पुनरुत्थानपश्चात् येशूका ७ ओटा प्रकटीकरण

प्रेरितको पुस्तकका लेखक डा. लूका लेख्छन्, “आफ्नो दुःख–भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो । चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो” (प्रेरित १:३) । पुनरुत्थान हुनेबित्तकै येशू सुटुक्क स्वर्ग जानुभएन । आफ्नो पुनरुत्थानको पुष्टि गर्न ४० दिनको अवधिमा उहाँ विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो भनी येशूका जीवनीकारहरू मत्ती, मर्कूस, लूका, यूहन्नासाथै नयाँ करारका १३ ओटा पत्रका लेखक प्रेरित पावलले अभिलिखित गरेका छन् । हामी यहाँ ७ ओटा प्रकटीकरणबारे मनन गर्ने छौँ ।

१. येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो (यूहन्ना २०:११–१८) ।

येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनी नाउँ गरेकी स्त्रीकहाँ देखा पर्नुभयो, “हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो” (मर्कूस १६:१) । येशू बाँच्नुभएको संसार पितृ–सत्तात्मक भए तापनि इतिहासको सर्वाधिक महत्त्वपूर्ण घटनाको पहिलो साक्षी हुन पाउने सौभाग्य स्त्रीलाई नै मिल्यो ।

२. येशू स्त्रीहरूकहाँ देखा पर्नुभयो (मत्ती २८:८–१०) ।

मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम (लूका २४:१०) ले चेलाहरूलाई येशूको पुनरुत्थानको खबर दिन दगुर्दै जाँदा येशू तिनीहरूकहाँ प्रकट हुनुभयो, “अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, ‘शान्ति !’ तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे” (मत्ती २८:९) । येशू पुनरुत्थान हुनुभयो भनी पहिले गवाही दिने स्त्रीहरू नै थिए भनी चारवटै सुसमाचारले बताउँछन् ।

३. येशू पत्रुसकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५:५) ।

केफास येशूका चेला पत्रुसको अर्को नाउँ हो जसकहाँ येशू प्रकट हुनुभयो भनी पावल प्रेरित लेख्छन्, “उहाँ केफासकहाँ … देखा पर्नुभयो” (१ कोरिन्थी १५:५) । १ कोरिन्थी १५:१–८ मा पावलले पुनरुत्थानपश्चात् येशूका प्रकटीकरणहरूको सूची दिएका छन् । पावलको भाषालाई हेर्दा छर्लङ्ग हुन्छ कि यो मण्डलीका प्राचीनतम विश्वासका सारहरूमध्ये एक थियो । पावलले यो पत्र करिब ख्रिस्टाब्द ५५ मा लेखेका थिए । यसको अर्थ हुन्छ कि येशूको पुनरुत्थानको केही वर्षभित्रमा नै विश्वासको सारको रूपमा उहाँको पुनरुत्थानको घटना प्रचार–प्रसारमा आइसकेको थियो । कसैले येशूको पुनरुत्थानलाई पछि थपिएको किँवदन्तीको रूपमा व्याख्या गर्न खोज्ने प्रयासलाई घटना घटेको केही वर्षभित्रमा किँवदन्तीको उदय हुन सक्दैन भन्ने यथार्थताले धुजैधुजा बनाइदिन्छ ।

४. येशू दुई जना चेलाकहाँ देखा पर्नुभयो (लूका २४:१३–३२) ।

क्लेओपास र अर्को एक जना चेला पुनरुत्थानको विषयमा बहस गर्दै इम्माउस नामक गाउँतर्फ गइरहँदा येशू तिनीहरूकहाँ देखा पर्नुभयो, “तिनीहरू आपसमा बातचित गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो” (लूका २४:१५) अनि उहाँले तिनीहरूको बिचमा रोटी खानुभयो ।

