येशूको जन्मवरिपरि भएका ७ ओटा घटना

चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् (मत्ती १:१८-२:२३; लूका १:२६-५६; २:१-४०) । यी विवरणहरूलाई नियाली मुक्तिदाता येशूको जन्मको वरिपरि भएका ७ ओटा घटनालाई हामी सङ्क्षिप्त रूपमा ध्यान दिने छौँ । यहाँ ती घटनाहरूलाई क्रमैसँग राखिएका छन् ।

१. योसेफ र मरियमको मगनी भयो (मत्ती १:१८-१९; लूका १:२६-२७) ।  

योसेफ याकूबका पुत्र थिए । तिनी धार्मिक मानिस थिए र दाऊदको वंशका थिए । तिनी गालीलको नासरतका बासिन्दा थिए । मरियम यहूदाको कुल र दाऊदको घरानाका थिइन् । लूका ३ अध्यायमा उनको वंशावली अभिलिखित छ । मरियम र योसेफ दुवै नै यहूदी जातिका भएकाले तिनीहरूको मगनीलाई यहूदी संस्कृतिअनुसार नै बुझिनुपर्छ । विवाहको व्यवस्था मिलाउने काम बुबाआमाले नै गर्थे । मगनीपश्चात् समाजले उक्त जोडीलाई पति र पत्नीको रूपमा हेर्थ्यो यद्यपि तिनीहरू सँगसँगै बस्न भने पाउँदैनथ्ये । मगनी र विवाहको बिचमा साधारणतया एक वर्षको परीक्षणकाल हुन्थ्यो जुन बेला यदि केटी गर्भवती भएको थाहा हुन आयो भने विवाहलाई रद्द गर्न सकिन्थ्यो । तर विवाहलाई आँच नपुर्‍याउने त्यस्तो कुनै तत्त्व नदेखिएको खण्डमा विवाह सम्पन्न भई नव जोडी सँगसँगै बस्न सुरु गर्थे । यहूदीहरूको चलनअनुसार मगनी यति कडा संस्कार थियो कि त्यसको विघटनको लागि सम्बन्धविच्छेदको औपचारिक घोषणाको खाँचो पर्थ्यो ।

२. स्वर्गदूत मरियमकहाँ देखा परे (लूका १:२६-३८) ।

योसेफसँग मगनी भएकी कन्या मरियम नासरतमा रहँदा गब्रिएल नाउँ गरेका स्वर्गदूत उनीकहाँ परे । मरियम कन्या छँदै गर्भवती भएर लामो समयदेखि प्रतिक्षा गरिएको मसीहलाई उनले जन्माउनेथिइन् भनी स्वर्गदूतले बताउँदा उनी छक्क परिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ ।” उनको गर्भधारण अलौकिक हुनेथियो भनी स्वर्गदूतले मरियमलाई प्रस्ट पारे, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ ।”

३. स्वर्गदूत योसेफकहाँ देखा परे (मत्ती १:२०-२५) ।

योसेफले मरियमसित मगनी गरे तर तिनीहरूको विवाहअगि नै मरियम गर्भवती भएको थाहा हुन आयो । मरियम अविश्वासयोग्य भएकी ठानी योसेफले तिनलाई गुप्तमै त्याग्ने मनसाय बनाए । योसेफले चाहेका भए उनलाई न्यायको लागि सार्वजनिक स्थानमा उभ्यान सक्थे जसले मरियमको ज्यानै जान पनि सक्थ्यो (व्यवस्था २२:२३-२४) । तर योसेफ धार्मिक मानिस भएकाले र मरियमलाई साँचो रूपमा प्रेम गरेकाले तिनले त्यो बाटोलाई रोजेनन् । मरियम कसरी गर्भवती भइन् भनेर योसेफलाई पनि अवगत गराउनुपर्थ्यो भनी परमेश्वर जान्नुहुन्थ्यो । तसर्थ वास्तविकतालाई प्रकट गराउन सपनामा एउटा स्वर्गदूत योसेफकहाँ देखा परे र तिनले मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी तथ्य जाहेर गराए योसेफलाई । कन्याबाट येशूको जन्म हुँदा यशैयाको सैयौँ वर्ष पुरानो भविष्यवाणी पनि पुरा हुनेथियो भनी बताए स्वर्गदूतले ।

