येशू यिशैको वंशमा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

यिशै इस्राएलका महान्‌तम राजा दाऊदका पिता थिए । यिशै ओबेदका छोरा थिए भने रूथ र बोअजका नाति । तिनी यहूदाको बेथलेहेममा बस्थे र यहूदाको कुलका थिए । बेथलेहेमका परिचित बासिन्दा तिनी कृषक थिए र तिनले भेडा-बाख्राहरू पाल्थे । यिशै इस्राएलकै सर्वाधिक परिचित राजा दाऊदका पिता भएकाले र येशूको वंशावलीमा तिनको नाउँ उल्लेख भएकोले तिनलाई महत्त्वपूर्ण पात्रको रूपमा हेरिन्छ ।

इस्राएली अगमवक्ता यशैयाले भविष्यवाणी गरे, “यिशैको ठुटाबाट एउटा टुसा निस्‍कनेछ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउनेछ” (यशैया ११:१) । यहाँ मसीहलाई ‘टुसा’ भनिएको छ जुन यिशैको घरानाबाट उत्पन्न हुनेथियो ।

उही अगमवक्ताले उही अध्यायको अर्को पदमा पनि यिशैको वंशबाट मसीहको आगमन हुनेथियो भनी भविष्यवाणी गरे, “त्‍यस दिन मानिसहरूका निम्‍ति यिशैको वंशबाट एउटा झन्‍डाजस्‍तै खडा हुनेछ । जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्‌, र उहाँको विश्रामको स्‍थान महिमामय हुनेछ” (यशैया ११:१०) । यस पदमा उल्लिखित शब्द ‘वंश’ अङ्ग्रेजी Root को अनुवाद हो जसलाई हिब्रूमा सेरेस भनिन्छ । यस पदको अंशलाई “यिशैको जरा एउटा झन्‍डाजस्‍तै खडा हुने छ” भनेर अक्षरशः अनुवाद गर्न पनि सकिन्छ । हिब्रू शब्द सेरेसले जीवित जरालाई अङ्कित गर्छ जसमा टुसा पलाउँछ । यहाँ मसीहलाई ‘वंश’ वा ‘जरा’ भनिएको छ ।

यिशैको घरानामा मसीहको जन्महुनेथियो भनी यी दुवै पदमा यशैयाद्वारा भविष्यवाणी गरिएको छ । यशैया आठौँ शताब्दी ख्रिस्टपूर्वका इस्राएली अगमवक्ता थिए । तिनले मसीहलाई ‘टुसा’ (११:१) र ‘वंश’ वा ‘जरा’ (११:१०) भनेका छन् ।

नयाँ करारमा येशू यिशैको वंशमा जन्मनुहुँदा यशैयाको भविष्यवाणी पूरा भयो । येशू यिशैको वंशबाट आउनुभयो भनी दुवै वंशावली (मत्ती १:१-१७ र लूका ३:२३-३८) ले प्रस्ट पार्छन् ।

येशू यिशैकै वंशमा आउनुभएको थियो भनी रोमी १५:१२ मा पावलले प्रस्ट पारेका छन् जहाँ तिनले यशैयाको भविष्यवाणी उद्धृत गरेका छन्, “फेरि यशैया भन्‍दछन्‌, ‘यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्‍यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्‍यजातिहरूले आशा राख्‍नेछन्‌’ ।”

प्रेरितको पुस्तकमा पनि पावलले स्पष्ट रूपमा बताएका छन् कि यिशैको ठुटाबाट निस्केको ‘टुसा’ वास्तवमै मुक्तिदाता येशू ख्रीष्ट हुनुहुन्छ, “उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खडा गर्नुभयो । उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ ।’ यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो” (प्रेरित १३:२२-२३) ।

यसरी, येशू दाऊदका पिता यिशैको वंशमा जन्मनुहुँदा उहाँको जन्मभन्दा झन्डै ७०० वर्षअगि यशैयाद्वारा बोलिएको भविष्यवाणी पूरा भयो ।

Facebook Comments

Powered by Youth Circle