येशूको बारेमा तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

हामी ख्रिस्टमसको मौसममा छौँ । एक जना व्यक्तित्वको कारण ख्रिस्टमस अस्तित्वमा आएको हो । उहाँको नाउँ हो— येशू ख्रीष्ट । येशू ख्रीष्टविनाको ख्रिस्टमसको कल्पना गर्न सकिँदैन । उहाँ नै यो खुसियालीको कारण हुनुहुन्छ । ख्रिस्टमसको अवसरमा उहाँ को हुनुहुन्छ भनेर जान्नु नितान्त आवश्यक छ ।

१. येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ

येशू ख्रीष्ट ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ । पहिलो शताब्दीमा प्यालेस्टाइनबाट थालनी भएको ख्रिस्टियमत हाल संसारको सबैभन्दा ठुलो धर्म (वा मार्ग) हो । अपरेसन वर्ल्डको पछिल्लो संस्करण (सातौँ संस्करण, २०१०) अनुसार संसारमा भएका ७ अरब जनसङ्ख्यामध्ये ख्रीष्टियानहरूको जनसङ्ख्या २ अरब २२ करोड रहेको छ । यो भनेको ३२% हो । उही स्रोतअनुसार संसारका २३३ ओटा मुलुकमध्ये १५९ ओटा मुलुकमा ख्रीष्टियानहरूको बाहुल्यता रहेको छ । युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, प्यासिफिक क्षेत्र ख्रीष्टियानहरूको बाहुल्यता रहेका महादेश वा भूभागहरू हुन् । केवल एसियामा ख्रीष्टियानहरू न्युन सङ्ख्यामा छन् ।

२. येशू अनन्त हुनुहुन्छ

आजभन्दा लगभग दुई हजार वर्षअगि हाम्रै महादेशको प्राचीन प्यालेस्टाइनको बेथलेहेम नामक गाउँमा येशूले मानवीय चोला धारण गर्नुभन्दा पहिले पनि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो । उहाँ सदाकालदेखि रहिआउनुभएको छ । वास्तवमा उहाँको कुनै आदि छैन, न त अन्त्य नै । उहाँ अलौकिक नियमबाट जन्मनुभएको थियो । बेथलेहेममा उहाँको जन्म उहाँको अस्तित्वको आरम्भ थिएन, तर उहाँको मानवताको आरम्भ थियो । उहाँको ईश्वरत्वमा उहाँ अनन्त भूतकालदेखि अस्तित्वमा रहिआउनुभएको थियो । उहाँ जन्मनुहुँदा उहाँले थप स्वभाव अर्थात् मानवीय स्वभाव धारण गर्नुभयो । “आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो । … अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो” (यूहन्ना १:१, १४) ।

. उहाँले आश्चर्यकर्महरू गर्नुभयो

येशूले आफ्नै शक्तिले विभिन्न आश्चर्यकर्महरू गर्नुभयो: हिँड्न नसक्नेलाई हिँड्न सक्षम तुल्याउनुभयो; सुन्न नसक्नेलाई सुन्ने तुल्याउनुभयो; दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नुभयो; आँधीलाई शान्त पार्नुभयो; पाँचवटा रोटी र दुईवटा माछाले पाँच हजारलाई खुवाउनुभयो । “येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌ । तर यी लेखिएका छन्‌, कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर, र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्‌” (यूहन्ना २०:३०-३१) ।

. उहाँमा दुईवटा स्वभाव थिए

उहाँमा दुईवटा स्वभाव थिए— मानवीय र ईश्वरीय । अरू मानिसहरूजस्तै उहाँ मानसिक, शारीरिक, आत्मिक र सामाजिक रूपमा हुर्कनुभयो, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । उहाँको मानवीय स्वभावमा उहाँ थाक्नुभयो; रिसाउनुभयो; भोकाउनुभयो; रुनुभयो अनि मर्नुभयो । उहाँको ईश्वरीय स्वभावमा उहाँले मानिसको गोप्य कुरो थाहा पाउनुभयो र आश्चर्यकर्महरू गर्नुभयो । उहाँ अनन्त (यूहन्ना ८:५९), सर्वव्यापी (मत्ती २८:२०), सर्वज्ञानी (यूहन्ना ४:२९), सर्वशक्तिमान् (यूहन्ना ११:३८-४४) हुनुहुन्थ्यो । येशू दुईवटा स्वभाव हुनुभएका परमेश्वर-मानव हुनुहुन्छ ।

. उहाँ क्रूसमा टाँगिनुभयो अनि पुनरुत्थान हुनुभयो

येशू मानव-जातिको पापको लागि क्रूसमा मर्नुभयो । उहाँको मृत्यु स्वैच्छिक थियो ।  उहाँको प्रस्थानको क्षणमा पनि मृत्युले उहाँमाथि विजय हासिल गर्न सकेन, बरु उहाँले स्वेच्छाले आफ्नो आत्मा त्याग गर्नुभयो, “उहाँले भन्नुभयो, ‘अब सिद्धियो’, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो” (यूहन्ना १९:३०) । उहाँको मृत्यु भएको तेस्रो दिन उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुभयो । उहाँ ४० दिनको अवधिमा यस पृथ्वीमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो अनि महिमित शरीरमा जैतून पर्वतबाट स्वर्गारोहण हुनुभयो ।

. उहाँ फेरि आउनुहुने छ  

उहाँ न्यायको लागि फेरि यस पृथ्वीमा आउँदै हुनुहुन्छ । उहाँ धार्मिक न्यायाधीश हुनुभएकोले उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा पछ्याउनेहरूलाई उहाँले आफ्नो अनन्त बासस्थानमा लैजानुहुने छ भने अरू त्यसबाट वञ्चित हुनेछन् ।

. उहाँ सबैभन्दा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ

येशू यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । उहाँको आगमनले संसारमा मनग्गे सकारात्मक परिवर्तनहरू ल्याइदिएका छन् । संसारका कुनै पनि विख्यात अगुवाहरूले भन्दा उहाँले धेरै मानिसहरूलाई आफ्नो पक्षमा जित्नुभएको छ । येशूको आगमनदेखि हालसम्म झन्डै दुई हजार वर्ष बितिसकेको भए तापनि उहाँ यति प्रभावशाली हुनुहुन्छ कि अहिले पनि ५ अरबभन्दा बेसी मानिसले उहाँप्रति सकारात्मक दृष्टिकोण राख्छन् ।

Facebook Comments

Powered by Youth Circle