सी. एस. लेविस— नास्तिकदेखि प्रभावशाली ख्रीष्टियान रक्षाशास्त्रीसम्म

सी. एस. लेविस ख्रीष्टियान परिवारमा जन्मेका थिए र तिनको परिवार चर्च अफ आएरल्यान्डमा जान्थ्यो । धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा तिनी नास्तिक बने । नास्तिकवादको पक्षमा तिनको तर्क थियो, “यदि परमेश्वरले यस संसारको रचना गर्नुभएको थियो भने हामीले देखेजस्तै यो संसार यति कमजोर र दोषी नहुनुपर्थ्यो ।”[i] तिनी ख्रीष्टियान नहुन खोजेका थिए । आफ्नो धर्मान्तरणलाई तिनले जोसका साथ विरोध गरेका थिए तथापि तिनी सफल भएनन् । अन्ततः आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने ।[ii] नास्तिकवाददेखि आस्तिकवाद र खास गरी ख्रीष्टियान विश्वाससम्म भएको आफ्नो यात्रालाई तिनले सर्प्राइज्ड बाई जोए (१९५५) नामक आफ्नो आत्मकथामा बयान गरेका छन् ।[iii]

सी. एस. लेविसको पूरा नाउँ हो— क्लाइभ स्ट्याप्लेस लेविस । सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री थिए । रक्षाशास्त्रीले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । परिवार र मित्रहरूका बिचमा “ज्याक” भनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए । आख्यान र आख्यानेतर दुवै क्षेत्रमा कलम चलाएका लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।[iv]

लेविसको जन्म २९ नोभेम्बर १८९८ मा बुबा अल्बर्ट जेम्स लेविस र आमा फ्लोरेन्स अगस्टा लेविसबाट आएरल्यान्डको बेलफास्टमा भएको थियो । वारेन हामिल्टन नाउँका तिनका एक दाजु थिए । विविध स्कुलमा पढेका लेविसलाई स्कुले ठिटाहरूले दुर्व्यवहार गर्थे । १९१६ मा अक्सफोर्डमा भर्ना भएपछि तिनले आफैलाई उत्कृष्ट विद्यार्थी साबित गरे ।[v] तर आफ्नो पढाइलाई थाती राखी तिनी १९१७ मा पहिलो विश्व युद्धमा ब्रिटिस सेनामा सहभागी भए । युद्धको क्रममा फ्रान्समा घाइते भए र परिणामस्वरूप तिनी इङ्गल्यान्ड नै फर्के ।

अक्सफोर्डक्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् । ७० भन्दा बेसी पुस्तकका लेखक लेविसले साहित्यका विविध विधाहरूमा कलम चलाएका छन् । वार्षिक रूपमा तिनका कृतिहरू बिस लाखको सङ्ख्यामा बिक्री हुन्छन् । तिनका पुस्तकहरू तिसवटाभन्दा बेसी भाषामा अनुवाद भइसकेका छन् । तिनका कृतिहरूका कथावस्तुहरू रङ्गमञ्चमा उतारिएका छन्; टेलिभिजनमा देखाइएका छन्; रेडियोबाट प्रसारण गरिएका छन् र चलचित्रको पर्दामा प्रदर्शन गरिएका छन् । ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर कैयौँ मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन् ।

तर्क र विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्‍याउने एउटा उपयुक्त मार्ग हो । आफू एङ्गलिकन भए तापनि तिनले प्राय: सबै ख्रीष्टियान सम्प्रदायका आधारभूत ख्रीष्टियान शिक्षाहरूको पक्षमा तार्किक रूपमा वकालत गरे । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्या गरिएको दिन र विकासवादका पक्षपोषक अल्डुस हक्स्लेको निधन भएको दिनमा नै ६४ वर्षको उमेरमा लेविस यस धरतीबाट बिदा भएका थिए, २२ नोभेम्बर १९६३ मा । तिनको मृत्युले संसारको थोरै मात्र ध्यान खिँचेको भए तापनि अनुगामी वर्षहरूमा तिनको प्रशंसा बढ्दै गयो ।

 

सन्दर्भ स्रोतहरूः

[i]   Quoted in https://en.wikipedia.org/wiki/C._S._Lewis#Return_to_Christianity Accessed 29 September 2019

[ii]   https://en.wikipedia.org/wiki/C._S._Lewis#Return_to_Christianity Accessed 29 September 2019

[iii] https://www.britannica.com/biography/C-S-Lewis 29 September 2019

[iv] कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ३६६ ।

[v]   https://www.biographyonline.net/writers/c-s-lewis.html 29 September 2019

Facebook Comments

Powered by Youth Circle