येशूको पुनरुत्थानका लागि ७ ओटा दरिला साक्षी

येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो आजभन्दा लगभग दुई हजार वर्षअगि यस धरतीमा जिउनुभयो । उहाँ यस धरतीबाट बिदा हुनुभएको केही वर्षभित्रमा नै उहाँका अनुयायीहरूले उहाँको जीवनीलाई लिखित रूप दिए । पवित्रशास्त्र बाइबलको दोस्रो विभाजन अर्थात् नयाँ करारका अगिल्ला चारवटा पुस्तक येशूकै बारेमा लेखिएका जीवनी हुन् जसलाई “सुसमाचारहरू” भनिन्छ । ती चारै जना जीवनीकारले येशूको बारेमा विचित्रका घटनाहरू अभिलिखित गरेका छन् जसमध्ये एउटा हो— मरेको तेस्रो दिनमा उहाँ पुनर्जीवित हुनुभयो । यस दाबीको लागि हामीसित दरिला साक्षीहरू छन् जसमध्ये यहाँ ७ ओटा प्रस्तुत गरिएका छन् ।

. येशूको चिहान रित्तो थियो ।

येशूको मृत्युपश्चात् योसेफले पिलातसलाई उहाँको मृत शरीरको लागि बिन्ती गरे । योसेफ येशूका एक गुप्त चेला थिए जो महासभाका सदस्य पनि थिए । येशूलाई चट्टानमा खोपेर बनाइएको योसेफकै चिहानमा दफन गरियो । तर हप्ताको पहिलो दिन चिहान रित्तो देखा पर्‍यो । मृत शरीर कहाँ गयो ? दुईओटा विकल्प हुन सक्छन्ः कि शव चोरी भयो कि भने येशू वास्तवमै पुनरुत्थान हुनुभयो । डरपोक चेलाहरूले बहादुर रोमी सिपाहीहरूको विरुद्धमा लडाइँ गरी येशूको शवलाई चोरेर लगे र त्यही झुटको लागि तिनीहरू सहिद भए भन्ने परिकल्पना वाहियात छ । येशूको पुनरुत्थानको लागि रित्तो चिहानको यथार्थता एउटा महत्त्वपूर्णसाथै मजबुत साक्षी हो ।

. स्त्रीहरूले रित्तो चिहानको गवाही दिए । 

येशूको चिहान रित्तो थियो भनी पहिले गवाही दिने स्त्रीहरू नै थिए भनी चारवटै सुसमाचारले बताउँछन् । यदि येशूको पुनरुत्थानको घटना काल्पनिक थियो भने कुनै पनि लेखकले स्त्रीहरूलाई पुनरुत्थानको गवाहको रूपमा पेस गर्दैनथ्यो । किन ? किनकि पहिलो र दोस्रो शताब्दीका यहूदीसाथै रोमी संस्कृतिमा स्त्रीहरूलाई कम आदर गरिन्थ्यो । तिनीहरूको गवाहीमाथि प्रश्न तेर्साइन्थ्यो । पुरुषहरूको साक्षीको तुलनामा तिनीहरूको साक्षीलाई कमजोर मानिन्थ्यो । स्त्रीहरूले पहिलो पटक रित्तो चिहान पत्ता लगाए भनी बताउने यस्तो लज्जास्पद विवरणलाई तिनीहरूले समावेश गर्नुको एउटै कारण हो कि यो वास्तवमै घटेको थियो ।

. मण्डलीलाई सताउने शाऊलको परिवर्तन भयो ।

पहिले शाऊल भनी चिनिएका तार्ससका पावल आदि मण्डलीमाथि आक्रामक रूपमा खनिएका थिए । तिनी शिक्षितसाथै विद्वान् थिए । तर दमस्कसको बाटोमा पुनरुत्थान हुनुभएका प्रभु येशू तिनीकहाँ देखा पर्नुभएपछि तिनी ख्रिस्टियमतको पक्का मिसनरीमा परिवर्तन भए । ख्रीष्टलाई अङ्गालेपछि तिनले जीवनमा कोर्रा, कुटाइ–पिटाइ, भोक, कैदसाथै विविध दुःखहरूको सामना गरी सहिद भएर यस धरतीबाट बिदा भए । केले तिनको जीवनमा १८० डिग्रीको परिवर्तन ल्यायो ? तिनका आफ्नै शब्दहरूमा, “सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो” (१ कोरिन्थी १५:८) ।

