येशूको जीवनका ७ ओटा अद्वितीय पक्ष

विश्वका प्रमुख धर्महरूको बिचमा ख्रिस्टियमत अद्वितीय छ र ख्रीष्टको साँचो अद्वितीयता ख्रिस्टियमतको मुख्य आधार हो । येशूको बारेमा भएको सत्यता नयाँ करारका अभिलेखहरूमा आधारित छ । प्राचीन संसारका अभिलेखहरूमध्ये नयाँ करार र विशेष गरी सुसमाचारीय पुस्तकहरू सबैभन्दा विश्वसनीय प्रलेखहरू हुन् । यी दस्तावेजहरूबाट हामी सिक्छौं कि ख्रीष्ट एक अद्वितीय व्यक्तित्व हुनुहुन्छ । उहाँको जीवनका विभिन्न अद्वितीय पक्षहरूमध्ये हामी ७ ओटालाई ध्यान दिने छौँ ।

१. पूरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ

ख्रीष्टियानहरूको विश्वासअनुसार आजभन्दा २,००० वर्षअगि बेथलेहेममा जन्मनुभएका येशू नै पुरानो करारले भविष्यवाणी गरेको मसीह हुनुहुन्छ । मसीहको आगमनको सम्बन्धमा बाइबलको पुरानो करारमा मनग्गे भविष्यवाणीहरू अभिलिखित छन् । मसीहको बारेमा भएका प्रस्ट भविष्यवाणीहरू र सङ्केतहरूलाई जोड्ने हो भने पुरानो करारमा ३०० ओटाभन्दा बेसी सन्दर्भ पाइन्छन् भनी बाइबल विद्वानहरूले गणना गरेका छन् । यो प्रस्ट छ कि सबै भविष्यवाणी बेथलेहममा येशूको जन्म हुनुभन्दा सैयौँ वर्षअगि लेखिएका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/548/)

२. उहाँको गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ

अलौकिक ढङ्गमा येशूको आशा गरिएको मात्र होइन, तर उहाँको गर्भधारण पनि आश्चार्यमय ढङ्गमा भयो । येशू कन्याबाट गर्भधारण हुनुहुने थियो भनी घोषणा गर्दा मत्तीले (१:२२-२३) यशैयाको भविष्यवाणी (७:१४) लाई अङ्कित गरे, “‘हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,’ जसको अर्थ हो, ‘परमेश्वर हामीहरूसँग’” (मत्ती १:२३) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/551/)

. उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ 

उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रुसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय भएको होइन, तर प्यालेस्टाइनमा क्रुसारोहण अज्ञात हुँदा भजनसंग्रह २ मा धेरै पहिले नै उहाँको मृत्युको बारेमा भविष्यवाणी गरिएकोले यो अद्वितीय भएको हो । उहाँको पापरहित र पवित्र चरित्रको प्रदर्शन गर्दै उहाँले जीवन त्याग गर्नुभएकोले पनि यो अद्वितीय छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/554/)

. उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ

येशूको पुनरुत्थान पृथ्वीमा भएको येशूको मिसनको शिखर आश्चर्यकर्म थियो । अन्य धार्मिक तथा दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र पतन भए, तर येशू ख्रीष्टले जस्तै आफ्नो सेवा-कार्यलाई निरन्तरता दिन कोही पनि पृथ्वीको धुलोबाट फर्केर आएन । पुरानो करारमा मात्र यसको भविष्यवाणी गरिएको होइन (भजनसंग्रह १६:१०), तर आफ्नो सेवाकार्यको आरम्भदेखि नै येशूले पनि यसको भविष्यवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु ।’ … तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो” (यूहन्ना २:१९,२१) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/557/)

५. उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ

जसरी येशू अलौकिक नियमद्वारा पृथ्वीमा आउनुभयो, त्यसै गरी उहाँ अलौकिक नियमद्वारा यस पृथ्वीबाट बिदा हुनुभयो । पुनरुत्थानपश्चात् येशूले चेलाहरूलाई आज्ञा दिनुभएपछि, “तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो । जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेता पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजीक खडा भए” (प्रेरित १:९-१०) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/560/)

. उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ

येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । उहाँ परमेश्वर-मानिस हुनुहुन्थ्यो । पवित्रशास्त्र बाइबलको साक्षीअनुसार उहाँ आधा मानिस र आधा परमेश्वर हुनुहुन्न, तर पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ । येशू ख्रीष्ट परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो भन्ने तथ्य बाइबलबाट काँचझैँ छर्लङ्ग छ । हामी मानव-जातिसित एउट मात्र स्वभाव (मानवीय) हुन्छ, तर उहाँमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/563/)

. उहाँको पापविहीनतामा येशू अद्वितीय हुनुहुन्छ

येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानव चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । उहाँले कसैलाई चोट पुर्‍याउनुभएन; उहाँले कसैबाट कुनै फाइदा लिनुभएन; उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन; उहाँले कहिल्यै गलत काम गर्नुभएन । यस मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गवाहीहरूमा आधारित उचित निष्कर्ष हो । उहाँका मित्रहरूले मात्र उहाँले सिद्ध जीवन जिउनुभयो भनेर गवाही दिएका छैनन्, तर उहाँका शत्रुहरूले पनि उहाँमा कुनै खोट देखाउन सकेनन् । उहाँले मात्र यसको दाबी गर्नुभएन, तर उहाँको जाँच पडताल गर्ने अधिकारीहरू पनि उही निचोडमा पुगे । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/566/)

निष्कर्षमा, येशू संसारको निम्ति परमेश्वरको अवर्णनीय उपहार हुनुहुन्छ । उहाँको आश्चर्यमय गर्भधारणदेखि उहाँको अलौकिक स्वर्गारोहणसम्म; उहाँको निष्पाप चरित्रदेखि उहाँको अतुलनीय शिक्षासम्म येशू अन्य सबै धार्मिकसाथै नैतिक अगुवाहरूभन्दा माथि हुनुहुन्छ । उहाँको जन्मदेखि स्वर्गारोहणसम्मको पाटो-पाटोमा उहाँ अद्वितीय हुनुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle