Xmas बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. Xmas अङ्ग्रेजी शब्द Christmas को लागि प्रयोग गरिने सङ्क्षिप्त शब्द हो । Xmas भनेर लेखिए तापनि यसलाई क्रिसमस भनेर नै उच्चारण गरिन्छ यद्यपि कहिले कहीँ एक्समस भनेर पनि उच्चारण गरिन्छ ।

२. Xmas मा भएको ‘X’ ग्रिक वर्ण खाई बाट आएको हो जुन ग्रिक वर्णमालाअनुसार बाइसौँ वर्ण हो । अङ्ग्रेजी वर्ण एक्स (X) र ग्रिक वर्ण खाई (χ) सारमा उस्तै छ । नयाँ करारलाई सुरुमा ग्रिक भाषामा लेखिएको थियो र उक्त भाषामा ‘ख्रीष्ट’ लाई ‘ख्रिस्टोस’ (Χριστός) भनिन्छ । ‘ख्रिस्टोस’ को पहिलो वर्ण हो, χ । प्रत्यय mas पुरानो अङ्ग्रेजी शब्द हो जुन Mass (अर्थात् ‘समारोह’) को लागि प्रयोग गरिन्छ ।

३. Xmas लेख्नु गैरख्रिस्टियान अभ्यास हो र यस्तो प्रयोगले प्रभु येशू ख्रीष्टलाई ख्रिस्टमसबाट हटाउँछ भन्ने गलत बुझाइ रहेको छ । वास्तवमा सोर्‍हौँ शताब्दीदेखि नै Xmas लेख्न थालिएको साक्षी पाइन्छ । एउटा शब्दकोशअनुसार ख्रिस्टाब्द १५५१ मा पहिलो पटक Xmas को प्रयोग भएको छ ।

४. ब्रिटिसबाट पोल्यान्डका लागि कुटनीतिज्ञ बनी गएका जर्ज वुडवार्डद्वारा ख्रिस्टाब्द १७५७ मा लिखित पत्रमा Xmas शब्द पाइन्छ । अङ्ग्रेज कविसाथै राजनीतिज्ञ लर्ड बाइरोनले पनि १८११ मा यो शब्दको प्रयोग गरे । त्यसै गरी, अर्का अङ्ग्रेज कविसाथै दार्शनिक समुएल कोलरिज र लेखक लेविस क्यारोले पनि यो शब्दलाई क्रमशः १८०१ र १८६४ मा प्रयोग गरेका थिए ।

५. बिसौँ शताब्दीदेखि Xmas लाई अङ्ग्रेजी भाषा बोल्ने विभिन्न भूभागमा प्रयोग गरिन थालियो । क्षेत्रफलको आधारमा संसारकै दोस्रो ठुलो मुलुक क्यानडामा मात्र नभएर छैटौँ ठुलो मुलुक अस्ट्रेलियामा पनि Xmas ले ठाउँ पाउन थाल्यो र यसको प्रयोग बढ्दै गयो ।

६. ख्रिस्टमसलाई अन्य विभिन्न नामले पनि चिनिएको छ । यसलाई न्याटिभिटी पनि भनिन्छ जसको अर्थ हुन्छ, जन्म । यसको अर्को नाउँ पनि रहेको छ, नोएल । यसको अर्थ पनि ‘जन्म’ वा ‘दिन’ भन्ने हुन्छ । त्यसै गरी Xmas यसको अर्को सङ्क्षिप्त नाउँ हो ।

७. निस्सन्देह, केही मानिसहरूले Xmas लाई ख्रीष्टविनाको ख्रिस्टमसको लागि प्रयोग गर्ने भए तापनि Xmas को उत्पत्तिले भने त्यो अर्थसित सरोकार राख्दैन । Xmas अरू केही नभएर ख्रिस्टमसको लागि प्रयोग गरिने सङ्क्षिप्त शब्द हो । जसरी Old Testament लाई OT र New Testament लाई NT भन्नुमा कुनै खोट छैन त्यसै गरी ख्रिस्टमसलाई Xmas भन्नुमा कुनै भुल हुँदैन । तपाईं ढुक्कसँग यसको प्रयोग गर्न सक्नुहुन्छ किनकि सङ्क्षिप्त शब्द पनि भाषाको एउटा हिस्सा हो ।

Facebook Comments

Powered by Youth Circle