. येशू ११ जना प्रेरितकहाँ देखा पर्नुभयो (यूहन्ना २०:२६–२८) ।

पुनरुत्थानको आठ दिनपश्चात् थोमाको उपस्थितिमा येशू बन्द ढोकाभित्र उभिनुभयो, “आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए । थोमा पनि तिनीहरूसँग थिए । ढोकाहरू बन्द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्नुभयो, ‘तिमीहरूलाई शान्ति !’” (यूहन्ना २०:२६) । प्रमाण फेला नपरेसम्म येशूको पुनरुत्थानमा विश्वास नगर्ने अठोट लिएका शङ्कालु थोमाले यही प्रकटीकरणमा उहाँको कोखामा डोब देखेपछि उहाँलाई प्रभु र परमेश्वर भनी स्वीकार गरे ।

. येशू सात जना चेलाकहाँ देखा पर्नुभयो (यूहन्ना २१:१–१४) ।

सात जना चेला तिबेरियास समुद्रको छेउमा भएको बेलामा येशू तिनीहरूकहाँ देखा पर्नुभयो, “त्यसपछि चेलाहरूकहाँ तिबेरियास समुद्रको छेउमा येशूले आफूलाई प्रकट गर्नुभयो” (यूहन्ना २१:१) । येशूको यस प्रकटीकरणमा उहाँले एउटा आश्चर्यकर्म गर्नुभयो जसमा चेलाहरूले एक सय त्रिपन्नवटा ठुलठुला माछा पक्रे ।

. येशू ५०० जनाकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५:६) ।

येशू ५०० भन्दा बेसी मानिसकहाँ प्रकट हुनुभयो भनी पावलले लेखेका छन्, “त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही–कोही सुतिसकेका छन्” (१ कोरिन्थी १५:६) । येशूका प्रकटीकरणहरू वास्तविक होइनन् भनी दुस्साहस गर्न खोज्नेहरूलाई पावल भन्दै थिए, “पत्यार नलागे आएर सोध । उहाँलाई देख्नेहरूमध्ये केही अझै जीवित छन् ।”

पुनरुत्थानपश्चात् येशूका यी प्रकटीकरणहरूलाई अध्ययन गर्दा विभिन्न तथ्यहरू बाहिर आउँछन् । येशू कहिले एक जनाकहाँ देखा पर्नुभयो; कहिले सानो झुन्डकहाँ; त कहिले ठुलो भिडको बिचमा । येशू कहिले बन्द कोठाभित्र प्रकट हुनुभयो; त कहिले खुला मैदानमा । उहाँ विभिन्न ठाउँमा देखा पर्नुभएको छः यरूशेलम, गालील, तिबेरियास समुद्रको किनारसाथै अन्य ठाउँहरूमा । उहाँले आफैलाई बेग्लाबेग्लै घडीहरूमा प्रकट गराउनुभयोः बिहान, दिउँसो अनि साँझमा । उहाँ आफूले चिन्नुभएका मानिसहरूकहाँ देखा पर्नुभयो अनि नचिनेका मानिसहरूकहाँ पनि । आफ्ना प्रेरितहरूका बिचमा मात्र नभएर  उहाँ याकूबजस्तो सन्देहवादीकहाँ पनि प्रकट हुनुभयो येशू । उहाँ तिनीहरूसँगै हिँड्नुभयो; उहाँले तिनीहरूसित कुराकानी गर्नुभयो अनि तिनीहरूसँगै खानुभयो ।

तब यी सबै सामग्रीलाई विश्लेषण गरी हामीले तर्कसङ्गत निष्कर्ष निकाल्नैपर्छ कि येशू क्रूसमा मारिनुभयो; आइतबार बिहान उहाँको चिहान रित्तो थियो; पुनरुत्थानपश्चात् उहाँका चेलाहरूसाथै अन्य मानिसहरूले उहाँलाई देखे; उहाँलाई छोए अनि उहाँसँगै खानपान गरे ।

Facebook Comments

Powered by Youth Circle