येशू याकूबको वंशमा जन्मनुहुँदा १,३०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

गन्ती २२-२४ अध्यायहरूमा गैरइस्राएली अगमवक्ता बालामको कथा पाइन्छ । तिनका सातवटा प्रवचन अर्थात् ईश्वरवाणीमध्ये तेस्रो (गन्ती २४:५-९) र चौथो (गन्ती २४:१७-१९) खास गरी उल्लेखनीय छन् किनकि यी खण्डहरू मसीहसित सम्बन्धित छन् भनी लामो समयदेखि अर्थ खोलिएको छ । अगमवक्ता बालामले भने, “म उहाँलाई देख्‍छु, तर अहिले त होइन । म उहाँलाई हेर्छु, तर नजिकै त होइन । याकूबबाट एउटा तारा उदय हुनेछ, र इस्राएलबाट एउटा राजदण्‍ड उठ्‌नेछ । उहाँले मोआबका टाउको किच्‍च्‍याउनुहुनेछ, अनि शेथका सन्‍तानलाई ध्‍वंस पार्नुहुनेछ” (गन्ती २४:१७) ।

येशूको जन्मभन्दा झन्डै १,३०० वर्षअगि बालामले यो भविष्यवाणी बोलेका थिए । बालाम दुष्ट अगमवक्ता भए तापनि झुटा अगमवक्ता भने थिएनन् । यहोवे परमेश्वरबाट तिनले केही साँचा भविष्यवाणीहरू पाए जसमध्ये एउटा थियो— मसीहले याकूबको वंशमा जन्म लिनुहुनेथियो ।

याकूब एक महत्त्वपूर्ण पात्र थिए जसलाई इस्राएल भनेर पनि चिनिन्छ । इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा दाजुभाइमध्ये याकूब कान्छा थिए भने एसाव जेठा । इसहाकका दुई छोरामध्ये एसावबाट नभई याकूबबाट मसीहको आगमन हुनेथियो भनी बालामले भविष्यवाणी गरे, “याकूबबाट एउटा तारा उदय हुनेछ, र इस्राएलबाट एउटा राजदण्‍ड उठ्‌नेछ ।” बालामको भविष्यवाणीअनुसार याकूबबाट एउटा ताराको उदय हुनेथियो । प्राचीन बाइबलीयसाथै बाइबलेतर साहित्यमा ‘तारा’ राजाको सामान्य प्रतीक थियो । यस खण्डमा मसीहलाई ‘तारा’ भनिएको छ । यो तारा अरू कोही नभएर नयाँ करारमा येशू ख्रीष्ट साबित हुनुभयो ।

बेथलेहेममा जन्मनुभएका मसीहको दर्शन गर्न पूर्वबाट आएका बुद्धिमान् मानिसहरूलाई विशेष ताराले अगुवाइ गरेको थियो । तिनीहरूले भने, “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं” (मत्ती २:२) । इतिहासकार लूकाका अनुसार येशू याकूबको वंशमा नै जन्मनुभयो (लूका ३:२३, ३४) । यसो हुँदा शताब्दीऔँ पुरानो भविष्यवाणी पूरा भयो । प्रकाशको पुस्तकअनुसार येशू ‘बिहानको चहकिलो तारा’ हुनुहुन्छ, “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु । दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ” (प्रकाश २२:१६) ।

यसरी, नयाँ करारमा येशू याकूबको वंशमा जन्मनुहुँदा उहाँको जन्मभन्दा करिब १,३०० वर्षअगि बालाम अगमवक्ताले बोलेका भविष्यवाणी पूरा भयो । अन्धकारले भरिपूर्ण संसारलाई झिलिमिलि पार्न हाम्रा मुक्तिदाता येशू तारा बनेर आउनुभयो ।

Facebook Comments

Powered by Youth Circle