प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेपछि ख्रिस्टाब्द १९९९ मा अर्थात् आजभन्दा २१ वर्षअगि म राजधानीस्थित एउटा बाइबल स्कुलमा भर्ना भएँ । म स्वेच्छाले नभई करले आएको थिएँ । सुरुका दिनहरू दिक्कलाग्दा भए जुन अस्वाभाविक थिएन किनकि म फुक्का संसारबाट बन्द संसारमा प्रवेश गरेको थिएँ । फलत: भाग्ने कोसिस पनि गरेँ, तर सम्भव भएन ।
दिनहरू बित्दै गएपछि बाइबल अध्ययनमा रुचि बढ्दै गयो । नबुझेका कुराहरू सोध्ने र लेख्ने बानीको विकास हुन थाल्यो । बाइबल स्कुल छँदा नै मलाई बाइबलको एउटा पदले सार्है टाउको दुखाएको थियो जसमा लेखिएको छ कि येशू पुनरुत्थानपश्चात् “केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो” (१ कोरिन्थी १५:५) । मेरो कौतुहुलता थियो: यहूदा स्करियोतले आत्महत्या गरिसकेको थियो र येशूको स्वर्गारोहणपश्चात् मात्र त्यसको ठाउँमा मतियासको छनोट गरिएको थियो । त्यस बेला ११ जना मात्र चेला थिए भने कसरी उहाँ “बाह्रै जनाकहाँ” देखा पर्नुभएको हुन सक्छ ?
बाइबलमा भएका यस्ता कठिनाइहरूलाई लेख्न थालेँ । दिन, हप्ता, महिना र वर्ष बित्दै गए । आज २१ वर्षपछि कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीले म पनि एक किसिमको आइसोलेसनमा छु तापनि यसलाई म उत्पादनशील बनाउने कोसिस गर्दै छु । बाइबलका त्यस्तै कठिनाइ र विरोधाभासहरूलाई समेटी लेख्न लागिएको पुस्तकलाई यही आइसोलेसनको बेलामा पूर्णता दिने प्रयासमा छु ।
हिजोआज केही शब्दहरू निकै चर्चमा छन् जसमध्ये एउटा हो— आइसोलेसन । यसको अर्थ हुन्छ: अलग्याने काम । कसैलाई खास उद्देश्यका साथ अलग गर्नु नै आइसोलेसन हो ।
महान् उद्देश्यको लागि परमेश्वरले आफ्ना जनहरूलाई सामान्य गतिविधिबाट अलग्याउनुभएका उदाहरणहरू मनग्गे छन् । बाइबलीय र ऐतिहासिक दृष्टिकोणबाट हेर्दा कति पटक आइसोलेसन फाइदाजनक साबित भएको छ । यस आलेखमा हामी बाइबलबाट दुईवटा र इतिहासबाट दुईवटा नमुना हेर्ने छौँ जहाँ आइसोलेसनमा बसेका व्यक्तिहरूले अद्भुत नतिजा हात पारे । आज हामी बाइबलका दुई जना पात्र (पावल र यूहन्ना) माथि मनन गर्ने छौँ भने भोली इतिहासका दुई जना स्रष्टा (जोन बनयान र सर आइज्याक न्युटन) माथि ।
(१) यूहन्ना
मछुवाबाट येशूका प्रेरित बनेका यूहन्ना नयाँ करारका पाँचवटा पुस्तकका लेखक हुन् । चेलाहरूमध्येमा तिनी येशूका सबैभन्दा नजिकका चेला थिए । तिनीद्वारा लिखित पाँचवटा पुस्तक (यूहन्नाको सुसमाचार, १, २ र ३ यूहन्नाका पत्रहरू र प्रकाशको पुस्तक) मध्ये बाइबलको अन्तिम पुस्तक (प्रकाश) तिनी आइसोलेसनमा हुँदा नै लेखेका थिए ।
युरोपको दक्षिण-पूर्वमा अवस्थित ग्रिस नामक देशमा अवस्थित पत्मोस टापुमा यूहन्नालाई बन्दी बनाइएको थियो । रोमी सम्राट् डोमिसनको शासनकालमा ख्रीष्टियान विरोधी सतावटको नतिजास्वरूप तिनलाई उक्त टापुमा आइसोलेसनमा राखिएको थियो । यही टापुमा तिनले प्रकाशको पुस्तक लेखे जुन नयाँ करारको मात्र नभएर बाइबलकै अन्तिम पुस्तक हो । ख्रीष्टियान अन्तशास्त्रमा यो पुस्तक केन्द्रमा छ ।
(२) पावल
आदि मण्डलीलाई उग्र रूपमा सतावट गर्ने पावल पुनरुत्थान हुनुभएका येशूलाई भेटेपछि नाटकीय रूपमा परिवर्तन भए । तिनले कसरी युरोपलाई सुसमाचाको पानीले सिँचित गरे र सुसमाचारलाई यरूशलेमदेखि रोमसम्म पुर्याए भनी प्रेरितको पुस्तकमा पढ्न पाइन्छ । येशूलाई ग्रहण गरेपछि कुटाइ–पिटाइ, हुलदङ्गा, भोक, कैद आदिजस्ता सबै किसिमका आपद्–विपद् भोगेका पावल सहिद बनी यस धरतीबाट बिदा भएका थिए ।
नयाँ करारमा पावलद्वारा लिखित जम्माजम्मी १३ ओटा पत्र (रोमीदेखि फिलेमोन) मध्ये पाँचवटा तिनी आइसोलेसनमा अर्थात् जेलमा हुँदा लेखेका थिए । झ्यालखानामा तिनीद्वारा लिखित पाँचवटा पत्रमध्ये चारवटा पत्र (एफिसी, फिलिप्पी, कलस्सी र फिलेमोन) लाई बन्दी पत्रहरू भनिन्छ भने २ तिमोथीलाई पास्टरीय पत्रअन्तर्गत राखिएको छ । यसको अर्थ हुन्छ कि पावल आइसोलेसनमा हुँदा नै सङ्ख्याको आधारमा तिनले लेखनमा ३८% को योगदान दिए ।
नयाँ करारका छवटा पुस्तक (२२%) आइसोलेसनका नतिजा हुन् । तसर्थ समयलाई बुद्धिमानीपूर्वक सदुपयोग गरिएमा आइसोलेसन पनि उहाँको राज्य बिस्तार गर्ने समय हुन सक्छ ।
क्रमश: …