येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १)

यो आलेख मूलतः येशू ख्रीष्ट कुन सालतिर जन्मनुभयो र त्यसको निर्धारणको लागि के-कस्ता विधिहरूको प्रयोग गरिन्छन् भन्ने कुरासित सम्बन्धित भएकोले यहाँ डिसेम्बर २५ लाई किन येशूको जन्मोत्सवको रूपमा मनाइन्छ भनी चर्चा गरिने छैन ।

चारवटा सुसमाचारीय पुस्तक (मत्ती, मर्कूस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक भरपर्दा जीवनीहरू मात्र नभएर ती सबैभन्दा प्रारम्भिक पनि हुन् । सुसमाचारीय पुस्तकहरूमा उहाँको जन्म मिति कतै पनि उल्लेख गरिएको छैन । प्राचीन बाइबलेतर (बाइबलभन्दा बाहिरका) स्रोतहरू पनि उहाँको जन्म मितिबारे मौन छन् । तर येशू ख्रीष्ट ६-४ ख्रिस्टपूर्वको बिचमा जन्मनुभएको थियो भनी अधिकांश बाइबल विद्वान्‌हरू सहमत छन् । उहाँ कुन सालमा जन्मनुभएको थियो भनेर तोकेर भन्नाका लागि ऐतिहासिक विवरणहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् । त्यसैले उहाँको जन्म मितिको निर्धारणको लागि विभिन्न विधिहरू अगाडि सारिएका छन् । आज हामी एउटा विधिलाई हेर्न गइरहेका छौँ । यस विधिले मत्ती र लूकाका सुसमाचारहरूमा येशूको जन्मबारे उपलब्ध विवरणहरूलाई विश्लेषण गर्दछ ।

“हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, …” भनी मत्ती २:१ मा लेखिएको छ । पूर्वबाट आएका बुद्धिमान् मानिसहरूले येशूलाई भेट्दा बालक येशू दुई वर्ष पुग्नुभएको हुन सक्ने सम्भावनालाई पनि मत्तीले अङ्कित गरेका छन् किनकि हेरोदले दुई वर्षसम्मका बालकहरूलाई मार्ने आदेश दिए (मत्ती २:१६) । इतिहासअनुसार हेरोदको मृत्यु ४ ख्रिस्टपूर्वमा भएकोले र बालक येशू जन्मनुहुँदा हेरोद जीवितै भएकाले उहाँ ४ ख्रिस्टपूर्वभन्दा पछाडि जन्मन सक्ने सम्भावना छैन ।

लूका २:१-२ मा ध्यान दिनयोग्य अन्य थुप्रै ऐतिहासिक सत्यताहरू पाइन्छन्, “ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो ।” स्मरण रहोस्, यही हुकुमको पालन गर्दै योसेफ र मरियम गालीलको नासतरदेखि यहूदियाको बेथलेहेममा नाउँ दर्ता गराउन गएका थिए जुन बेला बालक येशू बेथलेहेममा जन्मनुभएको थियो । हामीलाई थाहा छ कि कैसर अगस्टसले २७ ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द १४ सम्म शासन गरेका थिए । यही समयमा कुरेनियस सिरियाका हाकिम थिए । ऐतिहासिक अभिलेखअनुसार ख्रिस्टाब्द ६-७ मा कुरेनियस सिरियाका हाकिम भएका थिए, जुन मिति येशूको जन्मको लागि धेरै नै ढिलो हुन्छ । अक्सफोर्ड र क्याम्ब्रिज दुवै विश्वविद्यालयका प्राध्यापकसाथै पुरातत्त्वविद् विलियम राम्सेले पत्ता लगाइएका विभिन्न शिलालेखबाट निष्कर्ष निकालेका छन् कि कुरेनियस दुई पटक सिरियाका हाकिम भएका रहेछन्ः पहिलो पटक येशूको जन्मको समयमा र दोस्रो पटक ख्रिस्टाब्द ६-७ मा ।

निष्कर्षमा, बाइबलीय र ऐतिहासिक विवरणहरूबाट हामी भन्न सक्छौँ कि ६-४ ख्रिस्टपूर्वमा येशू ख्रीष्ट यहूदियाको बेथलेहेममा जन्मनुभयो । उहाँको जन्म मानव इतिहासमा अति नै महत्त्वपूर्ण घटना थियो जसले इतिहासको धारलाई मात्रै सदाको निम्ति परिवर्तन गरेन, तर असङ्ख्य मानिसहरूका जीवनलाई पनि ।

Facebook Comments

Powered by Youth Circle