हेर, कन्‍या गर्भवती हुनेछ

मसीह कन्याबाट जन्मनुहुनेथियो भन्नाका लागि पुरानो करारमा पाइने प्रस्ट भविष्यवाणी यशैया ७:१४ हो जहाँ लेखिएको छ, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्‍या गर्भवती हुनेछ, र त्‍यसले एउटा छोरा जन्‍माउनेछ र उनको नाउँ इम्‍मानुएल राखिनेछ ।” यस पदमा उल्लिखित शब्द ‘कन्या’ अङ्ग्रेजी ‘भर्जिन’ को अनुवाद हो जसलाई हिब्रू भाषामा ‘अल्माह’ भनिन्छ । हिब्रू बाइबलमा जवान स्त्रीलाई उल्लेख गर्न यो शब्दलाई सात पटक प्रयोग गरिएको छ ।

(१) उत्पत्ति २४:४३-४४

हेर्नुहोस्‌, म इनारमा उभिरहेछु । जुन स्‍त्री पानी भर्नलाई आउलिन्‌ र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्‍दा तिनले मलाई “खानुहोस्‌, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्‍नेछिन्‌, त्‍यही स्‍त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्‌ ।’

(२) प्रस्थान २:८  

तब फारोकी छोरीले त्‍यसलाई भनिन्‌, “हुन्‍छ, जा ।” अनि त्‍यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्‍याई ।

(३) भजनसंग्रह ६८:२५

अगिअगि गायकहरू छन्‌, तिनीहरूका पछिपछि वादकहरू, र तिनीहरूसित खैँजडी बजाउने कन्‍याहरू ।

(४) हितोपदेश ३०:१९

आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल, र तरुणीसँग पुरुषको चाल ।

(५) श्रेष्ठगीत १:

तपाईंका अत्तरको बास्‍ना आनन्‍दप्रद छ, तपाईंको नाउँ खन्‍याइएको अत्तरझैँ छ । त्‍यसैकारण कन्‍येहरूले तपाईंलाई प्रेम गर्नु अचम्‍मको कुरो होइन!

(६) श्रेष्ठगीत ६:८-९

चाहे साठी वटा रानी होऊन्‌,  चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्‍ती कन्‍याकेटीहरू होऊन्‌, तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्‌ ।

(७) यशैया ७:१४

यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्‍या गर्भवती हुनेछ, र त्‍यसले एउटा छोरा जन्‍माउनेछ र उनको नाउँ इम्‍मानुएल राखिनेछ ।

यी सातवटा खण्डलाई सरसरती नियाल्दा प्रस्ट हुन्छ कि एउटै हिब्रू शब्द ‘अल्माह’ लाई नेपाली भाषामा अनूदित पवित्र बाइबलमा पाँचवटा शब्दद्वारा अनुवाद गरिएको छः स्त्री, ठिटी, तरुणी, कन्ये, कन्या ।

यी सातवटै खण्डमा स्त्रीको निम्ति प्रयोग भएको शब्द ‘अल्माह’ ले कन्यालाई जनाउँछ । अल्माहको अर्थ हुन्छ— विवाहको निम्ति ठिक पारिएकी केटी । बाइबलीय प्रयोगमा यो शब्दले कहिल्यै पनि ‘विवाहित स्त्री’ लाई जनाउँदैनथ्यो; यसले सधैँ ‘अविवाहित स्त्री’ लाई जनाउँथ्यो ।

Facebook Comments

Powered by Youth Circle