ख्रीष्‍टियान विश्‍वासलाई अङ्गाल्नुपर्ने ४ ओटा कारण

नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्‍ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्‍वासतर्फ आकर्षित भएका होलान् ? यहाँ ४ ओटा कारण पेस गरिएका छन् ।

१. यसको संस्थापक येशू विश्‍वसनीय हुनुहुन्छ ।

येशूले मानव चोला धारण गर्नुका थुप्रै कारणहरू थिए— भविष्यवाणीहरू पूरा गर्न, हाम्रा पापको निम्ति मर्न र उहाँलाई पछ्याउनेहरूलाई पिताकहाँ लैजान । उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभएको, थोरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको र मृत्युमाथि विजय हासिल गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन् । उहाँले आफ्ना घनिष्‍ठ मित्रहरूलाई कतै तिनीहरूले पनि येशूलाई छाडेर जान्थे कि भनेर सोध्‍नुहुँदा पत्रुस नामक चेलाले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं ? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ” (यूहन्‍ना ६:६८-६९) ।

२. यसको धर्मशास्‍त्र भरोसायोग्य छ ।
ख्रिस्टियमतको धर्मशास्‍त्रको नाउँ हो, बाइबल । चालिसभन्दा बेसी मानवीय लेखकले करिब १,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमा नै ख्रीष्‍टियान विश्‍वास निर्भर छ । यसले एउटै कथावस्तु अर्थात् मानव-जातिको लागि परमेश्‍वरको छुटकाराको योजनालाई व्यक्त गर्दछ जुन सृष्‍टिबाट आरम्भ भएर अनन्तताको प्रवेशद्वारमा गएर टुङ्‌गिन्छ । यसले वर्णन गरेका इतिहास, भूगोल र संस्कृतिलाई पुरातत्त्वविद्याका आधुनिक खोजहरूले पटक-पटक पुष्‍टि गरेका छन् । इतिहासभरि नै यसको पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिति गरिएको भए तापनि यसको सच्‍चाइ गुमेको रहेनछ भनी बिसौँ शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित गरेका छन् ।

३. यसले जीवनलाई उचित तवरले सम्बोधन गर्छ ।
सबै धर्मले हाम्रो अस्तित्वको अर्थ दिने कोसिस गर्दछन् । सबै धार्मिक प्रणालीहरूले हामी कहाँबाट आयौँ, किन यहाँ छौँ र कतातिर जाँदै छौँ भन्‍नेजस्ता जीवनका गहनतम प्रश्‍नहरूको सम्बोधन गर्ने प्रयत्‍न गर्छन् । तर यो विश्‍वलाई जसले सृष्‍टि गर्नुभयो उहाँले नै यसको वास्ता र हेरचाह गर्नुहुन्छ भनी येशूले प्रकट गर्नुभयो । हामीले जे अनुभूति गर्छौं, जुन दुःख भोग्छौँ त्यही अनुभव गरी हाम्रो निम्ति मर्नुहुने त आखिरमा येशू नै हुनुहुन्छ ।

४. यसमा उद्धार पाइन्छ ।
वैकल्पिक धार्मिक दृष्‍टिकोणका पनि आआफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे । मृत्युमाथि विजय हासिल गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक प्रणालीले गर्दैन । ख्रीष्‍टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन तर उहाँले हाम्रो निम्ति जे गर्नुभयो त्यसको स्वीकारमा । नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी छौँ भन्‍ने स्वीकारको खाँचो छ (एफिसी २:८-१०) ।

निस्सन्देह ख्रीष्‍टियान विश्‍वासलाई अङ्गाल्नुपर्ने अन्य मनग्गे कारणहरू छन्, तर यी चारवटा आधारभूत हुन् भन्दा फरक नपर्लाः
१. यसको संस्थापक येशू विश्‍वसनीय हुनुहुन्छ ।
२. यसको धर्मशास्‍त्र भरोसायोग्य छ ।
३. यसले जीवनलाई उचित तवरले सम्बोधन गर्छ ।
४. यसमा उद्धार पाइन्छ ।

Facebook Comments

Powered by Youth Circle