ष्य तथा सन्देशहरूमा ध्यान लगाउन थाले । कर्मचारीहरूले तिनलाई उत्साह दिन्थे । काँचको झ्यालमा एक दिन कसैले लेखेको थियो, “हामी तपाईंलाई घर पुर्‍याउने छौँ ।”

ब्राउनको स्वास्थ्य सुधारले निरन्तरता पाउँदै गयो । तिनले शक्ति पाउन थाले । स्वास्थ्यमा आएको सुधारको लागि तिनले परमेश्वरलाई धन्यवाद चढाउनुका अतिरिक्त तिनी आफ्नो हेरचाह गर्ने डाक्टरसाथै नर्सहरूप्रति कृतज्ञ भए ।

ब्राउनले भनेका छन्, “मेरो जीवनमा मैले यस्ता निस्वार्थी मानिसहरू देखेको याद छैन । मैले यी मानिसहरूद्वारा वास्तवमै परमेश्वरको प्रेम देखेँ । म साँच्चै मानिलिन्छु कि विश्वासले भिन्नता ल्याएकै हो ।” तिनकाअनुसार प्रार्थनाले पनि तिनको स्वास्थ्यलाभमा भूमिका खेलेको थियो । स्वास्थ्यकर्मीहरू एउटा कुराको लागि कटिबद्ध थिए: मानिसहरूको हेरचाह गर्नमा ।

झन्डै दुई हप्ताको अस्पताल बसाइपछि २७ मार्चमा ब्राउन अस्पतालबाट डिस्चार्ज गरिए । आफ्नो जीवन माया मारिसकेका ब्राउन परमेश्वरमाथि आफ्नो विश्वास, शुभचिन्तकहरूका प्रार्थना, स्वास्थ्यकर्मीहरूको अथक प्रयत्नको नतिजास्वरूप मृत्युको मुखबाट उम्केर आए ।[iv]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Ohio Accessed on 17 April 2020

[ii] https://web.archive.org/web/20080306022953/http://pewforum.org/religion08/state.php?StateID=10 Accessed on 17 April 2020

[iii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 17 April 2020

[iv] https://www1.cbn.com/cbnnews/us/2020/april/i-saw-the-love-of-god-man-recovers-from-covid-19-life-support-credits-prayers-and-sacrificial-hospital-staff?fbclid=IwAR25w4v8fluCCOVF-1jcgbmHEAD7V6pbb1OhG1wtxx1o1Kblb3JlSEhi0aU Accessed on 17 April 2020

Facebook Comments

Powered by Youth Circle