इस्टर एउटा हर्षोल्लासपूर्ण उत्सव हो— नेल्सन मन्डेला

१९१८ मा दक्षिण अफ्रिकामा जन्मेका नेल्सन मन्डेला दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति थिए जसले ख्रिस्टाब्द १९९४-१९९९ सम्म शासन गरे । रङ्गभेद विरुद्धको आन्दोलनका नायक मन्डेला मानवतावादी राजनीतिज्ञ थिए । २७ वर्ष लामो जेल जीवन बिताएका तिनी १९९० मा जेलमुक्त भए । २५० ओटाभन्दा बेसी पुरस्कार बटुलेका मन्डेलालाई १९९३ को नोबेल शान्ति पुरस्कार दिइएको थियो । १९९४ सालको इस्टर सन्डेका दिन जायोनिस्ट क्रिस्चियन चर्चमा मन्डेलाले दिएको भाषणको अंश यस्तो छ:

“यस दिन आराधनामा हामी हाम्रा शिर झुकाउँछौँ र वर्षभरि हामीलाई दिनुभएको प्रचुरताको निम्ति सर्वशक्तिमान्‌लाई धन्यवाद दिन्छौँ । मृत्युका डरलाग्दा शक्तिहरूमाथि पुनरुत्थान हुनुभएका ख्रीष्टको विजय उत्सव मनाउन हामी पवित्र खुसीमा हाम्रा सोर उचाल्छौँ ।

इस्टर एउटा हर्षोल्लासपूर्ण उत्सव हो । यो एउटा उत्सव हो किनकि वास्तवमा यो आशाको उत्सव हो ।

इस्टर जीवनको नवीकरण र झुटको अन्धकारमाथि सत्यको विजय र ज्योतिको प्रतीक हो ।

इस्टर मानवीय भाइचाराको पर्व हो किनकि यसमा शुभ खबरको उत्सव मनाइन्छ ।

शुभ खबर ल्याउनुहुने पुनरुत्थान हुनुभएका हाम्रा मसीहले एउटा जातिलाई मात्र छान्नुभएन; एउटा देशलाई मात्र छान्नुभएन; एउटा भाषालाई मात्र छान्नुभएन; एउटा कुललाई मात्र छान्नुभएन; तर सारा मानव-जातिलाई छान्नुभयो । …

हाम्रा मसीह मरणशील मानिसको रूपमा आउनुभए तापनि आफ्नो दु:खकष्ट र क्रुसारोहणद्वारा उहाँले अमरत्व धारण गर्नुभयो ।”

मन्डेला जोसिला नेता थिए । तिनी ख्रीष्‍टियान परिवारमा हुर्केका थिए । तिनका रचनाहरूलाई विश्लेषण गर्दा तिनलाई ख्रीष्टियान मानवतावादी अगुवा भन्न सकिन्छ कि ? २०१३ मा तिनको निधन भएको थियो । तिनको मृत्युमा सारा दुनियाँ शोकमा डुबेको थियो । तिनको अन्त्येष्टि सभामा सहभागी हुन झन्डै ९० देशका प्रतिनिधिहरूले तिनको देशमा यात्रा गरेका थिए । दक्षिण अफ्रिकाले दस दिनको लामो राष्ट्रिय शोक मनाएको थियो ।

येशूले अमरत्व धारण गर्नुभएकोले इस्टर एउटा हर्षोल्लासपूर्ण उत्सव हो ।

Facebook Comments

Powered by Youth Circle