बाबेलको धरहराअगि संसारमा कतिवटा भाषा थियो— एउटा मात्र वा धेरै (उत्पत्ति १०:५) ?

परमेश्वरले मानिसलाई सृजनुभएपछि पृथ्वीको चारैकुनामा फैलने आज्ञा दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर” (उत्पत्ति १:२८) । तर उत्पत्ति ११ अध्यायमा आइपुग्दा मानिसहरू जताततै नछरिउन् भन्ने उद्देश्यले तिनीहरूले एउटा धरहरा बनाउने कोसिस गरे जसलाई बाबेलको धरहरा भनेर चिनिन्छ । यस बेलासम्म संसारमा एउटै मात्र भाषा थियो, “त्‍यस बेला जम्‍मै पृथ्‍वीमा एउटै भाषा र एकै खालको बोली थिए” (उत्पत्ति ११:१) । पद ६ ले पनि उही तथ्य प्रकट गर्छ, “अनि परमप्रभुले भन्‍नुभयो, ‘यदि एउटै भाषा बोल्‍ने एउटै जातिको स्‍थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्‍भव हुनेछैन ।”

११ अध्यायमा आएर भाषा खलबल पारिएको भए तापनि १० अध्यायमा नै हामी विविध भाषाहरू देख्छौँ । उदाहरणको लागि, पद ५ हेर्नुहोस्, “यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए ।” पद २० मा लेखिएको छ, “हामका छोराहरू, तिनका वंश र भाषाअनुसार, र तिनका देश र जातिहरू यी नै हुन्‌ ।” पद ३१ ले पनि उही तथ्य प्रकट गर्छ, “शेमका छोराहरू, तिनका वंश र भाषाअनुसार, र तिनका देश र जातिहरू यी नै हुन्‌ ।” बाबेलको धरहराअगि संसारमा एउटा मात्र भाषा थियो कि धेरै ?

बाबेलको धरहरा निर्माण गर्नुअगि संसारमा एउटै मात्र भाषा थियो जस्तो उत्पत्ति ११:१ मा प्रस्टसित लेखिएको छ, “त्‍यस बेला जम्‍मै पृथ्‍वीमा एउटै भाषा र एकै खालको बोली थिए ।” उत्पत्ति १०:५,२०,३१ मा अभिलिखित विविध भाषाहरू बोल्ने जातिहरू बाबेलमा परमेश्वरले भाषा खलबल पारिदिनुभएपछि बाँचेका मानिसहरू थिए । बाइबलका कतिपय विवरणहरू समयाक्रमानुसार राखिएका छैनन् जसमध्ये उत्पत्ति १० अध्याय एउटा हो । १० अध्यायमा उल्लिखित ती विविध भाषाहरू उत्पत्ति ११ अध्यायमा भाषाको खलबलपछि मात्र देखा परेका थिए ।

Facebook Comments

Powered by Youth Circle