येशू यहूदाको कुलमा जन्मनुहुँदा १,७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

याकूबको मृत्यु हुनुअगि तिनले आफ्ना छोराहरूलाई डाकी तिनीहरूको बारेमा विविध भविष्यवाणीमूलक आशिष्‌हरू दिए । आफ्ना काहिँला छोरा यहूदाको सम्बन्धमा तिनको वचन यस्तो थियो, “यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बीचबाट हट्‌नेछैन, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । र जातिहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌” (उत्पत्ति ४९:१०) । येशूको जन्मभन्दा झन्डै १,७०० वर्षअगि याकूबले यो भविष्यवाणी बोलेका थिए ।

पुरानो करारमा याकूब एक महत्त्वपूर्ण पात्र थिए जसलाई इस्राएल भनेर पनि चिनिन्छ । इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा दाजुभाइमध्ये याकूब कान्छा थिए भने एसाव जेठा । तर याकूबले छल गरेर दाजु एसावको जेष्ठाधिकार खोसे । आफ्नो मातृभूमि कनानमा अनिकाल परेपछि योसेफको मदतद्वारा याकूब र तिनका सन्तानहरू मिश्र लागे अनि मिश्रमा नै तिनको निधन भयो ।

यहूदा याकूबका १२ जना छोरामध्ये काहिँला अर्थात् चौथा थिए । बाँकी ११ जनालाई छाडी मसीहले यहूदाको कुलमा जन्म लिनुहुनेथियो भनी याकूबले मर्ने बेलामा भविष्यवाणी गरेका थिए ।

उत्पत्ति ४९:१० मा उल्लिखित “मालिक” को लागि प्रयोग गरिएको हिब्रू शब्द शीलो हो । पुरानो करारमा यो नामलाई ३३ पटक प्रयोग गरिएको छ र एक ठाउँमा बाहेक अन्य सबै ठाउँमा यसले सधैँ इस्राएलको गाउँलाई जनाउँछ । यो गाउँ बेथेलदेखि करिब दस माइल उत्तर-पूर्वमा अवस्थित थियो । न्यायकर्ता २१:१९ मा लेखिएको छ, “तब बेथेलको उत्तरतिर, बेथेलदेखि शकेम जाने मूलबाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको शीलोमा परमप्रभुको निम्‍ति प्रतिवर्ष हुने चाडको तिनीहरूलाई याद आयो ।” केवल एक ठाउँमा यो शब्दले व्यक्तिलाई जनाउँछ र त्यो हो— उत्पत्ति ४९:१० ।

यस खण्डमा अभिलिखित “मालिक” ले मसीह अर्थात् येशू ख्रीष्टलाई जनाउँछ । यहाँ मात्र नभई अन्य खण्डहरूमा पनि मसीह यहूदाको कुलबाट आउनुहुनेथियो भनी भविष्यवाणी गरियो । दाऊदसित परमेश्वरले यसो भन्दै करार बाँध्नुभयो, “त्‍यसले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ, र म त्‍यसको राजकीय सिंहासन सधैँको निम्‍ति स्‍थिर गर्नेछु” (२ शमूएल ७:१३) । स्मरण रहोस्, दाऊद यहूदाको कुलबाट आएका थिए । मीकाको भविष्यवाणीअनुसार यहूदाकै कुलबाट “एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ” (मीका ५:२) । यसरी मसीह यहूदाको कुलबाट आउनुहुनेथियो भनी पुरानो करारमा प्रस्ट रूपमा भविष्यवाणी गरियो ।

नयाँ करारको वंशावलीअनुसार येशू यहूदाकै कुलमा जन्मनुभयो (मत्ती १:१-७; लूका ३:२३,३३-३४) । “किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो” (हिब्रू ७:१४) । प्रेरित यूहन्नाले मसीह अर्थात् येशूलाई ‘यहूदाको कुलको सिंह’ भनेका छन्, “तब धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई भने, ‘नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्‍न विजयी हुनुभएको छ'” (प्रकाश ५:५) ।

यसरी येशू ख्रीष्ट यहूदाको कुलबाट जन्मनुहुँदा उहाँको जन्मभन्दा १,७०० वर्ष अगाडि भनिएको भविष्यवाणी पूरा भएको थियो ।

Facebook Comments

Powered by Youth Circle