रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ पढिन्, “म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ ।” ‘जीवित’ भन्ने शब्दले तिनको हृदयलाई छोयो । तिनले तत्काल आफ्नो जीवन येशूमा समर्पित गरे, “हे येशू, तपाईंले नै यो जीवन दिनुहुन्छ भने म यो चाहन्छु । मलाई यो अस्पतालको शय्याबाट कुशलसाथ बाहिर लैजानुहोस् । म प्रतिज्ञा गर्दछु कि सत्यताको खोजीमा म हर सम्भाव्य प्रयास गर्ने छु ।” येशूले तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन, तर तिनी त संसारभरि नै परिचित वक्तासाथै लेखक कहलाइएका छन् । नास्तिकबाट ख्रीष्टका अनुयायी बनेका तिनको नाउँ हो— रबी जकरिया ।[i

रबी अन्तर्राष्ट्रिय जगत्‌मा परिचित ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै रेडियो कार्यक्रम प्रस्तोता हुन् ।[ii] ख्रिस्टाब्द १९८४ मा तिनले RZIM नामक संस्था स्थापना गरे ।[iii] परिचित ख्रीष्टियान अगुवा चक कोलसनले रबीलाई “हाम्रो समयका महान् रक्षाशास्त्री” भनेका छन् ।[iv] रक्षाशास्त्री भनेको ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने व्यक्ति हो

२६ मार्च १९४६ मा हाम्रै छिमेकी मुलुक भारतको चेन्नई सहरमा जन्मेका रबी नयाँ दिल्लीमा हुर्केका थिए । हिन्दु धर्मको वर्गीकरणअनुसार तिनका पुर्खाहरू उच्च जातका थिए जसलाई नाम्बुदिरिस भनिन्थ्यो । मिसनरीहरूबाट सुसमाचार सुनेपछि तिनीहरूले ख्रीष्‍टियान विश्‍वासलाई अङ्गालेका थिए । रबी ख्रीष्‍टियान परिवारमा हुर्केका भए तापनि तिनले सुसमाचारको अर्थलाई बुझिसकेका थिएनन् । पढाइमा सिपालु नभएका रबीको बुझाइमा तिनको शैक्षिक असफलता परिवारको निम्ति लाज हुन्थ्यो भन्ने ठानेर तिनले आत्महत्यालाई उपचारको रूपमा देखे । तर तिनको जीवनमा परमेश्‍वरको अद्‍भुत योजना रहेछ ।

ख्रिस्टाब्द १९६६ मा रबी आफ्नो परिवारसँगै क्यानडा बसाइँ सरे । ट्रिनिटी इन्टरनेसनल युनिभर्सिटीबाट मास्टर अफ डिभिनिटी हासिल गरेका रबी सुसमाचार सुनाउँदै ७० ओटाभन्दा बेसी मुलुकमा पुगिसकेका छन् । तिनी प्रखर ख्रीष्‍टियान प्रचारकसाथै रक्षाशास्‍त्री (अपोलोजिस्ट) थिए । तिनका मनग्गे कृतिहरूमध्ये क्यान म्यान लिभ विदआउट गड ? ले स्वर्ण पदक जितेको छ ।

हार्बड, जोन हप्किन्स, अक्सफोर्डजस्ता विश्‍वका नामी विश्‍वविद्यालयहरूमा प्रवचन तोडिसकेका रबीले बिसवटा भन्दा बेसी पुस्तक लेख्नुकासाथै सम्पादन गरेका छन् । तिनका कतिपय पुस्तकहरू रुसी, चिनियाँ, कोरियनसाथै अन्य भाषाहरूमा अनुवाद भएका छन् । तिनी सीएनएन, फक्ससाथै अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि देखा परिसकेका छन् । रेडियोबाट पनि तार्किक रूपमा ख्रीष्‍टको सन्देशलाई फैलाउन सफल रबी आफ्नी पत्नी र तीन सन्तानसहित अमेरिकामा बस्थे ।

ख्रीष्टियान विश्वासको तारिफ गर्नुका साथै जीवनका उत्पत्ति, अर्थ, नैतिकता र गन्तव्यबारे भएका महान् अस्तित्वपरक प्रश्नहरूको बौद्धिकता र अनुग्रहसहित सम्बोधन गर्दै रबीले विगत ४६ वर्ष बिताइसकेका छन् । १९ वर्षको उमेरमा सुसमाचार प्रचारको लागि आफ्नो बोलावटबारे सुनिश्चित भएका रबीले अरू मानिसहरूले येशू ख्रीष्टमा जीवन पाउन् भन्ने उद्देश्यले उहाँको बारेमा भएको सत्यताको प्रस्तुत गरी त्यसको प्रतिरक्षा गर्नु नै आफ्नो जीवनको मिसन ठान्थे ।[v] रबीले कम्तीमा पनि १० ओटा विद्यावारिधि पाएका छन् ।[vi]

नेपाली भूमिमा समेत पाइला टेकिसकेका रबीले नेपालको सौन्दर्यबारे फेसबुकमा यसरी लेखेका छन्, “नेपाल सर्वाधिक सुन्दर मुलुकहरूमध्ये एक हो ।”[vii]

 

सन्दर्भ स्रोतहरूः

[i]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ९८ ।

[ii]   https://en.wikipedia.org/wiki/Ravi_Zacharias Accessed 28 September 2019

[iii] https://www.rzim.org/site/organization/rzim-history Accessed 28 September 2019

[iv] https://believersportal.com/biography-ravi-zacharias/ Accessed 28 September 2019

[v]   https://www.rzim.org/speakers/ravi-zacharias Accessed 28 September 2019

[vi] https://rzimmedia.rzim.org/assets/downloads/Ravi-K-Zacharias-CV.pdf Accessed 28 September 2019

[vii] https://www.facebook.com/ravizacharias/photos/a.10152952133116813/10155418593286813/?type=3&theater Accessed 27 September 2019

Facebook Comments

Powered by Youth Circle