धार्मिक अगुवाहरूका बिचमा येशू कसरी फरक हुनुहुन्छ ?

“देहधारणको सिद्धान्त ख्रीष्टियान विश्वासको मुख्य शिक्षा हो । यसले बताउँछ कि नासरतका येशूमा परमेश्वर मानिस बन्नुभयो । यो सत्यताले ख्रिस्टियमतलाई एकेश्वरवाद मान्ने यहूदीसाथै इस्लामलगायत संसारका सबै धर्मबाट अलग राख्छ ।” यो गड एमङ्ग सेजेजः ह्वाई जिजस इज नट जस्ट एनादर रिलिजिअस लिडर नामक पुस्तकबाट साभार गरिएको अंश हो ।

२०२० मा पढिने पुस्तकहरूको सूचीमा यो तेस्रो स्थानमा परेको थियो । मैले १५ दिन (फेब्रुअरी १-१५) लगाएर यो किताब पढेर सिद्ध्याएँ । मैले यो किताबलाई निकै रुचि लिएर पढेँ र पढ्दा औधी आनन्दको महसुस भयो ।

केनेथ रिचार्ड स्याम्पल्सद्वारा लिखित यो पुस्तक ख्रिस्टाब्द २०१७ मा छापिएको थियो । २९० पृष्ठको यो पुस्तकलाई ३ ओटा भागमा विभाजन गरिएको छ र ती भागहरूलाई थप १० ओटा अध्यायमा वर्गीकरण गरिएको छ ।

यो पुस्तक मूलतः प्रतिस्पर्धा गर्ने आत्मिक ऋषिमुनीहरूको प्रकाशमा ख्रीष्टको वास्तविक पहिचान बुझ्न चाहने ख्रीष्टियानहरूका लागि हो । पहिलो भागले येशू ख्रीष्टको ऐतिहासिक ख्रीष्टियान तस्बिरलाई छर्लङ्ग पार्छ भने दोस्रो भागमा संसारका चारवटा प्रमुख धर्मका संस्थापकहरू (कृष्ण, बुद्ध, कन्फ्युसियस र मुहम्मद) सित प्रभु येशूको शानदार ढङ्गमा तुलना गरिएको छ । तेस्रो भाग संस्थापकहरूभन्दा पर गएको छ र यसले संसारका धर्महरूबारे आधारभूत ख्रीष्टियान दृष्टिकोणलाई विकास गरेको छ ।

येशूको जीवनी र शिक्षालाई अन्य प्रमुख धर्मका संस्थापक वा मुख्य गुरुहरूका जीवनी र शिक्षासित व्यवस्थित ढङ्गमा तुलना गरिएको यो किताब पढ्नलायक किताब हो । तुलना उत्कृष्ट छ! ५० ओटाभन्दा बेसी तालिकासाथै चार्टद्वारा लेखकले पुस्तकलाई अझै बुझ्ने गरी प्रस्तुत गरेका छन् ।

संसारका प्रमुख धर्महरूको दृष्टिकोणमा येशू को हुनुहुन्छ ? बौद्ध धर्मअनुसार उहाँ ज्ञानोदय प्राप्त व्यक्ति हुनुहुन्छ भने हिन्दु धर्मले उहाँलाई भगवान्‌को अवतारको रूपमा लिन्छ । मुसलमानहरू उहाँलाई एक अगमवक्ता ठान्छन् त अन्य कतिपय धर्महरूले उहाँलाई असल गुरु मान्छन् ।

येशू पृथ्वीमा हुनुहुँदा उहाँले आफ्नो वास्तविक चिनारीबारे चेलाहरूलाई यसरी सोध्नुभएको थियो, “तिमीहरू के भन्छौ, म को हुँ” (मत्ती १६:१५) । सिमोन पत्रुसको जवाफ सोर्‍है आना सही थियो, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र” (पद १६) । पुस्तकका लेखकअनुसार येशूले ५ ओटा यस्ता गतिविधि गर्नुभयो जसद्वारा उहाँले आफू परमेश्वर हुनुभएको दाबी गर्दै हुनुहुन्थ्यो ।

