चार्ल्स डार्बिन (ख्रिस्टाब्द १८०९-१८८२) द्वारा प्रतिपादित विकासवादी सिद्धान्त उन्नाइसौँ शताब्दीका वैज्ञानिकहरूका माझमा सम्भाव्य जस्तो देखिए तापनि बिसौँ शताब्दीमा जीव विज्ञानबारे भएका नयाँ-नयाँ खोजहरूले यसलाई गतिलै झट्का दिएका छन् । अलौकिक हस्तक्षेपविना नै जीवलगायत सारा विश्वको व्याख्या गर्ने प्रयास हो प्रकृतिवादी विकासवाद । यस परिकल्पनालाई अङ्गाल्नेहरूले कम सेकम एक पटक निर्जीव वस्तुबाट सजीव वस्तुको उदय भएको थियो भनी मान्नैपर्छ ।
आस्तिक र नास्तिक दुवै थरीका मानिसहरूले एउटा तथ्यलाई स्वीकार गर्नैपर्छ कि पहिलो जीवको उत्पत्तिलाई कुनै पनि मानिसले अवलोकन गर्न पाएन । पृथ्वीमा प्रथम जीवको उदय एकै पटक मात्र भएको एउटा ऐतिहासिक कार्य थियो । यसको अवलोकनको लागि कोही पनि उपस्थित थिएन, न सृष्टिवादीहरू न त विकासवादीहरू । रासायनिक पदार्थहरूको मिश्रणबाट पहिलो जीवको उदय भएको थियो या कुनै बुद्धिमानी रचनाकारद्वारा यसको सृजना गरिएको थियो भनेर हामीलाई इतिहासमा फर्केर प्रत्यक्ष रूपमा हेर्न असम्भव छ । तसर्थ, एउटा तार्किक व्यक्ति उपलब्ध ज्ञानलाई विश्लेषण गरी तर्कसङ्गत निष्कर्षमा पुग्दछ ।
वर्तमान जीव विज्ञानको स्थापित तथ्यले यही भन्छ कि शून्यताबाट जीवको उदय हुँदैन । तपाईंले बाटोमा भेट्ने कुकुर आफसे आफ त्यसै अस्तित्वमा आएको होइन न त हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने ससाना किटाणुहरूको उदय स्वतः भएका हुन् । आस्तिकवादी या नास्तिकवादी कुनै पनि वैज्ञानिकले यसलाई इन्कार गर्दैन ।
जीव विज्ञानमा एउटा चिरपरिचित नियम छ जसलाई जीव जननको नियम भनेर चिनिन्छ । यो अङ्ग्रेजी law of biogenesis को अनुवाद हो । biogenesis दुई ओटा अङ्ग्रेजी शब्द bio र genesis (अर्थ क्रमशः जीव र उत्पत्ति) मिलेर बनेको छ । यसको नामबाटै प्रस्ट छ कि यो नियम जीवको उत्पत्तिसित सम्बन्धित छ । जीवले आफ्नै किसिमको जीवको उदय गराउँछ भनी यस नियमले बताउँछ । पटक-पटकको वैज्ञानिक परीक्षणहरूबाट यसको पुष्टि भइसकेको छ । फ्रान्सका लुई पास्चर (१८२२-१८९५) यस नियमका सर्वाधिक प्रसिद्ध वैज्ञानिक हुन् ।
ख्रिस्टाब्द १९३३ मा नै विकासवादी जोन सुलिभनले स्वीकार गरे, “जीवको उदय केवल जीवबाट हुन्छ भन्ने कुरो एउटा स्वीकार गरिएको सिद्धान्त बन्यो । हालसम्मको वास्तविक साक्षीलाई ध्यान दिँदा अहिले पनि यो मात्र एउटा सम्भाव्य निष्कर्ष हो ।” बिसौँ शताब्दीको उत्तरार्द्धमा अर्का विकासवादी मार्टिन मोईले बताए, “जीव विज्ञानमा एक शताब्दीसम्म भएका संवेदनशील खोजहरूले हामीलाई सिकाएका छन् कि जीवको उदय जीवबाट मात्रै हुन्छ ।” हालै मात्र निष्ठावान् विकासवादी नेइल सुबिनले आफ्नो पुस्तक योर इन्नर फिसमा व्यक्त गरेका छन्, “म तपाईंहरूलाई एउटा साँचो नियम बताउन सक्छु जसबारे हामी सबैको सहमत हुन्छ होला । यो नियम यति विशुद्ध छ कि हामीमध्ये धेरैले यसलाई त्यसै पूर्ण रूपमा स्वीकार गर्दछौँ । … तपाईंले चिन्नुभएको हरेक व्यक्तिको जीवशास्त्रीय मातापिता हुन्छ चाहे त्यो चरो होस् या सार्क । … यसलाई अझै प्रस्ट रूपमा भन्नुपर्दा, हरेक सजीव वस्तुको उदय कुनै न कुनै मातापिताको आनुवंशिक जानकारीबाट हुन्छ ।” पास्चरले उन्नाइसौँ शताब्दीमा प्रयोगात्मक रूपमा सिद्ध गरिदिएको जीव जननको नियम बिसौँ र एक्काइसौँ शताब्दीको पूर्वार्द्धसम्म पनि उत्तिकै अटल छ । फेरि एक चोटि, यस नियमले भन्छ कि जीवको उदय जीवबाट मात्रै हुन्छ, निर्जीव वस्तुबाट होइन ।
तब सबैको लागि अर्थपूर्ण प्रश्न यो होः पहिलो जीव कसरी अस्तित्वमा आयो त ? यसको केवल दुईवटा तर्कसङ्गत उत्तर हुन सक्छ— स्वतः जनन वा अलौकिक सृष्टि । स्वतः जननले निर्जीव रसायनहरू मिलेर आफै नै जीव बन्न पुग्यो भन्ने अवधारणालाई जाहेर गर्दछ भने अलौकिक सृष्टि भन्नाले एउटा चेतनशील परमेश्वरले पहिलो जीवको सृष्टि गर्नुभयो भन्ने विचारलाई । एकातिर स्वतः जननको अवधारणा हाल अप्रमाणित भइसकेको छ भने अर्कोतिर सृष्टिको अवधारणाको लागि दरिला वैज्ञानिक साक्षीहरू छन् ।
अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनी जीव विज्ञानले प्रमाणित गरिसकेको छ । प्रथम जीवको उदयको विषयमा जीवशास्त्रसित कुनै वैज्ञानिक व्याख्या छैन । तसर्थ, अलौकिक व्याख्याको अपेक्षा गर्नु न्यायसङ्गत नै हुन्छ । हालसम्म उपलब्ध साक्षीको आधारमा अलौकिक कार्यद्वारा यस धरतीमा प्रथम जीवको उत्पत्ति भएको थियो भन्ने अवधारणा नै सबैभन्दा जायज निष्कर्ष हो ।