४. बेथलेहेममा बालकको जन्म भयो (लूका २:१-७) । 

कैसर अगस्टसले यस जनगणनाको आदेश दिएका थिए जो २७ ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द १४ सम्म रोमको सम्राट भएका थिए । योसेफ र मरियम गालीलको नासरतमा बस्दै गर्दा यो जनगणनाको लागि हुकुम जारी भयो । योसेफ दाऊदको वंशका भएका हुनाले नाउँ लेखाउन तिनी मरियमलाई साथमा लिई दाऊदको सहर अर्थात् बेथलेहेम गए । नासरतदेखि बेथलेहेम झन्डै ६५ माइल टाढा थियो । नाउँ दर्ता गराउन आउने आगन्तुकहरूले बेथलेहेम खचाखच भएकाले योसेफ र मरियमले पौवामा कुनै ठाउँ पाएनन् । परम्पराअनुसार योसेफ र मरियम पौवा नजिकैको गुफामा बसे जहाँ मरियमले बालकलाई जन्म दिइन् अनि डुँडमा राखिन् । येशू बेथलेहेममा जन्मनुहुँदा मीका अगमवक्ताले बोलेका ७०० वर्षअगिको भविष्यवाणी पूरा भयो (मीका ५:२) ।

५. गोठालाहरू बालकलाई भेट्न आए (लूका २:८-२०) ।

स्वर्गदूतले मसीहको जन्मको कथा पहिलो पटक गोठालाहरूलाई बताए जो बेथलेहेमको इलाकामा बगालको हेरचाह गर्दै थिए । खुसीको सन्देश सुनेर तिनीहरू हतार–हतार बालक भएको ठाउँमा आए । तिनीहरूले देखेका कुरो अरूहरूलाई पनि बताए र सुन्नेहरू आश्चर्यमा परे ।

६. येशूलाई मन्दिरमा अर्पण गरियो (लूका २:२१-४०) ।

यहूदी चलनअनुसार आठौँ दिनमा बालकको खतना गरियो, सम्भवतः बेथलेहेममा नै । अब्राहामको समयदेखि नै सबै यहूदी पुरुषले पालना गर्नुपर्ने शारीरिक चिन्ह थियो, खतना । स्वर्गदूतले भनेअनुसार योसेफ र मरियमले बालकको नाउँ येशू राखे । संसारका मुक्तिदाताको लागि यो नाउँ उपयुक्त थियो । यहूदी परम्पराअनुसार ४० दिनपछि बालकलाई मन्दिरमा अर्पण गरिन्थ्यो । योसेफ र मरियमले यी दिनहरू सम्भवतः बेथलेहेममा नै बिताए । दुईवटा उद्देश्य लिएर तिनीहरू यरूशलेमस्थित मन्दिरमा गए— बालकलाई परमप्रभुको सामु अर्पण गर्न र मरियमको निम्ति शुद्देईंको बलिदान चढाउन । बालक येशूलाई मन्दिरमा अर्पण गर्दा परमेश्वरका भक्तजन शिमियोन र अगमवादिनी हन्ना दुवैले उहाँलाई मसीहको रूपमा पहिचान गरे ।

७. येशूलाई भेट्न पूर्वबाट ज्योतिषीहरू आए (मत्ती २:१-१२) ।

योसेफको परिवार बेथलेहेमबाट फर्केपछि पूर्वबाट केही ज्योतिषीहरू (गगनबारे जानेका ज्ञाताहरू) येशूलाई भेट्न आए । तिनीहरूको सङ्ख्या, वास्तविक पहिचान र आगमनको समयबारे किटेर भन्न मुश्किल । तिनीहरूले आकाशमा मुक्तिदाताको जन्मलाई अङ्कित गर्ने अद्‌भुत दृश्य देखेपछि धेरै लामो यात्रा गरेर तिनीहरू मसीहलाई भेट्न आए । तिनीहरूले बालक येशूलाई आफूले ल्याएका महत्त्वपूर्ण उपहारहरू दिए ।

आफू राजा हुँदाहुँदै कुनै अर्को राजा जन्मेको खबरले हेरोदलाई बेचैन तुल्यायो । तिनले बालक येशूलाई मार्न खोजेपछि स्वर्गदूतबाट सपनामा जानकारी पाएर योसेफ मरियम र बालक येशूलाई लिएर मिश्रमा गए । ज्योतिषीहरूको चाललाई धोका ठानी हेरोद राजा रिसले चूर भएर तिनले बालकहरूको हत्या गर्ने आदेश दिए (मत्ती २:१६-१८) । तर उक्त घटना हुँदा योसेफको परिवार त्यहाँ थिएन । हेरोदको मृत्युपश्चात् योसेफको परिवार पुनः नासरत फर्के (मत्ती २:१९-२३) अनि येशू नासरतमा नै हुर्कनुभयो ।

Facebook Comments

Powered by Youth Circle