कोरोना प्रभाव: बाइबल बिक्रीमा १४३% ले वृद्धि

कोरोना भाइरस (कोभिड-१९) को प्रभाव दिनप्रति दिन बढिरहेको छ । अप्रिल १२ सम्ममा १७,८३,७२४ जना यस भारइसबाट सङ्क्रमित भएका छन्; १,०८,९०७ जनाले ज्यान गुमाएका छन्; ४,०४,८६५ जना निको भएका छन् भने ५०,६१९ जनाको अवस्था गम्भीर छ ।[i]

कोरोना भाइरसको फैलावटको यस्तो भयावह स्थितिमा सान्त्वनाका लागि मानिसहरूले बाइबल पढ्नमा रुचि देखाएका छन् । फलत: विभिन्न प्रकाशन गृहहरूको भनाइअनुसार बाइबलको बिक्रीमा उल्लेखनीय वृद्धि आएको छ ।

अलाबास्टर एउटा कम्पनीको नाउँ हो जसले बाइबल बिक्री गर्छ ।[ii] गत वर्षको तुलनामा बाइबल बिक्रीमा १४३% ले वृद्धि आएको कम्पनीले जनाएको छ । कम्पनीका सहसंस्थापक ब्राएन चुङ्गले फक्स न्युजलाई बताए, “जीवन परिवर्तन गर्ने यस अभूतपूर्व महामारीमा मानिसहरू आशा र पुनर्स्थापनाको खोजी गर्दै छन् । … परमेश्वरसित गाँसिने, अर्थ पत्ता लगाउने अनि शान्तिको अनुभूति गर्ने इच्छा भएकोले मानिसहरूले बाइबल किनिरहेका छन् भनी हामी विश्वास गर्दछौँ ।”[iii]

टिन्डेल हाउस एउटा प्रकाशनको नाउँ हो ।[iv] ख्रिस्टाब्द १९६२ मा स्थापित यो प्रकाशन अमेरिकाको इलिनोई राज्यमा खडा छ । प्रकाशनका अनुसार गत वर्ष मार्चको तुलनामा यस वर्षको मार्चमा बाइबल बिक्रीमा उल्लेखनीय वृद्धि आएको छ । प्रकाशनका कार्यकारी निर्देशक जिम जेवेलले क्रिस्चियान पोस्टलाई दिएका जानकारीअनासर ‘लाइफ एप्लिकेन स्टडी बाइबल’ र ‘इम्मर्स बाइबल’ को बिक्री क्रमश: ४४% र ६०% ले आकासिएको छ ।[v] जिमले भनेका छन्, “सङ्कष्ट र अनिश्चयताको घडीमा मानिसहरू बाइबलको सान्त्वना र स्पष्टतामा फर्कनु उदेकको कुरो होइन ।”[vi]

लाइफवे क्रिस्चियान रिसोर्सेस ख्रीष्टियान सामग्रीहरू उपलब्ध गराउने संसारकै एउटा ठुलो संस्था हो ।[vii] संस्थाले गत वर्षको तुलनामा यो वर्षको गत हप्ता ६२% ले बाइबल बिक्री भएको जानकारी गराएको छ । संस्था-प्रमुख बेन म्यान्डेलले भने, “सङ्कष्ट र अनिश्चयताको घडीमा मानिसहरू अक्सर आशाको स्रोतको रूपमा बाइबलमा जान्छन् ।” तिनले थपेका छन्, “मानिसहरूले धर्मशास्त्रबाट उद्धृत गर्छन् किनकि यसमा नै तिनीहरूले त्यस्तो परमेश्वरलाई देख्छन् जो हाम्रा दु:खकष्टको समयमा हामीसित हुनुहुन्छ । बाइबल हाम्रा लागि परमेश्वरको वचन भएकोले यसले हामीलाई यही स्मरण गराउँछ कि कठिन घडी भएर जाँदा उहाँले हामीलाई एकलै छाड्नुहुन्न ।”

कोरोनाको महामारीको घडीमा मात्र नभएर अरू बेलामा पनि बाइबल संसारमै सबैभन्दा बढी बिक्री–वितरण हुने पुस्तक हो । हालसम्म पुरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू ७ अरबभन्दा बेसी बिक्री–वितरण भएको छ भनी अनुमान गरिएको छ ।[viii]

 

सन्दर्भ स्रोतहरू:

[i] https://www.worldometers.info/coronavirus/? Accessed on 12 April 2020

[ii] https://www.alabasterco.com/pages/our-story Accessed on 12 April 2020

[iii] https://www.foxnews.com/faith-values/coronavirus-bible-book-update-sales-record Accessed on 12 April 2020

[iv] https://www.tyndale.com/ Accessed on 12 April 2020

[v] https://www.christianpost.com/news/bible-publishers-reporting-jump-in-sales-amid-coronavirus-fears.html Accessed on 12 April 2020

[vi] https://godtv.com/publishing-companies-high-bible-sales-coronavirus/ Accessed on 12 April 2020

[vii] https://en.wikipedia.org/wiki/LifeWay_Christian_Resources Accessed on 12 April 2020

[viii] https://kamaladhikari.com.np/352/ Accessed on 12 April 2020

Facebook Comments

Powered by Youth Circle