६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले लाखौँ दर्शकको सामु विश्वास गरे

१ अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ४,००० भन्दा बेसी मानिसको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि । उक्त दिन एक जना निडर व्यक्तिको लागि अविस्मरणीय दिन साबित हुन जाँदै थियो । तिनले आफूले येशूमाथि विश्वास गरेका घोषणा गर्नै लागेका थिए । तिनको नाउँ हो, इभेल निभेल ।

रुपियाँ-पैसा र ख्याति कमाए तापनि परमेश्वरको परिवारको सदस्य हुनुअगि निभेलले बाटो बिराएका थिए । तिनी रित्तो थिए । परमेश्वरका पुत्र येशू ख्रीष्टमाथि विश्वास गर्न तिनलाई कठिन भइरहेको थियो । एक दिन तिनले आफ्ना एक जना मित्रलाई बोलाए जससित कुराकानी नभएको ३० वर्ष भइसकेको थियो । ती मित्रको नाउँ थियो, एल्डोन राइन । तिनी ओरिगेनस्थित न्यु होप कम्युनिटी चर्चका सदस्य थिए । निभेलले तिनीसित बातचित गरेपछि मित्रले भने, “हाम्रो सारा मण्डलीले तपाईंको लागि प्रार्थना गर्दै छन् ।” दिनहरू बित्दै गए र उहाँको समय आएपछि निभेलले इन्कार गर्न सकेनन् ।

ख्रिस्टाब्द १९३८ मा अमेरिकामा जन्मेका निभेल साहसी व्यक्ति थिए । चित्रकारसाथै मनोरञ्जनकर्ता निभेल मोटर साइकलको करामतको लागि परिचित छन् । गिनिज बुकमा नाउँ लेखाउन सफल यी व्यक्तिले ६८ वर्षसम्म येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नदेखि इन्कार गरेका थिए । तर १ अप्रिलमा दुनियाँले देख्ने गरी तिनले आफूले येशू ख्रीष्टमाथि पहिलो पटक विश्वास गरेका घोषणा गरे । आवर अफ पावर नामक टेलिभिजन कार्यक्रमबाट १०० भन्दा बढी राष्ट्रका दसौँ लाख दर्शकले उनको गवाहीलाई हेरिरहेका थिए ।

आफ्नो परिवर्तनको अनुभवलाई तिनले यसरी व्याख्या गरे, “अकस्मात् मैले येशू ख्रीष्टमाथि विश्वास गरेँ । मैले उहाँमाथि विश्वास गरेँ ! … मैले घुँडा टेकेँ अनि प्रार्थना गरेँ कि परमेश्वरले आफ्ना पाखुरा मेरो वरिपरि राख्नुहुने छ अनि कहिल्यै हटाउनुहुने छैन ।” कैयौँ मानिसले तिनको निम्ति प्रार्थना गरिरहेका थिए भनी तिनले बताए ।

निभेलको अनुरोधमा टेलिभिजन हेरिरहेका दर्शकहरूका सामु क्रिस्टल मण्डलीमा पास्टर स्कुलरले तिनलाई बप्तिस्मा दिए । तिनको शक्तिशाली गवाहीलाई सुनेपछि ५०० भन्दा बेसी मानिसले सामूहिक रूपमा बप्तिस्मा लिएका थिए ।

Facebook Comments

Powered by Youth Circle