येशू दाऊदको वंशमा जन्मनुहुँदा १,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्ष (करिब १०१०-९७० ख्रिस्टपूर्व) सम्म राज्य गरे ।

२ शमूएल ७ अध्यायमा पुरानो करारकै एउटा महत्त्वपूर्ण भविष्यवाणी पाइन्छ जसअनुसार दाऊद आफ्नो महलमा सुरक्षित थिए र चारैतिरका शत्रुहरूबाट तिनले विश्राम पाएका थिए । नातान अगमवक्ता राजा दाऊदसँग भेट गर्न राजदरबार गए । बातचितको क्रममा परमप्रभुको सन्दूक पालमै राखिएकोले राजाले असन्तुष्टि पोखे । राजाचाहिँ देवदारुले बनाएको महलमा बस्ने तर राजाहरूका राजाको उपस्थिति हुने सन्दूकलाई चाहिँ पालमै राख्ने ? राजा दाऊदको दृष्टिमा यो प्रस्ट अनादर थियो । त्यसैले तिनले परमेश्वरको निम्ति एउटा घर बनाउने इच्छा गरे । तर परमेश्वरले तिनलाई अनुमति दिनुभएन, बरु उहाँले दाऊदको निम्ति राजघराना स्थापित गर्नुहुनेथियो । दाऊदको घर, तिनको वंश र राज्य सदाको निम्ति स्थिर हुनेथियो । परमेश्वरले भन्नुभयो, “तेरो घराना र तेरो राज्‍य मेरो सामुन्‍ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्‍थिर हुनेछ” (२ शमूएल ७:१६) । दाऊदको राज्यलाई मृत्युले खारेज गर्न सक्दैनथ्यो; पापले नष्ट गर्न सक्दैनथ्यो; समयले रित्याउन सक्दैनथ्यो । यो वास्तवमै सदाको निम्ति स्थापित हुने राज्य थियो । परमेश्वरले दाऊदलाई तिनको घरमा वा परमप्रभुको मन्दिरमा नभई एउटा राजघरानामा स्थापित गर्नुहुनेथियो जसले सिधै परमेश्वरका पुत्र ख्रीष्टमा डोर्‍याउनेथियो ।

मसीहको जन्म दाऊदकै वंशमा हुनेथियो भनी येशूको जन्मभन्दा करिब १,००० वर्षअगि भविष्यवाणी गरियो ।

दाऊदकै वंशबाट मसीहको आगमन हुनेथियो भनी यर्मिया अगमवक्ताले पनि भविष्यवाणी गरे, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एकजना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्” (यर्मिया २३:५) ।

नयाँ करारमा येशू दाऊदको वंशमा जन्मनुहुँदा शताब्दीऔँ पुरानो भविष्यवाणी पूरा भयो । मत्तीले येशूलाई दाऊदका पुत्र भनेका छन् किनकि उहाँ दाऊदकै वंशमा जन्मनुभयो, “अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्‍टको वंशावली” (मत्ती १:१) ।

परमेश्वरले येशूलाई दाऊदको सिंहासन दिनुहुनेथियो भनी स्वर्गदूतले मरियमलाई स्मरण दिलाए, “उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन” (लूका १:३२-३३) ।

मत्ती १ र लूका ३ अध्यायमा येशूको वंशावली अभिलिखत छ । मत्तीले योसेफको वंशावली उपलब्ध गराएका छन् भने लूकाले मरियमको । तर योसेफ र मरियम दुवै जना दाऊदकै वंशबाट आएका थिए ।

नयाँ करारमा येशूलाई बारम्बार “दाऊदका पुत्र” भनिएको छ । एक जना दृष्टिविहीन भिखारीले येशूलाई यसरी डाके, “‍हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌” (मर्कूस १०:४७) । येशू यरूशलेम प्रवेश गर्नुहुँदा भिड यसो भन्दै कराएको थियो, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!” (मत्ती २१:९) । ख्रीष्ट कसका पुत्र हुनुहुन्छ भनी येशूले प्रश्न गर्नुहुँदा फरिसीहरूले सही जवाफ दिए, “दाऊदका पुत्र” (मत्ती २२:४२) ।

याकूबको भाषणमा येशू दाऊदकै वंशबाट आउनुभएको थियो भन्ने तथ्यलाई सङ्केत गरिएको छ, “यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु, त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खडा गर्नेछु” (प्रेरित १५:१६) । याकूबले आमोस ४:११ बाट यो वचन उद्धृत गरेका थिए । उहाँ उल्लिखित दाऊदको वासस्थानले दाऊदको वंशलाई जनाउँछ ।

यसरी, येशू दाऊदको वंशमा जन्मनुहुँदा १,००० वर्ष पुरानो भविष्यवाणी पूरा भएको थियो ।

Facebook Comments

Powered by Youth Circle