विश्वास र तर्क एकअर्काका वैरी हुन् कि मित्र ?

विश्वास र तर्क एकअर्काका शत्रु हुन् भन्ने कतिको अनुमान रहेको छ । विश्वासलाई कहिलेकाहीँ अन्धविश्वासका रूपमा चित्रण गरिन्छ जबकि तर्कलाई विज्ञान र प्रमाणको मार्गका रूपमा हेरिन्छ । तर बौद्धिक ख्रिस्टियन परम्पराले लामो समयदेखि पुष्टि गर्दै आएको छ कि सत्यको खोजीमा विश्वास र तर्क प्रतिद्वन्द्वी नभई मित्र हुन् ।

तर्क भनेको सोच्ने, विश्लेषण गर्ने र प्रमाणबाट निष्कर्ष निकाल्ने क्षमता हो । यो मानवजातिलाई परमेश्वरले दिनुभएको वरदान हो । यसले हामीलाई अवलोकन र विश्लेषणमार्फत संसारलाई बुझ्न मद्दत गर्दछ । हामीले सबै कुरा पूर्ण रूपमा नबुझ्दा पनिविश्वास चाहिँ परमेश्वरले प्रकट गर्नुभएको कुरामा भरोसा गर्नु हो । बाइबलीय विश्वास तर्कविहीन छैन । यो भरपर्दो गबाहीमा आधारित भरोसा हो ।

बाइबल धर्मशास्त्र आफैँले तर्कको प्रयोगलाई सम्मान गर्दछ । प्रेरित पावल मानिसहरूसँग प्रायः तर्क गर्थे (प्रेरित १७:२) ।परमेश्वर आफ्ना मानिसहरूलाई बहस गर्न निमन्त्रणा दिनुहुन्छ, “आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौँ” (यसैया १:१८) । हामी येशूले पनि आफ्नो शिक्षामा स्पष्ट तर्कको प्रयोग गर्नुभएको देख्छौँ । सैतानको शक्तिद्वारा भूतात्मा धपाएको आरोप लगाइँदा आफैँमा विभाजित राज्य टिक्न सक्दैन भनी उहाँले जबाफ दिनुभयो (मत्ती १२:२५-२६) । यो सरल तर शक्तिशाली तर्कसहित उहाँले आफ्ना आलोचकहरूको अन्तर्विरोधलाई उजागर पारिदिनुभयो । ख्रिस्टियन आस्थालेअन्धविश्वासलाई स्वीकार गर्नुको सट्टा चिन्तनशील छलफललाई स्वागत गर्दछ भनी यसले देखाउँछ ।

विश्वास र तर्कले एकअर्कासित मिलेर काम गर्छन् किनभने दुबै अन्ततः परमेश्वरबाट आउँछन् । तर्कले प्रकृति, इतिहास र मानवीयअनुभवमा विद्यमान प्रमाणहरू जाँच गरेर विश्वासका लागि जग तयार गर्न मद्दत गर्दछ । उदाहरणका लागि प्राकृतिक ईश्वरशास्त्रले विश्वमा रचनाको अवलोकन गर्न तर्कको प्रयोग गर्दछ जुन सृष्टिले तपाईं र मलाई सृष्टिकर्तातर्फ औँल्याउँछ । त्यसपछि धर्मशास्त्र र ख्रीष्टमा प्रकटित परमेश्वरको पूर्ण प्रकाशमा भरोसा गरी यही जगमा विश्वासको निर्माण हुन्छ ।

तर्कले हामीलाई परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर देखाउन सक्छ तर विश्वासले उहाँसँगको व्यक्तिगत सम्बन्धलाई अँगाल्छ । धेरै ख्रिस्टियन विचारकले भनेझैँ तर्क ढोका हो भने विश्वास चाहिँ त्यस ढोकाबाट चालिने पाइला हो ।

विश्वास वा तर्कलाई तिनका आआफ्ना उचित भूमिकाभन्दा पर लैजाँदा समस्या उत्पन्न हुन सक्छ भन्नेबारे सचेत हुनु पनि उत्तिकै आवश्यक छ । तर्कलाई मात्र प्रयोग गरिएमा सन्देहवादको जन्म हुन सक्छ जसले मापन गर्न सकिनेभन्दा परको कुनै पनि कुरोस्वीकार गर्न मान्दैन । अर्कातर्फ चिन्तनमननबिनाको विश्वासले अन्धविश्वास वा गलतफहमीमा पुर्‍याउन सक्छ । स्वस्थ ख्रिस्टियनविश्वास दुबै चरम सीमाबाट बच्नुपर्छ ।

प्राकृतिक ईश्वरशास्त्रले हामीलाई स्मरण दिलाउँछ कि सृष्टि गरिएको संसार व्यवस्थित र अर्थपूर्ण छ अनि यसले तर्कसङ्गत अनुसन्धानलाई निमन्त्रणा दिन्छ । अर्कातिर परमेश्वरको स्वभावको गहिराइलाई बुझ्न नम्र विश्वासको आवश्यकता पर्दछ । विश्वासले तर्कलाई खारेज गर्दैन बरु यसलाई पूर्णता दिने काम गर्छ ।

विश्वास र तर्क एकअर्काका शत्रु होइनन् । यी एउटै लक्ष्य प्राप्तिका लागि सँगसँगै मिलेर काम गर्ने सहयात्री हुन् । तर्कले सृष्टिमा परमेश्वरले राखिदिनुभएको प्रमाणको जाँच गर्दछ जबकि विश्वासले त्यस प्रमाणको पछाडि रहनुभएका परमेश्वरमाथि भरोसा गर्दछ। सँगसँगै मिलेर यी दुबैले प्राकृतिक ईश्वरशास्त्र र चिन्तनशील ख्रिस्टियन विश्वदृष्टिका लागि बलियो आधार तय गर्छन् ।

Facebook Comments

Powered by Youth Circle