येशूको पुनरुत्थानलाई झुटो प्रमाणित गर्न तम्सेका लेखकको जीवनमा नाटकीय परिवर्तन

ख्रिस्टाब्द १८८१ मा इङ्गल्यान्डमा जन्मेका अल्बर्ट हेन्‍री रोसको छद्मभेषी नाउँ थियो, फ्र्याङ्क मोरिसन । तिनका पिता व्यापारी थिए जसले विभिन्न व्यवसायहरू सञ्चालनमा ल्याएका थिए ।

फ्र्याङ्क प्रकाशक र विज्ञापनदाताका अतिरिक्त लेखक पनि थिए । फ्र्याङ्क मोरिसनका नाउँमा तिनका सातवटा पुस्तकसाथै केही लेखहरू प्रकाशित भएका छन् । तर तिनी एउटा किताबको लागि सर्वाधिक परिचित छन् जसको नाउँ रहेको छः Who Moved the Stone? (ढुङ्गा कसले हटायो ?) । यस पुस्तक प्रकाशनको पछाडि एउटा रोचक कहानी छ ।

मोरिसन विज्ञान र “आश्चर्यकर्महरू हुँदैनन्” भन्ने विकासवादका पक्षपोषक थोमस हक्स्लेको अवधारणका कट्टर अनुयायी थिए । तथापि तिनी येशूको व्यक्तित्वका प्रशंसक पनि थिए । येशूको जीवनीका आखिरी दिनहरूको बारेमा तिनले आफ्नै व्यक्तिगतसाथै ऐतिहासिक अनुसन्धान गर्ने जमर्को गरे ।

बिसौँ शताब्दीको पूर्वार्द्धमा यी ब्रिटिस लेखकले येशूको पुनरुत्थानसम्बन्धी स्रोतहरूलाई विश्लेषण गरी तिनी जिससद लास्ट फेज (येशू— आखरी चरण) नामक शीर्षकमा एउटा सङ्क्षिप्त दस्ताबेज लेख्न कस्सिए । लेख्नुको उद्देश्य थियो— येशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्टि गर्नु । मरेको मान्छे बिउँतेर आउन सक्छ भन्ने अन्धविश्वासलाई यस कृतिले सधैँका लागि निर्मूलन पार्छ भन्ने तिनको विश्वास थियो । तिनले आफूलाई चाहिने सामग्रीहरू बटुले अनि लेख्न थाले । तर तिनले जे कुरो प्रमाणित गर्न खोजिरहेका थिए, स्रोतहरूले ठिक विपरीत दिशातिर लैजाँदै थिए तिनलाई ।

अन्ततः येशू ख्रीष्ट वास्तवमै पुनरुत्थान हुनुभएको थियो भन्ने तथ्यमा तिनी विश्वस्त हुन पुगे । परिणामस्वरूप तिनले येशूलाई मुक्तिदाताको रूपमा अङ्गाले । ती जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी येशू ख्रीष्टको पुनरुत्थानको पक्षमा तिनले तार्किक रूपमा एउटा गतिलो पुस्तक लेखे जसको नाउँ रहेको छ— हु मुभ्ड द स्टोन ? (ढुङ्गा कसले हटायो ?) । लेखकको आफ्नै दाबीअनुसार यो लेख्न इन्कार गरिएको पुस्तक थियो । ख्रिस्टाब्द १९३० मा पहिलो पटक प्रकाशित र २००६ सम्ममा आइपुग्दा दस पटक पुनः मुद्रित यस पुस्तकलाई पढेर धेरै मानिस ख्रीष्टियान भएका छन् ।

Facebook Comments

Powered by Youth Circle