के परमेश्वरले आइसोलेसनलाई आफ्नो राज्य बिस्तारको लागि प्रयोग गर्न सक्नुहुन्छ ? यसको जवाफ सोर्है आना सकारात्मक हुन्छ । बाइबलमा भएका उदाहरणहरूमध्ये हिजो हामीले यूहन्ना र पावलको जीवनी अनि आइसोलेसनमा हुँदा तिनीहरूले कसरी नयाँ करारका छवटा पुस्तक लेखे भनी मनन गर्यौँ । बाइबलमा मात्र नभएर इतिहासमा पनि हामी यस्ता उदाहरणहरू पाउँछौँ जहाँ आइसोलेसनमा हुँदा पनि परमेश्वरले आफ्ना जनहरूलाई अद्भुत रूपमा चलाउनुभएको छ । आज हामी जोन बनयान र सर आइज्याक न्युटनको जीवनीलाई ध्यान दिने छौँ । दुवै जनाको जन्म सत्रौँ शताब्दीमा इङ्गल्यान्डमा भएको थियो । बनयान लेखक थिए भने न्युटन वैज्ञानिक ।
(१) जोन बनयान
औपचारिक शिक्षाविना नै विश्व चर्चित कृति लेख्न सफल भएका थिए, जोन बनयान । प्रभावशाली स्रस्टा बनेका बनयानले झन्डै साठीवटा पुस्तक छाडेर गएका छन् । येशूलाई स्वीकार गरेपछि तिनी एक प्रखर ख्रीष्टियान वक्ताको रूपमा चिनिन थाले । मण्डलीको अनुमोदनविना प्रचार गरेको आरोपमा १६६० मा तिनलाई गिरफ्तार गरी झ्यालखानामा हालियो जुन बेला तिनले १२ वर्ष झ्यालखानामा बिताए । यही आइसोलेसनमा छँदा तिनले आफ्नो आत्मिक आत्मकथा ग्रेस अबाउन्डिङ टु द चिफ अफ सिनर्स नामक चर्चित कृति लेख्नुकासाथै तिनको अति नै प्रसिद्ध कृति पिलग्रिम्स प्रोग्रेस लेख्न सुरु गरेका थिए । तिनले अन्य कैयौँ पर्चा पनि लेख्न भ्याए ।
१६७२ मा जेलमुक्त भए पनि १६७६ मा तिनी फेरि पनि थुनामा राखिए । यस पटक तिनले ६ महिना मात्र बिताउनुपर्यो । बनयानद्वारा लिखित पुस्तक पिलग्रिम्स प्रोग्रेसलाई अङ्ग्रेजी साहित्यमा अति नै महत्त्वपूर्ण कृतिको रूपमा आदर गरिन्छ । यसलाई अङ्ग्रेजी भाषामा लिखित पहिलो उपन्यास पनि मानिएको छ । २०० ओटाभन्दा बेसी भाषामा अनूदित यस कृति पहिलो पटक १६७८ मा प्रकाशित भएको थियो भने १९३८ सम्म आइपुग्दा यसका १,३०० ओटा संस्करण छापिएका थिए । असल ख्रीष्टियान बनी जिउन चेष्टा गर्ने एक मान्छेको कथालाई बनयानले यसमा सशक्त ढङ्गमा उतारेका छन् ।
(२) सर आइज्याक न्युटन
हामीले इतिहासका महान्तम वैज्ञानिकहरूको बारेमा सोच्दा सर आइज्याक न्युटनको नाउँ तुरुन्तै आउँछ । तिनी गणितज्ञ, खगोलविद्, ईश्वरशास्त्री, भौतिकशास्त्रीसाथै लेखक थिए । १६८७ मा पहिलो पटक प्रकाशित प्रिन्सिपिया नामक तिनको पुस्तकले सबै भौतिकशास्त्रका नियमको जग बसाल्ने काम गर्यो । वास्तवमा विज्ञानको इतिहासमा यो कृतिलाई एक महान्तम पुस्तक ठानिन्छ । तिनको यही पुस्तकले गतिको चाल र विश्वव्यापी गुरुत्वाकर्षणका नियमहरूलाई सुत्रमा व्यक्त गर्यो र तिनको वैज्ञानिक दृष्टिणकोणले पछिल्ला तीन सय वर्षसम्म साम्राज्य जमायो । हरेक ग्रहको चेतना हुन्छ भन्ने अरस्तुको सिद्धान्तलाई अन्त्यमा न्युटनको गुरुत्वाकर्षणका नियमहरूबारे भएको खोजले दफन गरिदिएको थियो ।
न्युटन जोसका साथ बाइबल पनि पढ्ने गर्थे, “प्रेरणा पाएका मानिसहरूद्वारा लेखिएको बाइबल परमेश्वरको वचन हो भनी म आधारभूत रूपमा विश्वास गर्दछु । म बाइबल दिनदिनै पढ्दछु ।” बाइबल र यससित जोडिएको साहित्यबारे तिनको ज्ञान प्रभावशाली थियो । एकातिर, तिनी परमेश्वरमाथि विश्वास गर्ने महान् मानिस थिए भने अर्कोतिर, तिनी विज्ञानका पनि महान् मानिस थिए । विशेष प्रकाश (बाइबल) र सामान्य प्रकाश (प्रकृति) दुवैमा आफ्नो जीवन खर्चेर तिनले संसारलाई औधी आशिष् दिए ।
आइसोलेसनमा छँदाचाहिँ न्युटनले के गरे ? न्युटनको देशमा महामारी फैलियो । ‘महाविपत्ति’ नाउँ दिइएको यो महामारी १८ महिनासम्म (१६६५-१६६६) लम्बिएको थियो । फलस्वरूप लन्डनमा एक चौथाइ जनसङ्ख्या अर्थात् एक लाखभन्दा बेसी मानिसको ज्यान गयो ।
महामारीबाट बच्नको लागि आजजस्तै न्युटनको समयमा पनि सामाजिक दुरी महत्त्वपूर्ण थियो । क्याम्ब्रिज विश्वविद्यालय बन्द भएपछि एक जना विद्यार्थी होम क्वारेन्टाइनको लागि घर प्रस्थान गरे जसको नाउँ हो, आइज्याक न्युटन । त्यस बेला तिनी केवल २३ वर्ष पुगेका थिए । पछिल्ला १८ महिना तिनले आफ्नै घरको कृषि क्षेत्रमा समय बिताए । तिनको काम थियो: पढ्ने, लेख्ने अनि मनन गर्ने । पछि न्युटनले यस समयावधिलाई जीवनकै बौद्धिक रूपमा सर्वाधिक उत्पादनशील समय भनी व्याख्या गरे । आइसोलेसनको समयमा तिनले प्रकाश र रङको बारेमा मात्र खोज गरेनन् तर पछिल्ला खोजको लागि पनि आधार तयार पारेका थिए ।