ख्रिस्टमसको अवसरमा तपाईंले जान्नुपर्ने ७ ओटा बाइबलीय खण्ड

यहाँ बाइबलका ७ ओटा खण्ड दिइएका छन् जुन कुनै न कुनै दृष्टिकोणबाट येशूको जन्मसित जोडिएका छन् । ख्रिस्टमस उहाँको जन्मको अवसरमा मनाइने महोत्सव भएकोले यो मौसममा यी खण्डहरूबारे ज्ञान हुनु मुनासिब नै हुन्छ । अगिल्ला ३ ओटा खण्ड पुरानो करारका हुन् भने पछिल्ला ४ ओटा नयाँ करारका ।

१. यशैया ७:१४

यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्‍या गर्भवती हुनेछ, र त्‍यसले एउटा छोरा जन्‍माउनेछ र उनको नाउँ इम्‍मानुएल राखिनेछ ।

येशू कन्याबाट जन्मनुहुनेथियो भनी प्रस्ट रूपमा भविष्यवाणी गर्ने अगमवक्ता यशैया थिए जसले उहाँको जन्मभन्दा ७०० वर्षअगि यो भविष्यवाणी गरेका थिए । नयाँ करारमा येशू कन्या मरियमबाट जन्मनुहुँदा यो भविष्यवाणी जस्ताको तस्तै पूरा भयो ।

२. यशैया ९:६

किनभने हाम्रा निम्‍ति एउटा बालकको जन्‍म भएको छ । हाम्रा निम्‍ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ  ।

यस खण्डमा मसीहको निम्ति चारवटा पदवी दिइएका छन् । उहाँ ‘अचम्मका सल्लाहकार’ हुनुहुन्छ । उहाँको सल्लाह मानवीय सीमाभन्दा पर जान्छ । उहाँ ‘शक्तिशाली परमेश्वर’ हुनुहुन्छ अर्थात् उहाँमा परमेश्वरका सबै शक्ति छन् । उहाँ केवल केही वर्षका लागि एउटा जातिका पिता हुनुहुन्न, उहाँ त ‘अनन्तका पिता’ हुनुहुन्छ जसको शासन सदासर्वदाको लागि हो । अन्ततः, उहाँ ‘शान्तिका राजकुमार’ हुनुहुन्छ जसको आगमनले मानिस र परमेश्वरको बिचमा मात्र नभई मानिस-मानिसको बिचमा पनि शान्ति ल्याउँछ ।

उहाँ ‘अचम्मका सल्लाहकार’ हुनुभएकोले उहाँका विचार र रणनीतिहरू सर्वोत्तम छन् । त्यसैले उहाँको पछि लागौँ । उहाँ ‘शक्तिशाली परमेश्वर’ हुनुभएकोले उहाँले आफ्ना शत्रुहरूलाई सजिलैसित परास्त गर्नुहुन्छ । त्यसैले उहाँको पछाडि लुकौँ । उहाँ ‘अनन्तका पिता’ हुनुभएकोले उहाँले हामीलाई कहिल्यै नटुङ्गिने प्रेमले प्रेम गर्नुहुन्छ । त्यसैले उहाँमा आनन्दित होऔँ । उहाँ ‘शान्तिका राजकुमार’ हुनुभएकोले हामी पापी छँदै उहाँले हामीलाई मिलापमा ल्याउनुहुन्छ । त्यसैले उहाँको प्रभुत्वलाई स्वागत गरौँ ।

३. मीका ५:२

तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ ।

मसीहको जन्म स्थानबारे भविष्यवाणी गर्ने यो एक मात्र खण्ड हो । मीकाले येशूको जन्मभन्दा झन्डै ७०० वर्षअगि यो भविष्यवाणी गरेका थिए । येशू बेथलेहेममा जन्मनुहुँदा तिनको भविष्यवाणी पूरा भयो । मुक्तिदाता प्रभु येशू बेथलेहेममा जन्मनुभएकोले यो ठाउँ सारा दुनियाँमा मुक्तिदाताको जन्म स्थानको रूपमा प्रसिद्ध छ । सबैभन्दा महत्त्वहीन ठाउँ बेथलेहेमबाट नै सबैभन्दा महत्त्वपूर्ण व्यक्ति येशूको उदय भयो ।

