इस्लाम धर्मअनुसार पनि येशू कन्याबाट जन्मनुभयो

इस्लाम संसारको दोस्रो ठुलो धर्म हो । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । मुहमदद्वारा स्थापित इस्लाम धर्म ख्रिस्टाब्द सातौँ शताब्दीको पूर्वाद्धमा अरबमा आरम्भ भएको थियो । इस्लाम धर्मको अनुयायीलाई मुसलमान भनिन्छ र यसको धर्मशास्त्रको नाउँ कुरआन हो ।

सातौँ शताब्दीमा रचित कुरआन आकारमा बाइबलको नयाँ करारभन्दा सानो छ । यसमा जम्माजम्मी ११४ ओटा अध्याय (सूरह) छन् । कुरआनमा येशूलाई ईसा भनिएको छ । यसले येशूलाई उल्लेखनीय व्यक्तित्वको रूपमा पहिचान गरेको छ । कुरआनअनुसार येशू साँचो अगमवक्ता, मसीह, आश्चर्यकर्म गर्नुहुने जन, बुद्धिमान् शिक्षक र पापरहित व्यक्तित्व हुनुहुन्छ । उहाँको बारेमा भविष्यावाणी गरिएको थियो र उहाँ फेरि आउनुहुनेछ । कुरआनमा येशूको बारेमा भएका विविध शिक्षाहरूमध्ये एउटा हो— कन्याबाट उहाँको जन्म ।

येशू मरियमका पुत्र हुनुहुन्थ्यो र उहाँ कुनै पनि मानवीय पिताको संलग्नताविना नै जन्मनुभयो भनी मुसलमानहरू विश्वास गर्छन् । “पवित्र छोरा” (सूरह १९:१९) बारे घोषणा गर्न एउटा स्वर्गदूत मरियमकहाँ देखा परे भनी कुरआनमा लेखिएको छ । यो खबर सुनेर उनी छक्क परिन् अनि सोधिन्, “मैले छोरो कसरी पाउन सक्छु र जबकि मलाई न कुनै पुरुषले छोएको छ न म व्यभिचारी नै हुँ” (सूरह १९:२०) । येशू कन्याबाट जन्मनुभयो भन्ने सम्बन्धमा कुरआनको भाषा निकै प्रस्ट छ र सूरह ४:१५६ मा थप समर्थन पाइन्छ । मरियम कन्या छँदा नै परमेश्वरको प्रत्यक्ष हस्तक्षेपद्वारा येशूको गर्भधारण भयो भनी सूरह २१:९१ ले पनि बताउँछ । कुरआनमा येशूलाई पटक–पटक मरियमका पुत्र भनिएको छ । साधारणतया छोरोको नाउँ बुबासँग मात्र जोडिन्थ्यो, आमासँग होइन । तर किन येशूलाई मरियमका पुत्र भनियो त ? उत्तर प्रस्ट छ कि उहाँको कुनै मानवीय बुबा थिएन । इस्लामिक टिप्पणीकार लेख्छन्, “इस्लाम धर्ममा येशूलाई कन्या मरियमका पुत्रको रूपमा हेरिन्छ जो परमेश्वरको सृजनात्मक वचनद्वारा जन्मनुभयो ।”

संसारका मुक्तिदाता येशूको गर्भधारण आश्चर्यपूर्ण थियो र उहाँ कन्या मरियमबाट जन्मनुभयो भन्ने सिद्धान्तलाई ख्रीष्टियानहरूको धर्मशास्त्र बाइबलले मात्र सिकाउँदैन तर मुसलमानहरूको धर्मशास्त्र कुरआनमा पनि यो शिक्षा पाइन्छ ।

Facebook Comments

Powered by Youth Circle