पहिलो गुड फ्राइडेमा येशूले सामना गर्नुभएका ६ ओटा न्यायिक जाँच

येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभएपछि शुक्रबार बिहान ९ बजे उहाँलाई क्रूसमा चढाइनुअगि उहाँले ६ ओटा न्यायिक जाँचको सामना गर्नुभयो । अगिल्ला तीनवटा जाँच धार्मिक थिए भने पछिल्ला तीनवटा जाँच कानुनी ।

१. पहिलो जाँच— हन्नासको सामु (यूहन्ना १८:१२–१४, १९–२३)

येशूलाई पक्रेपछि “पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए” (यूहन्ना १८:१३) ।

सिरियाका हाकिम कुरेनियसले ख्रिस्टाब्द ६ मा हन्नासलाई प्रधान पुजारीको रूपमा नियुक्त गरेका थिए र तिनी उक्त पदमा ख्रिस्टाब्द १५ सम्म रहे । यहूदी व्यवस्थाअनुसार प्रधान पुजारीको पद जीवनभरको लागि भए तापनि शक्ति एउटै व्यक्तिमा सिञ्चित हुने भएकोले रोमीहरूले बारम्बार प्रधान पुजारी परिवर्तन गर्थे । हन्नासपश्चात् तिनका पाँचै जना छोरा र तिनका ज्वाइँ कैयाफा प्रधान पुजारी बने । निश्चय नै शक्ति हन्नासकै हातमा थियो । त्यसैले त्यस बेला कैयाफा प्रधान पुजारी भए तापनि येशूलाई पहिले हन्नासकहाँ नै लगियो ।

तिनले येशूको प्रारम्भिक जाँच पडताल गरे ।

२. दोस्रो जाँच— कैयाफाको सामु (मत्ती २६:५७–६८)

हन्नासले येशूलाई प्रारम्भिक केरकार गरेपछि उहाँलाई कैयाफाकहाँ पठाइयो, “येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे । त्यहाँ शास्त्रीहरू र धर्म–गुरुहरू भेला भएका थिए” (मत्ती २६:५७) ।

कैयाफा ख्रिस्टाब्द १८–३६ सम्म यहूदी प्रधान पुजारी थिए । येशूको मृत्यु हुँदा तिनी नै प्रधान पुजारी थिए ।

येशूलाई औपचारिक रूपमा महासभाको सामु उभ्याउनुअगि कैयाफाले सामान्य सोधपुछ मात्र गरे ।

३. तेस्रो जाँच— महासभाको सामु (लूका २२:६६–७१)

येशूका अगिल्ला दुईवटै जाँच पडताल रातमा भएको थियो जुन अवैधानिक थिए । कुनै औपचारिक निर्णय सुनाइएको थिएन । त्यसैले बिहान उहाँलाई महासभाको सामुन्ने उभ्याइयो, “उज्यालो हुनेबित्तिकै भेला भएका जनताका धर्म–गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे” (लूका २२:६६) ।

महासभा सर्वोच्च अदालत थियो । महासभाले पारित गरेको निर्णय व्यवस्था बन्थ्यो । अन्तिम निर्णय गर्ने हक महासभालाई नै थियो । महासभामा सत्तरी जना सदस्य हुन्थे र प्रधान पुजारी नै यसको कार्यकारी अध्यक्ष हुन्थ्यो ।

महासभा बिहान बस्न सक्दैनथ्यो । तर आफ्नै नियम उल्लङ्घन गरी तिनीहरू बिहानै जम्मा भए । तिनीहरूले येशूलाई ईश्वर–निन्दाको दोष लगाए । तर रोमी हाकिमको सहमतिविना तिनीहरू कसैलाई मृत्युदण्ड दिने अधिकार थिएन । तसर्थ येशू तत्कालीन रोमी हाकिम पिलातसकहाँ लगिनुभयो ।

४. चौथो जाँच— पिलातसको सामु (यूहन्ना १८:२८–३८)

यहूदीहरूको धार्मिक अदालतमा येशूलाई केरकार गरेपछि तिनीहरूले उहाँलाई रोमीहरूको कानुनी अदालतमा लगे, “अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए” (मत्ती २७:२) ।

पन्तियस पिलातस यहूदियाका पाँचौँ हाकिम थिए । सम्राट् तिबेरिअसले तिनलाई ख्रिस्टाब्द २६ मा हाकिम नियुक्त गरेका थिए जुन पदमा तिनी ख्रिस्टाब्द ३६ सम्म रहे ।

यहूदीहरूले येशूलाई जुन–जुन अभियोग लगाएका थिए पिलातसको बुझाइमा उहाँ तिनमा दोषी हुनुहुन्थेन । त्यसैले तिनले यहूदी अगुवाहरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । अन्तमा येशू गालीलको हुनुहुँदोरहेछ भन्ने बुझेर तिनले उहाँलाई हेरोदकहाँ पठाइदिए ।

५. पाँचौँ जाँच— हेरोदको सामु (लूका २३:६–१२)

“अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए । ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए” (लूका २३:७) ।

यहाँ उल्लिखित हेरोद हेराद महान्‌का छोरा हेरोद एन्तिपास हुन् । तिनले नै बप्तिस्मा-दिने यूहन्नाको शिर कटाउन लगाएका थिए । तिनले ख्रिस्टाब्द ६–३९ सम्म गालील र पेरियामा शासन गरेका थिए ।

हेरोदले येशूलाई जादुगरको रूपमा हेरेका थिए । त्यसैले तिनले येशूबाट केही चमत्कार गरेका हेर्न चाहन्थे । तिनले येशूलाई धेरै प्रश्न सोधे तर उहाँले केही जवाफ दिनुभएन । अन्ततः तिनले येशूलाई पिलातसकहाँ नै पठाइदिए ।

६. छैटौँ जाँच— पिलातसको सामु (यूहन्ना १८:३९–१९:६)

“हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे । त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए” (लूका २३:११) ।

जाँच पडतालको लागि येशू दोस्रो पटक पिलातसकहाँ ल्याइनुभयो । पिलातसको दृष्टिकोणमा येशू निर्दोष हुनुभए तापनि भिडले उहाँ क्रूसमा टाँगिनैपर्छ भनी जिद्दी गरेकोले तिनले उहाँलाई तिनीहरूको हातमा सुम्पिदिए ।

यसरी येशूले ६ ओटा न्यायिक जाँचको सामना गर्नुभयो अनि शुक्रबार बिहान ९ बजे उहाँ क्रूसमा टाँगिनुभयो । उहाँले ६ घण्टा क्रूसमा बिताउनुभएपछि दिउँसो ३ बजेतिर आफ्नो प्राण त्याग गर्नुभयो । उहाँको मृत्यु संयोग थिएन । तर पूर्वयोजनामुताबिक उहाँ सम्पूर्ण मानव–जातिको निम्ति क्रूसमा टाँगिनुभएको थियो ।

Facebook Comments

Powered by Youth Circle