इस्टरबारे तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

१. प्रभु येशू ख्रीष्ट मृतकहरूबाट पुनरुत्थान हुनुभएको सम्झनामा मनाइने उत्सव नै इस्टर हो । इस्टरलाई पास्क वा पुनरुत्थानको आइतबार पनि भनिन्छ । यो एउटा वार्षिक पर्व हो ।

२. बाइबलको नयाँ करारअनुसार येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियान विश्वासको जग हो । प्रेरित पावल लेख्छन्, “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ” (१ कोरिन्थी १५:१४) । येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने शिखर प्रमाण हो, उहाँको पुनरुत्थान ।

३. गुड फ्राइडेपछि आउने आइतबारमा इस्टरको उत्सव मनाइन्छ । इस्टरको मिति सालिन्दा उही मितिमा नपर्ने भएकोले यसलाई ‘अस्थिर पर्व’ पनि भनिन्छ ।

४. ख्रीष्टियानहरूको पवित्रशास्त्र बाइबलका दुईवटा भागमध्ये पछिल्लो भागलाई नयाँ करार भनिन्छ । नयाँ करारका अगिल्ला चारवटा पुस्तक (क्रमशः मत्ती, मर्कूस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा लेखिएका उहाँका जीवनी हुन् । मत्ती २८; मर्कूस १६; लूका २४; यूहन्ना २०–२१ र १ कोरिन्थी १५ अध्यायमा येशूको पुनरुत्थानसाथै पुनरुत्थानपश्चात् उहाँका प्रकटीकरणहरूबारे पढ्न पाइन्छ ।

५. येशू हप्ताको पहिलो दिन अर्थात् आइतबार पुनरुत्थान हुनुभएको थियो भनी चारवटै सुसमाचारले प्रस्ट पारेका छन् (मत्ती २८:१; मर्कूस १६:२,९; लूका २४:१ र यूहन्ना २०:१,१९) । मत्तीले लेखेका छन्, “शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए” (२८:१) । तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ । आओ, उहाँलाई राखिएको ठाउँ हेर” (मत्ती २८:६) ।

६. येशूको पुनरुत्थान सारा मानव इतिहासमा अत्यधिक महत्त्वपूर्ण घटना हो जसमा उहाँले मृत्युमाथि विजय हासिल गर्नुभएको थियो । ख्रीष्टियानहरूको बाहुल्यता रहेका मुलुकहरूमा इस्टरको दिनमा सार्वजनिक बिदा दिइन्छ ।

७. येशू पुनरुत्थान हुनुहुँदा उहाँको समयभन्दा एक हजार वर्ष पहिले दाऊदले भनेका भविष्यवाणी पूरा भयो । तिनले भनेका थिए, “किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ” (भजनसंग्रह १६:१०) । उहाँ आफैले पटक–पटक भन्नुभएका भविष्यवाणीहरू (जस्तैः मत्ती १२:३८–४०; १६:२१) पनि उहाँको पुनरुत्थान हुँदा पूरा भए । येशूको पुनरुत्थान इतिहासले अभिलिखित गरेको महान्‌तम आश्चर्यकर्म हो ।

Facebook Comments

Powered by Youth Circle