जब आस्तिकहरूले परमेश्वरको कुरा गर्छन् नास्तिकहरू अगाडि सर्दै प्रश्न तेर्साउँछन्, “कसले देखेको छ र परमेश्वरलाई ?” म यहाँ यो प्रश्नलाई दुईवटा दृष्टिकोणबाट विश्लेषण गर्न चाहन्छु ।
- कोही पनि मान्छेले परमेश्वरलाई नदेखेकोले उहाँको अस्तित्वलाई स्वीकार गर्न सकिन्नँ भन्ने आशयलाई व्यक्त गर्छ यो प्रश्नले ।
- परमेश्वर या कुनै पनि कुरो अस्तित्वमा हुनको लागि मानवीय आँखाले देखेको हुनुपर्छ भनेर पनि यसले अङ्कित गर्दछ ।
ख्रीष्टियान परिभाषामुताबिक परमेश्वर स्वभावैले देहविहीन अर्थात् आत्मा हुनुभएकोले उहाँलाई मानवीय आँखाले देख्न सक्ने सम्भावना छैन । तसर्थ, “के कसैले परमेश्वरलाई देखेको छ र ?” भन्ने नास्तिकहरूको प्रश्नमा दम छ । यस विचारकले एउटै शब्दमा उत्तर दिन्छ, “छैन ।”
तर अझै महत्त्वपूर्ण प्रश्न यो हो कि “के कुनै कुरो अस्तित्वमा हुनको लागि मानवीय आँखाले देख्नैपर्छ र ?” यहाँ आँखाको सीमा र सत्यताको पहिचानको स्रोतलाई नबुझ्ने प्रिय मित्र नास्तिकहरू चुक्न पुग्छन् ।
ती वास्तविकताहरूलाई हामीले नदेख्नुको कारण ती अस्तित्वविहीन भएकोले होइनन्, तर हाम्रा आँखाको सीमितताको कारणले गर्दा हो । यो संसारमा तपाईंका आँखाले नदेखे तापनि तपाईंले विश्वास गर्नुभएको र विश्वास गर्नुपर्ने वस्तुहरू मनग्गे छन् ।
के तपाईंले कहिल्यै आफ्नो मष्तिश्कलाई देख्नुभएको छ ? के तपाईंले कहिल्यै बतासलाई देख्नुभएको छ ? के तपाईंले कहिल्यै इतिहासलाई देख्नुभएको छ ? के तपाईंले कहिल्यै टेलिभिजनका तरङ्गहरूलाई देख्नुभएको छ ? तपाईं आफैले आफ्नो मस्तिष्कलाई देख्नुभएको छैन होला तर अरूको देख्नुभएको कारणले गर्दा या यस विषयमा पढ्नुभएकोले आफ्नो मस्तिष्कको अस्तित्वमाथि तपाईंलाई रत्तिभर पनि शङ्का छैन । हामीले बतासलाई नदेखे तापनि यसका असरहरूलाई अनुभव गर्न सक्छौँ । अदृश्यता बतासको स्वभाव हो । हामीसँग इतिहासको बारेमा लेखिएका अभिलेखहरू छन् र तिनै अभिलेखहरूको आधारमा केही घटनाहरू भए भनी हामी विश्वस्त हुन पुग्छौँ । पुनरावृत्ति नहुनु इतिहासको प्रकृति हो । टेलिभिजनका तरङ्गहरू अदृश्य भए तापनि एन्टिनासाथै अन्य उपकरणहरूले ती तरङ्गहरूको उपिस्थतिलाई पत्ता लगाउन सक्छन् ।
कुनै कुरो अस्तित्वमा हुनको लागि त्यसलाई तपाईंले देख्नैपर्छ भन्ने छैन । त्यसको असर, त्यसको बारेमा भएको अभिलेख, त्यसको लागि भएको साक्षीको आधारमा त्यसलाई स्वीकार गर्नुपर्दछ ।
परमेश्वरको अस्तित्वको बारेमा चर्चा गर्दा पनि मानवीय आँखाको सीमालाई बुझ्नु आवश्यक छ र वास्तविकताको पहिचानको लागि आँखा सम्पूर्ण स्रोत होइन, केवल एउटा हो । परमेश्वरको अस्तित्वको बारेमा छलफल गर्दा उपलब्ध साक्षीहरूलाई विश्लेषण गर्नु आवश्यक छ । एक महान्, चेतनशील सृजनाकार अस्तित्वमा हुनैपर्छ भन्नाका लागि साक्षीहरू यथेष्ट छन् ।
निष्कर्षमा, कुनै कुरो अस्तित्वमा छ या छैन भनेर पत्ता लगाउने थुप्रै तरिका र माध्यमहरू छन् । आँखा तीमध्ये केवल एउटा हो । परमेश्वरको अस्तित्वको बारेमा चर्चा गर्दा उहाँको स्वभावको कारणले गर्दा मानवीय आँखालाई नभई अन्य स्रोतहरूलाई प्रयोग गरिनुपर्छ । यीलगायत अन्य साक्षीहरूको कारणले गर्दा उहाँ हुनुहुन्न भनेर विश्वास गर्न जति गार्हो छ उहाँ हुनुहुन्छ भनेर विश्वास गर्न त्यति मुश्किल छैन ।