येशूको जन्मबारे भएको पानथेराको कथा के हो ?

कन्याबाट येशूको जन्मबारे नकारात्मक तर्कहरू पनि छन् । यस्तो अवधारणा ख्रीष्टियान शिक्षाका वैरीहरूसाथै यहूदीहरूले रचेका हुन् । यस तर्कलाई कुनै पनि हालतमा नकारात्मक रूपमा नबुझ्न यी पङ्क्तिकार पाठकलाई विनम्र अनुरोध गर्दछन् । यो तर्कलाई यहाँ उल्लेख गर्नुको उद्देश्य यति मात्र हो कि मण्डलीको प्रारम्भिक दिनहरूमा नै येशूको जन्मको प्रकृतिबारे बाहिरी विवादको उदय भइसकेको थियो र त्यस्तो विवादको आरम्भ हुनुको कारण मण्डलीले उहाँको आश्चर्यपूर्ण जन्मको बारेमा सिकाउँदै आएको थियो भनी बुझाउन खोज्नु हो ।

ख्रिस्टाब्द ७० भन्दा अगाडिकै वंशावलीमा येशूलाई अवैध सन्तानको रूपमा सूचीकृत गरिएको छ । निस्सन्देह, येशूका जीवनीकार मत्ती यस्तो सूचीबारे परिचित थिए र  तिनले बौद्धिक युद्ध लडे । पछिल्ला रब्बीहरूले येशूलाई व्यभिचारमा जन्मेका पुत्रको रूपमा चित्रण गर्ने दुस्साहस गरे । तिनीहरूले येशूलाई पानथेराका पुत्र भने ।

पानथेराको कथा यस्तो छ । पानथेरा नाम गरेका पुरुषसँग मरियम व्यभिचारमा फसेकी थिइन् र परिणामस्वरूप येशूको जन्म भएको थियो भनी येशूको जन्मलाई लौकिक आँखाले बुझ्ने प्रयास गरियो । करिब २२ ख्रिस्टपूर्वमा फोनिसिया (आधुनिक लेबनान) मा जन्मेका पानथेरा एक रोमी सिपाही थिए जसको चिहानको ढुङ्गा ख्रिस्टाब्द १८५९ मा जर्मनीमा फेला पारियो । उक्त शिलालेखअनुसार तिनले ४० वर्ष सेनामा काम गरे र तिनी ६२ वर्षको उमेरमा मरे । तिनको पूरा नाउँ हो— तिबेरिअस जुलियस अब्देस पानथेरा । ख्रिस्टाब्द ४० मा तिनको निधन भएको थियो ।

दोस्रो शताब्दीका ग्रिक दार्शनिकसाथै ख्रीष्टियान शिक्षाका वैरी सेल्ससको दाबीअनुसार येशू अवैध सम्बन्धबाट जन्मनुभएको थियो । तिनको आफ्नै कृति हराएको भए तापनि दोस्रो शताब्दीमा मिश्रमा जन्मेका अति नै प्रभावशाली ईश्वरशास्त्री ओरिगेनको अभिलेखमा यसबारे उल्लेख गरिएको छ । यहूदीहरूका परिचित सङ्ग्रह ताल्मुडसाथै अन्य रचनाहरूमा येशूलाई ‘पानथेराका पुत्र’ भनिएको छ । येशूलाई यहूदीहरूले व्यभिचारमा जन्मेका छोरोको रूपमा चित्रण गरे । यहूदीहरूका रचनाहरूमा यस शिक्षालाई सिकाइएको छ । येशूको जन्मबारे भएको पानथेराको कथा वाहियातसिवाय केही होइन भन्नाका लागि यहाँ चारवटा कारण पेस गरिएका छन् ।

