कोरोना प्रभाव: स्वास्थ्यकर्मीहरूको सम्मानमा डाक्टरको स्वरूपमा ख्रीष्टको प्रतिमा

संसार कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा लडिरहेको छ । अग्रपङ्क्तिमा छन्, स्वास्थ्यकर्मीहरू । तिनीहरूलाई हौसला दिन संसारभरि विविध किसिमका दृश्यहरू सार्वजनिक भइरहेका छन् जसमध्ये एक हो, डाक्टरको स्वरूपमा प्रभु येशू ख्रीष्टको प्रतिमा ।

दक्षिण अमेरिकी मुलुक ब्राजिलको सहर रिओ दे जेनेरिओमा येशू ख्रीष्‍टको एउटा बडेमाको प्रतिमा खडा छ जसको नाउँ रहेको छः ख्रीष्‍ट मुक्‍तिदाता । गत आइतबार इस्टरको अवसरमा यस प्रतिमालाई संसारभरिका स्वास्थ्यकर्मीहरूको सम्मान गर्दै डाक्टरको स्वरूपमा देखाइएको हो ।

तिजुका जङ्गलको नेसनल पार्कस्थित २,३०० फिट अग्लो कोर्कोभाडो पर्वतको टाकुरामा निर्मित यो प्रतिमा संसारका सात नव आश्‍चर्यमध्ये एक हो । फ्रान्सेली प्रतिमाकार पावल ल्यान्डोस्कीद्वारा सृजित र ब्राजिलिएन इन्जिनिएर हेइटोर कोस्टाद्वारा निर्मित यो प्रतिमा संसारभर बनाइएका येशूका अग्‍ला सालिकहरूमध्येमा पर्छ । यसको अनुहार भने रोमानियाली चित्रकार घर्ज लिओनिदाले सृजना गरेका हुन् ।

ख्रिस्‍टाब्द १९२२ देखि थालनी गरी ९ वर्षको अवधि लगाएर यस कामलाई १९३१ मा पूरा गरिएको थियो । यसको आधारको उचाइ २६ फिट अग्‍लो रहेको छ भने आधारमाथिको सालिकको उचाइ ९८ फिट अग्‍लो छ । यसरी यो जम्माजम्मी १२४ फिट अग्‍लो प्रतिमा हो । यसको एउटा पाखुराको टुप्पोदेखि अर्को पाखुराको टुप्पोको दुरी ९२ फिट रहेको छ ।

यसको वजन कति होला ? ६३५ मेट्रिक टन । सारा संसारभरको ख्रिस्टियमतको प्रतीकको रूपमा रहेको यस प्रतिमा पर्यटकहरूको गन्तव्य पनि बनेको छ । यसको निर्माणको लागि २ लाख ५० हजार अमेरिकी डलर खर्च भएको थियो जुन मूल्य भनेको हाल ३४ करोड नेपाली रुपियाँ बराबर हुन्छ । यो प्रतिमालाई ६० लाखवटा ससाना पत्थरका टाएलले ढाकेको छ । बीबीसीअनुसार यी टाएलहरू बनाउने कामदारहरूले बारम्बार पछाडिपट्टि केही लेखेका थिए जसले ख्रीष्‍ट मुक्तिदाता हुनुहुन्छ भन्ने सन्देश दिन्छन् ।

यो विश्‍वप्रसिद्ध प्रतिमालाई टाढाबाटा हेर्दा आकाशमा राखिएको क्रूसजस्तो देखिन्छ । यसको रचना र सामग्री दुवैमा यो एउटा सुन्दर कला हो । यसको निर्माणको लागि प्रयोग गरिएका सामग्रीहरूले प्रकाश दिनुका साथै सूर्य, चन्द्र र वरिपरिका ज्योतिको प्रकाशलाई प्रतिबिम्बित गर्छ । ख्रीष्‍टियानहरूका लागि येशू ख्रीष्‍टको यो प्रतिमा प्रतीकभन्दा बेसी छ । रिओ दे जेनेरिओ एउटा ख्रीष्‍टियान सहर हो भनी यस प्रतिमाले घोषणा गरिरहेको छ । यस सालिकको आकृतिले ख्रीष्‍टियान क्रूसको प्रतिनिधित्व गर्छ भने फैलाइएका पाखुराहरू शान्तिका प्रतीक हुन् ।

Facebook Comments

Powered by Youth Circle