४. यूहन्ना १:१४

अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो ।

आजभन्दा लगभग २,००० वर्षअगि बेथलेहेममा येशू ख्रीष्टको जन्म उहाँको अस्तित्वको आरम्भ थिएन । सबै मानिसको अस्तित्व गर्भधारणमा सुरु हुन्छ, तर येशू जन्मनुभन्दा पहिले पनि अस्तित्वमा हुनुहुन्थ्यो । उहाँ एउटा खास मिसन पूरा गर्न पूर्वअस्तित्ववान् अवस्थाबाट संसारमा आउनुभयो । यो महान् सत्यतालाई चौथो सुसमाचारीय लेखक यूहन्नाले आफ्नो प्रस्तावनामा छर्लङ्ग पारेका छन् (यूहन्ना १:१) । यी “वचन” को प्रकृतिबारे पद १४ मा लेखक थप जानकारी दिन्छन्, “अनि वचन देहधारी हुनुभयो ।”

पवित्र बाइबलमा उल्लिखित शब्द “वचन” अङ्ग्रेजी Word को अनुवाद हो जसलाई ग्रिकमा “लोगोस” भनिन्छ । “लोगोस” एउटा सामान्य शब्द थियो जसलाई यहूदीसाथै ग्रिक साहित्यमा व्यापक रूपमा प्रयोग गरिन्थ्यो । यस अवधारणालाई यूहन्नाले सुरु गरेका थिएनन्, यो त एउटा प्राचीन अवधारणा थियो । आफ्ना पाठकहरूका निम्ति यो एउटा परिचित शब्द भएकाले लेखकले यही शब्दको छनोट गरे, तर तिनले यसलाई नयाँ अर्थसहित प्रयोग गरेका छन् जुन तिनको प्रस्तावनामा प्रस्ट छ । यूहन्नाको “वचन” व्यक्ति हुनुहुन्छ जो पितालाई मानिसहरूकहाँ प्रकट गराउन संसारमा आउनुभयो । ती वचन अरू कोही नभएर येशू ख्रीष्ट हुनुहुन्छ ।

५. मत्ती १:२०-२१

तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ । तिनले एउटा पुत्र जन्‍माउनेछिन्‌, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”

योसेफ र मरियमको बिचमा मगनी भएपछि तिनीहरूको विवाहअगि नै मरियम गर्भवती भएको थाहा हुन आयो । मरियम अविश्वासयोग्य भएकी ठानी योसेफले तिनलाई गुप्तमै त्याग्ने मनसाय बनाए । मरियम कसरी गर्भवती भइन् भनेर योसेफलाई पनि अवगत गराउनुपर्थ्यो भनी परमेश्वर जान्नुहुन्थ्यो । तसर्थ वास्तविकतालाई प्रकट गराउन सपनामा एउटा स्वर्गदूत योसेफकहाँ देखा परे र तिनले मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी तथ्य जाहेर गराए योसेफलाई ।

६. लूका २:१०-११

तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ । आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ । तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ ।”

येशूको जन्मपश्चात् एक जना स्वर्गदूत गोठालाहरूकहाँ देखा परे जसले तिनीहरूलाई उहाँको जन्मको खबर सुनाए । तत्कालीन समाजमा गोठालाहरू उपेक्षित समूह भए तापनि येशूको जन्मको शुभ खबर पहिले तिनीहरूलाई नै घोषणा गरियो, मन्दिरका पुजारीहरूलाई होइन । उहाँको जन्मको खबर बडो आनन्दको सुसमाचार थियो र यो सबै मानव-जातिका लागि हो ।

७. मत्ती २:१-२

हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं ।”

पूर्वका बुद्धिमानी मानिसहरू बालक येशूलाई भेट्न आए र यो भेट हेरोद राजाको समयमा भएको थियो । मसीह जन्मनुभयो भन्ने सङ्केत पाएपछि आकाशबारे जानेका यी ज्ञाताहरू लामो यात्रा गरी उहाँलाई आराधना चढाउने उद्देश्यले बालकको दर्शन गर्न आएका थिए ।

Facebook Comments

Powered by Youth Circle