येशू अब्राहामको सन्तान भएर जन्मनुहुँदा २,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

मोशापछि नयाँ करारमा पुरानो करारबाट सबैभन्दा धेरै पटक उल्लेख गरिएको नाउँ हो, अब्राहाम । उत्पत्ति ११:२६ मा पहिलो पटक तिनको उल्लेख गरिएको छ । उत्पत्ति १२-२५ अध्यायसम्म तिनको बारेमा सबिस्तार वर्णन पाइन्छ । अब्राहामलाई ‘परमेश्वरका मित्र’ भनिएको छ (याकूब २:२३) जुन उपाधी अन्य कुनै पनि बाइबलीय पात्रलाई दिइएको छैन । अब्राहाम करिब २,००० ख्रिस्टपूर्वतिर बाँचेका थिए ।

परमेश्वरले अब्राहामसित बाँध्नुभएको करारलाई अब्राहामीय करार भनेर चिनिन्छ जहाँ परमेश्वरले तिनीसित तीनवटा प्रतिज्ञा गर्नुभयोः देशको प्रतिज्ञा, जातिको प्रतिज्ञा र आशिष्‌को प्रतिज्ञा (उत्पत्ति १२:१-३) । अब्राहामबाट नै सबै जातिले आशिष् पाउनेथिए भनी परमप्रभुले भन्नुभयो, “अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌” (उत्पत्ति १८:१८) । अब्राहामबाट एक जना विशेष सन्तान अर्थात् मसीहको उदय हुनेथियो जसद्वारा सबै आशिषित हुनेथिए भनेर पनि परमेश्वरले तिनलाई भन्नुभयो, “तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌, किनकि तैंले मेरो वचन पालन गरिस्” (उत्पत्ति २२:१८) ।

नयाँ करारअनुसार येशू अब्राहामकै सन्तान भएर जन्मनुभयो भनी मत्तीले आफ्नो सुसमाचारको थालनी गरेका छन्, “अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्‍टको वंशावली (मत्ती १:१) ।

प्रेरित पत्रुसले भिडलाई भने, “शमूएलदेखि लिएर त्‍यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्‌, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्‌ । तपाईंहरू तिनै अगमवक्ताहरूका र त्‍यही करारका सन्‍तान हुनुहुन्‍छ, जुन करार परमेश्‍वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्‍नुभयो, ‘तिम्रा सन्‍तानमा पृथ्‍वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌ ।’ तपाईंहरू हरेकलाई आफ्‍नो दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष्‌ दिन भनी परमेश्‍वरले आफ्‍ना सेवकलाई खडा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो” (प्रेरित ३:२४-२६) ।

हिब्रूका लेखकले व्यक्त गरे, ” किनकि साँच्‍चै नै उहाँले स्‍वर्गदूतहरूको होइन, तर अब्राहामका सन्‍तानको वास्‍ता गर्नुहुन्‍छ । यसैकारण हरेक कुरामा उहाँ आफ्‍नै भाइहरूजस्‍तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्‍चित गर्नलाई परमेश्‍वरको सेवामा उहाँ कृपालु र विश्‍वस्‍त प्रधान पूजाहारी बन्‍नुभयो” (हिब्रू २:१६-१७) ।

पावलले लेखेका छन्, “प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए । धर्मशास्त्रले ‘सन्तानहरूलाई’ भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ । तर धर्मशास्त्रले ‘तिम्रो सन्तानलाई’ भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ” (गलाती ३:१६) ।

बाइबल धर्मशास्त्रमा अब्राहामका चार किसिमका बेग्लाबेग्लै सन्तानको बारेमा चर्चा गरिएको छ ।

(१) प्राकृतिक सन्तानः अब्राहामबाट जन्मेका सबै सन्तानहरू (उत्पत्ति १२:१–३,७) ।

(२) प्राकृतिक–आत्मिक सन्तानः अब्राहामबाट जन्मेका तर केवल विश्वास गर्नेहरू (रोमी ९:६,८; गलाती ६:१६) ।

(३) आत्मिक सन्तानः अब्राहामबाट नजन्मेका तर विश्वास गर्नेहरू (गलाती ३:६–९,२९) ।

(४) आखिरी सन्तानः येशू ख्रीष्ट (गलाती ३:१६) ।

येशू ख्रीष्ट अब्राहामका आखिरी सन्तान हुनुहुन्छ जसद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउँछन् । क्षमा, शान्ति, मिलापसाथै अनन्त जीवनजस्ता बहुमूल्य आत्मिक आशिष्‌हरू येशूद्वारा नै आउँछन् ।

यसरी, येशू अब्राहामको सन्तान भएर मानव चोला धारण गर्नुहुँदा उहाँको जन्मभन्दा झन्डै २,००० वर्षअगि बोलिएको भविष्यवाणी पूरा भयो ।

Facebook Comments

Powered by Youth Circle