  • पापको क्षमा दिनुभयो (मर्कूस २:५) ।
  • आराधनाको स्वीकार गर्नुभयो (मत्ती २८:१७) ।
  • प्रार्थनाको जवाफ दिनुहुन्छ (यूहन्ना १४:१४) ।
  • मरेकाहरूलाई जीवित पार्नुभयो (यूहन्ना ५:२१) ।
  • मानव-जातिको न्याय गर्नुहुन्छ (यूहन्ना ५:२२) ।

यी कामहरू केवल परमेश्वरले गर्न सक्नुहुन्छ जुन येशूले पनि गर्नुभयो । तपाईंको मनमा जिज्ञासा आउन सक्छ— एलीया, एलिशा, पत्रुस र पावलले पनि मरेका मानिसहरूलाई पुनर्जीवन दिएका छन् नि! तिनीहरूले यहोवे परमेश्वर वा येशूको नाउँमा मात्र यस्तो गर्न सकेका हुन्, आफ्नै शक्तिमा होइन ।

निस्सन्देह, येशू ख्रीष्ट मानवीय इतिहासमा सर्वाधिक प्रभावशाली र ज्ञात व्यक्तित्व हुनुहुन्छ । उहाँको आगमनले समयलाई दुई भागमा विभाजन गरिदियो । उहाँका शक्तिशाली वैरीहरूले उहाँको सन्देशलाई स्वीकार नगरे तापनि उहाँ नैतिक रूपमा सिद्ध हुनुहुन्थ्यो भनी स्वीकार गर्न भने तिनीहरू चुकेनन् । उहाँको सङ्क्षिप्त जीवनी र सेवाकार्यले सारा दुनियाँको भलाइको निम्ति अकल्पनीय रूपमा प्रभाव पारेको छ । येशू यस धरतीमा बाँच्नुहुने महान्‌तम व्यक्तित्व हुनुहुन्थ्यो ।

संसारका प्रमुख धार्मिक अगुवाहरूको तुलना
धर्म अगुवा/संस्थापक भूमिका मिसन
ख्रिस्टियमतयेशूदेहधारण गर्नुभएका परमेश्वरमानव-जातिलाई छुटकारा दिनु
इस्लाममुहम्मदआखिरी अगमवक्ताअल्लाहको इच्छा घोषणा गर्नु
हिन्दुकृष्णईश्वरीय अवतारभारतीयहरूका नायक बन्नु
बुद्धगौतम बुद्धज्ञानोदय प्राप्त व्यक्तिअरूहरूलाई निर्वाणमा पुर्‍याउनु
बहाईबहाउल्लाहअगमवक्ताएकता र शान्ति ल्याउनु
कन्फ्युसियसकन्फ्युसियसनैतिक शिक्षकनैतिक समाज निर्माण गर्नु
जैनमहाविरमहान् नायकवैराग्यवाद सिकाउनु
यहूदीमोशाअगमवक्तायहोवे परमेश्वरको इच्छाको घोषणा गर्नु
सिन्टोकमी (काल्पनिक देवहरू)सङ्केतहरूप्रकृतिसित शान्ति स्थापित गर्नु
सिखनानकअगमवक्तापरमेश्वरसित एकता गाँस्नु
ताओलाओत्सुऋषिमुनीताओ मार्ग सिकाउनु
जोरास्टरजोरास्टरअगमवक्ताअहुरा-माज्दाको इच्छा घोषणा गर्नु

लेखकले प्रश्न गरेका छन्— परमेश्वर यस धरतीमा देखा पर्ने हो भने उहाँ कस्तो हुनुहुन्छ होला भनी तपाईं अपेक्षा गर्नुहुन्छ ? कृष्ण, गौतम बुद्ध, कन्फ्युसियस र मुहम्मदको बारेमा तपाईं जेजति जान्नुहुन्छ, त्यसको आधारमा के कसैमा परमेश्वरका गुणहरू छन् त ? मेरोजस्तै तपाईंको जवाफ नकारात्मक हुन्छ होला भनी लेखकले निष्कर्ष निकालेका छन् । यी सबै मानिस आआफ्ना कमजोरीबारे सचेत थिए । विविध पक्षमा विलिक्षण भए तापनि तिनीहरू ईश्वर नभई मानिस नै थिए भनी लेखकले तर्कसङ्गत पाराले निष्कर्ष पारेका छन् ।

Facebook Comments

Powered by Youth Circle