(१) पानथेराको कथा बाइबलीय विवरणसित मेल खाँदैन ।

पवित्र आत्माको अलौकिक हस्तक्षेपद्वारा येशू कन्या मरियमको गर्भमा आश्चर्यमय ढङ्गमा गर्भधारण हुनुभयो भनी येशूका दुवै जीवनीकारद्वय मत्ती र लूकाले प्रस्ट पारेका छन् । येशू कन्याबाट जन्मनुभएको थियो भन्ने विवरणलाई सबिस्तार ढङ्गमा प्रस्तुत गर्ने अगिल्ला लेखकहरू मत्ती र लूका नै थिए । मत्तीले लेखेका छन्, “जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ” (मत्ती १:२०) । येशू पवित्र आत्माको शक्तिद्वारा जन्मनुभयो भनी लूकाले पनि प्रस्ट पारेका छन्, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ” (लूका १:३५) ।

(२) पानथेराको कथा येशूको मिसनसित मेल खाँदैन ।

येशू यस धरतीमा आउनुको एउटा मुख्य उद्देश्य थियो— मानव-जातिलाई पापबाट छुटकारा दिनु । तसर्थ तपाईं र मेरोजस्तै येशू ख्रीष्टको कुनै प्राकृतिक पिता हुनुहुँदैनथ्यो । प्राकृतिक पिताले आदमबाट पाएको स्वभाव सार्छ । आदमबाट यस्तो स्वभाव प्राप्त गर्ने कुनै पनि मानिस पतित मानव-जातिको लागि मुक्तिदाता बन्न सक्दैनथ्यो । ख्रीष्ट मुक्तिदाता बन्नुपर्ने भएकोले उहाँ निष्पाप हुनुपर्थ्यो । उहाँ निष्पाप बन्न सक्ने एउटै तरिका भनेको प्राकृतिक नियमबाट नभई परमेश्वरको शक्तिबाट अलौकिक नियमद्वारा गर्भमा आउनुपर्थ्यो ।

(३) पानथेराको कथा येशूको चरित्रसित मेल खाँदैन ।

यस धरतीमा येशूभन्दा निष्पाप व्यक्ति कोही बाँचेन । उहाँले कसैलाई चोट पुर्‍याउनुभएन न त कसैबाट कुनै फाइदा लिनुभयो । उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन न त कहिल्यै गलत काम गर्नुभयो । येशूले सिद्ध जीवन जिउनुभयो । सारा दुनियाँमा यस्तो असाधारण प्रभाव पार्नुहुने व्यक्ति अवैध सम्बन्धबाट जन्मनुभएको थियो भनी कल्पना गर्नु तर्कसङ्गत हुन्छ र ? कुनचाहिँ जन्म उहाँको जीवनी, चरित्र, प्रभावसँग मेल खान्छ— अवैध जन्म कि अलौकिक जन्म ?

(४) पानथेराको कथा ऐतिहासिक विवरणसित मेल खाँदैन ।  

पानथेरा ऐतिहासिक व्यक्ति थिए भन्ने कुरामा कुनै शङ्का छैन । तर मरियम तिनीसित व्यभिचारमा परी येशू जन्मनुभएको थियो भन्ने कथाचाहिँ पूर्णतः काल्पनिक हो । यो येशूको अलौकिक जन्मलाई व्याख्या गर्ने वैकल्पिक दुष्प्रयास मात्र थियो । येशू अवैध सम्बन्धबाट जन्मनुभयो भन्ने परिकल्पनाको लागि कुनै ऐतिहासिक साक्षी छैन । यो अनुमानसिवाय केही होइन । बिसौँ शताब्दीका विख्यात बाइबल विद्वान् रेमोन्ड ई. ब्राउनले बताएका छन् कि पानथेराको कथा येशूको जन्मको विषयमा भएको काल्पनिक व्याख्या हो जसमा थोरै मात्र ऐतिहासिक साक्षी समावेश छ । मुलधारका विद्वान्‌हरूले पनि पानथेराको कथालाई इन्कार गर्छन् ।

ख्रिस्टाब्द ७० अगि नै ख्रीष्टको जन्मबारे भएको तथाकथित अवैध कथाले उहाँको आश्चर्यपूर्ण जन्मको पुष्टि गर्छ । येशूको मृत्यु भएको ४० वर्ष पनि बित्न नपाउँदै आदि मण्डलीले उहाँको अलौकिक जन्मलाई सिकाउँदै आएको थियो भनी यस नकारात्मक तर्कले प्रमाणित गर्छ ।

Facebook Comments

Powered by Youth Circle