जलिरहेको पोथ्रामा को देखा परे— स्वर्गदूत वा परमप्रभु (प्रस्थान ३:४) ?

प्रस्थान ३:२ मा लेखिएको छ, “त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे । त्‍यो पोथ्रा जलिरहेको थियो— तापनि भस्‍म हुँदैनथ्‍यो ।” यस पदअनुसार जलिरहेको पोथ्रामा देखा पर्ने व्यक्ति परमप्रभुका दूत थिए । नयाँ करारमा लूकाले पनि यही कुरो लेखेका छन्, “यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्‍यायकर्ता तुल्‍यायो’ भनेर इन्‍कार गरेका थिए, तिनलाई परमेश्‍वरले पोथ्रामा देखा पर्ने स्‍वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्‍याएर पठाउनुभयो” (प्रेरित ७:३५) । “पोथ्रामा देखा पर्ने स्‍वर्गदूत” भन्ने लेखकको भाषालाई ख्याल गर्नुहोस् ।

तर प्रस्थान ३:४ अनुसार पोथ्रामा परमप्रभु देखा पर्नुभएको थियो, “जब हेर्नलाई तिनी त्‍यतातिर लागेका परमप्रभुले देख्‍नुभयो, तब परमेश्‍वरले पोथ्राको बीचबाट ‘मोशा, ए मोशा’ भनेर तिनलाई बोलाउनुभयो । अनि तिनले भने ‘म यहीँ छु’ ।” दोस्रो सुसमाचारका लेखक मर्कूसले पनि यही यही कुरो उल्लेख गरेका छन्, “मृतकहरू जीवित भई उठ्‌ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्‍तकमा पढ़ेका छैनौ ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्‍डमा परमेश्‍वरले मोशालाई भन्‍नुभयो, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ'” (१२:२६) । जलिरहेको पोथ्रामा को देखा परे— स्वर्गदूत कि परमप्रभु ?

निस्सन्देह, जलरिहरेको पोथ्रामा देखा पर्ने व्यक्ति परमप्रभुका दूत नै थिए । पुरानो करारका विविध खण्डहरूबाट प्रस्ट हुन्छ कि परमप्रभुका दूत कुनै सृजित स्वर्गदूत नभएर असृजित ईश्वरीय व्यक्तित्व हुनुहुन्थ्यो । उहादरणको लागि, हागारकहाँ देखा पर्ने परमप्रभुका दूत (उत्पत्ति १६:७-१३) लाई परमप्रभु भनिएको छ । तसर्थ परमप्रभुका दूत अरू कोही नभएर देह धारण गर्नुअगि येशूको प्रकटिकरण थियो । जलिरहेको पोथ्रामा परमप्रभुका दूतका रूपमा पुत्र परमेश्वर मोशाकहाँ देखा पर्नुभएको थियो ।

Facebook Comments

Powered by Youth Circle