९८ वर्षीय पास्टरद्वारा कोरोनामाथि जित

हालसम्म २० लाखभन्दा बेसी मानिसमा सङ्क्रमित कोरोना भाइरसले १,३४,६०३ जनाको ज्यान लिइसकेको छ ।[i]

सङ्क्रमित सङ्ख्याको आधारमा चीन अहिले सातौँ स्थानमा छ यद्यपि यो भाइरस चीनमै सुरु भएको थियो । अगिल्ला छवटा मुलुकमा क्रमश: अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी र युके रहेका छन् । चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८२,३४१ रहेको छ जसमध्ये ३,३४२ जनाले ज्यान गुमाएका छन्; ७७,८९२ पूर्ण रूपमा निको भएका छन्; १,१०७ को उपचार जारी भने ९५ जनाको अवस्था गम्भीर छ ।[ii]

कोरोनासँग जोडिएर संसारका विभिन्न भूभागमा अनौठा खालका खबरहरू बाहिर आइरहँदा चीनका एक जना ९८ वर्षीय पास्टरको स्वास्थ्यलाभलाई पनि ‘अपवाद’ को रूपमा हेरिएको छ ।

पास्टरको नाउँ हो, जोसेफ झु बायु । ख्रिस्टाब्द १९२१ मा छिमेकी मुलुक चीनमा जन्मेका तिनी बिशप अर्थात् पास्टर हुन् ।

३ फेब्रुअरीमा पास्टर जोसेफमा कोरोना पुष्टि भयो । तर १२ तारिखमा आइपुग्दा तिनमा नेगेटिभ देखियो र १४ मा तिनको फोक्सोमा कुनै समस्या देखिएन ।[iii]

चीनको नानयाङ्गस्थित अस्पतालमा जोसेफको उपचार भएको थियो । भाइरसको सङ्क्रमणका अतिरिक्त तिनी अन्य रोगहरूसित पनि जुधिरहेका थिए । तिनको चङ्गाइलाई ‘अपवाद’ मानिएको छ । डाक्टरहरूले बताइरहेका छन् कि कोरोना भाइरस (कोभिड-१९) विविध रोगहरूसित जुधिरहेका वृद्धवृद्धाहरूका लागि घातक साबित भएको छ ।

बुबाको मृत्युपश्चात् ६ वर्षकै कलिलो उमेरमा जोसेफलाई अनाथालय लगियो । तिनी १९५७ मा सेवाकार्यमा अभिषेक गरिए ।

‘प्रति-क्रान्तिकारी अपराध’ को नाउँमा १९८१ मा तिनी गिरफ्तारमा परे । १० वर्षको जेल सजाय तोकिएको भए तापनि १९८८ तिनी रिहा भए । भूमिगत मण्डलीका सदस्यसमेत रहेका तिनी २००२ मा बिशपमा अभिषेक गरिएका थिए ।[iv]

बिशप भए तापनि आफ्नो स्वास्थ्यले साथ दिउञ्जेलसम्म सरलता र विनम्रतासहित तिनले आफ्नो दैनिक सेवाकार्यलाई निरन्तरता दिन्थे । अरूहरूका खाँचोमा ध्यान पुर्‍याउने तिनको आदत थियो । झन्डै शताब्दी चुम्न लागेका पास्टरको स्वास्थ्यलाभको कारण तिनका शुभचिन्तकहरू खुसीले गद्गद् छन् ।[v]

किन परमेश्वरले कसैलाई निको पार्नुहुन्छ र कसैलाई पार्नुहुन्न भन्ने प्रश्नको सठिक जवाफ हामीसित छैन । तथापि सङ्कष्टको घडीमा बाइबलको वचनले मानिसलाई सान्त्वना भने पक्कै दिएको छ । आजभन्दा झन्डै २,५०० वर्षअगि यर्मियाको समयमा परमेश्वरले बोल्नुभएको वचनले आज पनि मानिसहरूलाई शक्ति दिइरहेको छ जहाँ उहाँ भन्नुहुन्छ, “म तँलाई फेरि स्‍वस्‍थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु” (यर्मिया ३०:१७) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://www.worldometers.info/coronavirus/ Accessed on 16 April 2020

[ii] https://www.worldometers.info/coronavirus/#countries Accessed on 16 April 2020

[iii] https://aleteia.org/2020/02/17/98-year-old-catholic-bishop-overcomes-coronavirus/?fbclid=IwAR1RaMNnByU08lAXmANWDJrM0dX7kcgUQ-ZPO7oUFV6qYkqTFknaAeESOiw Accessed on 16 April 2020

[iv] https://en.wikipedia.org/wiki/Joseph_Zhu_Baoyu Accessed on 16 April 2020

[v] https://www.indcatholicnews.com/news/38942 Accessed on 16 April 2020

Facebook Comments

Powered by Youth Circle