. सन्देहवादी याकूबको जीवनमा असाधारण परिवर्तन देखा पर्‍यो

येशूका याकूबसाथै अन्य भाइ-बहिनीहरू थिए भनी बाइबलले बताउँछ (मत्ती १३:५५) । पुनरुत्थानअगि याकूबले येशूमा विश्वास गरेका थिएनन् (यूहन्ना ७:५) । तर तिनको जीवनमा एउटा निर्णायक मोड आयो अर्थात् पुनरुत्थानपश्चात् येशू तिनीकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५:७) । उहाँसित भएको जम्काभेटको परिणामस्वरूप तिनी एक ख्रीष्टियान मात्र भएनन्, तर पछि यरूशलेम मण्डलीका अगुवासमेत भए । पुनरुत्थानको कारणले येशू मसीह हुनुहुन्छ भनी तिनी यति विश्वस्त भए कि तिनले सहादत प्राप्त गरे । सन्देहवादी याकूबको परिवर्तन र मृत्युलाई व्याख्या गर्ने एउटै तत्त्व हो— येशूको पुनरुत्थान ।

. येशूका चेलाहरूमा नाटकीय परिवर्तन आयो ।

येशको गिरफ्तार हुँदा सबै चेलाले उहाँलाई छाडेर भागे । आफ्ना गुरुलाई क्रूसमा झुण्ड्याएपछि अब तिनीहरूको पालो आउँथ्यो भन्ने डरले तिनीहरू कोठाभित्र लुकेर बसेका थिए । तर तिनीहरूको जीवनमा केही भयो जसले ती डरपोक चेलाहरूलाई निर्भीक प्रचारकहरूमा उभ्याइदियो । केही हप्तापछि नै हजारौँको भिडमा उभिएर तिनीहरूले साहसपूर्वक येशूको सन्देश बाँड्न थाले । केले तिनीहरूको जीवनमा नाटकीय परिवर्तन ल्याइदियो ? येशूको पुनरुत्थानबाहेक अर्को ऐतिहासिक व्याख्या हुन सक्दैन ।

. पुनरुत्थानपश्चात् येशू धेरै जनाकहाँ देखा पर्नुभयो ।

पुनरुत्थानपश्चात् येशू विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो भनी ख्रिस्टाब्द ५५ मा आफूले कोरिन्थीहरूलाई लेखेका पत्रमा प्रेरित पावलले उल्लेख गरेका छन् (१ कोरिन्थी १५:५-८) । तिनले यो पत्र लेख्दासम्म पुनरुत्थान हुनुभएका येशूलाई देख्नेहरूमध्ये कति जना जीवितै थिए जसलाई येशूको पुनरुत्थान वास्तवमै घटेको थियो या थिएन भनी सोध्न सकिन्थ्यो । येशूको पुनरुत्थानपछिका १० ओटा प्रकटीकरणलाई नयाँ करारले अभिलिखित गरेको छ । समय, स्थान र व्यक्तिहरू फरक-फरक भएकाले ती प्रकटीकरणहरूलाई दृष्टिभ्रमको रूपमा व्याख्या गर्न सकिँदैन, न त ५०० भन्दा बेसी मानिस एकै चोटि उही कुरोमा दृष्टिभ्रममा पर्छन् भन्ने कुरोलाई मनोवैज्ञानिकहरूले स्वीकार गर्छन् ।

. ख्रीष्टियान मण्डलीको उदय भयो ।

सांस्कृतिक परिवर्तनको लागि कुनै कारण हुनुपर्छ भन्ने कुरो हामीलाई भन्दा बढी इतिहासकारहरूलाई थाहा छ । ख्रीष्टियान मण्डलीको उदय इतिहासको एउटा यथार्थता हो । पहिलो शताब्दीमा नै मण्डली यति व्यापक रूपमा फैलिएको थियो कि यो रोमसम्म पुग्न सफल भयो । येशूको पुनरुत्थानविना ख्रीष्टियान मण्डलीको उदय र वृद्धिलाई व्याख्या गर्न मुश्किल छ ।

येशूको पुनरुत्थान कुनै कपोलकल्पित कथा नभएर इतिहासको एउटा महान्‌तम घटना हो भन्नाका लागि साक्षीहरू पर्याप्त छन् । यसलाई खण्डन गर्न तम्सेकाहरू वर्षौंको अनुसन्धानपश्चात् घुँडा टेकी यसो भन्न बाध्य भएका छन्, “मेरा प्रभु, मेरा परमेश्वर ।”

Facebook Comments

Powered by Youth Circle