सन्देहवादी प्राध्यापकको निष्कर्ष— येशूले वास्तवमै मृत्युमाथि जित हासिल गर्नुभयो

ख्रिस्टाब्द १८१७ मा अमेरिकामा स्थापित हार्वड ल स्कुलमा कानुनका एक जना बौद्धिक प्राध्यापकले पढाउँदै थिए । पढाउने क्रममा तिनले आफ्ना विद्यार्थीहरूलाई भन्दै थिए कि येशूको पुनरुत्थान केवल मिथ्या हो । तिनी नास्तिक भएकाले तिनले आश्चर्यकर्ममाथि विश्वास गर्दैनथ्ये । तर तिनका तीन जना विद्यार्थीले तिनको भनाइको खण्डन गर्दै साक्षीबारे तिनका प्रशंसित नियमहरूलाई येशूको पुनरुत्थानमा लागु गर्न चुनौती दिए ।

त्यसबारे निकै मनन गरेपछि तिनले चुनौतीलाई आत्मसात् गरे र तिनी अनुसन्धानको लागि अगाडि बढे । इतिहासको सत्यताको विषयमा आफूसित भएका उत्कृष्ट समझको प्रयोग गरी येशूको पुनरुत्थानको विवरण झुटो हो भनी प्रमाणित गर्ने कोसिस गरे तिनले ।

तर तिनले ऐतिहासिक अभिलेखलाई जति धेरै अनुसन्धान गरे येशू वास्तवमै चिहानबाट फेरि उठ्नुभएको थियो भन्ने मजबुत साक्षी देखेर तिनी त्यति नै धेरै चकित परे । मानवीय इतिहासको मार्गलाई नै बद्ल्ने घटनाले तिनको सन्देहवादलाई चुनौती दिँदै थियो ।

येशूको मृत्युपछि देखा परेका नाटकीय परिवर्तनहरूलाई व्याख्या गर्न तिनी असक्षम भएका थिए । चेलाहरूको व्यवहारमा आएको परिवर्तनले तिनलाई छक्क पारेको थियो । एक वा दुई जनाले मात्र नभई सबै चेलाले येशू पुनरुत्थान हुनुभएको थियो भनी दाबी गर्दै थिए । सत्यताको निम्ति साक्षीका आफ्नै नियमहरूलाई प्रयोग गरी तिनी निर्णयमा पुगे— क्रुसारोहणपश्चात् देखा परेको दृश्यको लागि उहाँको पुनरुत्थान नै सबैभन्दा उत्कृष्ट व्याख्या हो ।

तिनी आफूले बटुलेका साक्षीहरूबाट यति विश्वस्त बने कि तिनले आफ्नो जीवन येशूमा सुम्पे । आफूले जम्मा पारेका सामग्रीहरूबाट तिनले येशूको पुनरुत्थानको पक्षमा एउटा गतिलो पुस्तक लेखे: द टेस्टिमुनी अफ द इभान्जलिस्ट्स । यस पुस्तकको अन्त्यमा तिनले येशूको पुनरुत्थानबारे भएको सत्यतालाई खोजी गर्नेहरूलाई निष्पक्ष रूपमा त्यसको जाँच गर्न चुनौती दिएका छन् । तिनी विश्वास गर्छन् कि पूर्वाग्रही नभईकन उपलब्ध साक्षीलाई इमानदारीपूर्वक जाँच गर्ने व्यक्ति उही निष्कर्षमा पुग्छ जुन निष्कर्षमा तिनी पुगेका थिए— येशूले वास्तवमै मृत्युमाथि विजय हासिल गर्नुभयो

१७८३ मा अमेरिकामा जन्मेका ती प्राध्यापकको नाउँ हो, सिमोन ग्रिनलिफ । अ ट्रिटिज अन द ल अफ एभिडेन्स नामक तिनका तीन ठेलीको कानुनसम्बन्धी सर्वोत्कृष्ट कृतिको रचनाका अतिरिक्त तिनका अन्य पुस्तकहरू पनि छापिएका छन् । तिनी ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने ख्रीष्टियान पक्षमण्डनशास्त्री बने ।

Facebook Comments

Powered by Youth Circle