करिब ख्रिस्टाब्द ३१६ मा फ्रुमेन्टस र इडेसस बालकहरू नै थिए । तिनीहरू आफ्ना आफन्त मेरोपससितै आफ्नो जन्मभूमि टुरोस (हाल लेबानोन) बाट पानी जहाजको यात्रा गरी अफ्रिकी मुलुक इथियोपिया प्रस्थान गरे । तिनीहरू चढेका जहाज लाल समुद्रको तटमा आएर रोकिँदा त्यहाँका स्थानीयहरूले जहाजका मानिसहरूको नरसंहार गरे । यी दुई जना घटनास्थलभन्दा पर रुखमुनि पढ्न गएकाले तिनीहरू जोगिए । दास बनाएर तिनीहरूलाई अक्सुम (उत्तरी इथियोपिया) का राजाकहाँ लगियो । यी दुई ठिटाले राजाबाट स्नेह पाए । राजाको मन जितेकाले तिनीहरूलाई भरोसायोग्य स्थानमा राखियो । आफ्नो मृत्युअगि राजाले दुवै जनालाई मुक्त गरिदिए । तथापि एकल महिला बनेकी रानीले तिनीहरूलाई राजदरबारमा बस्न लगाइन् । खास गरी बालकै रहेका उत्तराधिकारी इजनाको शिक्षा र राज्यको प्रशासनमा मदत पुर्याउन रानीलाई यी दुईको आवश्यकता थियो । तिनीहरू त्यहाँ बस्न राजी भए ।
फ्रुमेन्टस र इडेससले इथियोपियामा ख्रीष्टियान विश्वासलाई फैलाउन आफ्नो प्रभावको प्रयोग गरे । पहिले तिनीहरूले देशभित्र रहेका ख्रीष्टियान व्यापारीहरूलाई खुला रूपमा आफ्नो विश्वासको अभ्यास गर्न उत्साह दिए अनि एकै ठाउँमा जम्मा भएर प्रार्थना गर्ने ठाउँ फेला पार्न मदत गरे । पछि तिनीहरूले केही स्थानीहरूलाई प्रभु येशूमा जिते ।
राजकुमार इजना हुर्केपछि इडेसस टुरोस फर्के जहाँ तिनलाई अभिषेक गरियो । पछि अलेक्ज्यान्ड्रियका बिशप अथनेसिएस महान्ले फ्रुमेन्टसलाई बिशपमा अभिषेक गरे । फ्रुमेन्टस इथियोपिया फर्केपछि तिनले राजा इजनालाई प्रभुमा जिती बप्तिस्मा दिए । राजाले देशभरि मण्डलीहरू बनाउनुका अतिरिक्त ख्रिस्टियमतलाई फैलाए । मानिसहरूले फ्रुमेन्टसलाई “ज्योतिका प्रकटकर्ता” र “शान्तिका पिता” भन्थे । तिनलाई इथियोपिया मण्डलीको प्रथम प्रमुखको रूपमा आदर गरियो ।
नयाँ करारको विवरण (प्रेरित ८:२६-३८) अनुसार सुसमाचार प्रचारक फिलिपले इथियोपियाली नपुंसकलाई पहिलो शताब्दीमा नै ख्रीष्टमा जितेका थिए भन्ने विवरण नै त्यस भूमिमा ख्रिस्टियमतको परिचयको प्रथम सन्दर्भ हो । अक्सुमका राजा इजनाको शासनभन्दा धेरै पहिले नै त्यस भूमिमा ख्रीष्टियान शिक्षाले प्रवेश पाएको भए तापनि फ्रुमेन्टसको पहलले मात्रै दिगो प्रभाव पार्यो । इथियोपियाका लागि प्रेरित भनेर चिनिएका फ्रुमेन्टसले करिब ३८३ मा प्राण त्याग गरे ।