के सृष्टिले परमेश्वरका बारेमा बताउन सक्छ ?

प्राचीन मानव सभ्यतादेखि नै मानिसहरूले आकाश, पहाड, नदीनाला र जीवित प्राणीहरूलाई देखेका छन् अनि सृष्टि आफैँले सृष्टिभन्दा परका सृष्टिकर्तालाई औँल्याउँछ भनेर बुझेका छन् । परमेश्वरले प्राकृतिक संसारद्वारा आफ्ना बारेमा केही सत्य र अर्थपूर्ण कुरा प्रकट गर्नुभएको छ भनी ख्रिस्टियन आस्थाले विश्वास गर्दछ । ईश्वरशास्त्रमा यसलाई सामान्य प्रकाश भनिन्छ ।

सृष्टिले परमेश्वरका बारेमा बताउँछ भनी बाइबलले स्पष्ट रूपमा व्यक्त गर्छ, “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ र तारामण्‍डलले उहाँका हातको सिपको घोषणा गर्छ” (भजनसङ्ग्रह १९:१) । प्रकृतिलाई एक प्रकारको विश्वव्यापी साक्षीका रूपमा चित्रण गरिएको छ र यो सबैका लागि उपलब्ध छ । जुनसुकै संस्कृति मान्ने र भाषा बोल्ने  मानिसहरूले पनि सामान्य प्रकाशलाई देख्न सक्छ । यो सबै युगका मानिसहरूका लागि पहुँचयोग्य छ । विश्व (अर्थात् युनिभर्स) को क्रम, सौन्दर्य र विशालतालाई संयोग भनेर व्याख्या गर्न सकिन्न । विश्वको सुव्यवस्थित रचनाले त एक शक्तिशाली र बुद्धिमान् सृष्टिकर्तालाई औँल्याउने काम गर्दछ ।

रोमी १:२० मा प्रेरित पावल यस विचारलाई अझ प्रस्ट रूपमा व्यक्त गर्छन्, “किनकि उहाँको अदृश्‍य गुण अर्थात्‌ उहाँको अनन्‍त शक्‍ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्‌ङै देखिएको छ ।” पावलका अनुसार प्रकृतिले परमेश्वरका बारेमा कम्तीमा दुईवटा आधारभूत सत्यता प्रकट गर्दछ र ती हुन् : उहाँको शक्ति र उहाँको ईश्वरीय स्वभाव । विश्वको विशालता, प्राकृतिक नियमहरूको सुव्यवस्थित अवस्था र जीवको जटिलताले विश्व न आफैँ अस्तित्वमा आयो न त यो आत्मनिर्भर छ भन्ने कुरालाई जोडदार रूपमा अङ्कित गर्दछ ।

सृष्टिले परमेश्वरको बुद्धि र सुव्यवस्थालाई पनि प्रकट गर्दछ । वैज्ञानिक खोजहरूले निरन्तर रूपमा देखाएका छन् कि विश्व गुरुत्वाकर्षण, थर्मोडाइनामिक्स, विद्युतचुम्बकत्व, आनुवंशिकी जस्ता सटीक नियमअनुसार सञ्चालन हुन्छ । यस्तो तर्कसङ्गत संरचनालाई तर्कसङ्गत नियमदाताको अस्तित्वद्वारा मात्रै राम्रोसँग व्याख्या गर्न सकिन्छ । विख्यात खगोलविद् जोहानेस केप्लरले प्रसिद्ध रूपमा भनेका छन् कि विज्ञान भनेको “परमेश्वरको पछि लागेर उहाँका विचारबारे सोच्नु” हो । विश्वासलाई कमजोर पार्नुको सट्टा वास्तविक विज्ञानले प्रायः परमेश्वरको रचनात्मक बुद्धिमत्ताबारे हाम्रो विस्मयको भावलाई गहन तुल्याउँछ ।

तथापि ख्रिस्टियन ईश्वरशास्त्र प्रकृतिमा विद्यमान प्रकाशको सीमालाई ध्यान दिनमा सावधान छ । सृष्टिले परमेश्वरको अस्तित्व र उहाँका गुणहरूलाई औँल्याउन सक्ने भए तापनि यसले उद्धारसम्बन्धी उहाँका उद्देश्य वा मानवजातिका लागि उहाँको व्यक्तिगत इच्छा प्रकट गर्न सक्दैन । प्रकृतिले हामीलाई पाप, अनुग्रह, क्षमा वा ख्रीष्टद्वारा पाइने मुक्तिका बारेमा बताउँदैन । यसकारण सामान्य प्रकाश विशेष प्रकाशको पूरक हुनुपर्छ । बाइबल धर्मशास्त्र र येशू ख्रीष्टद्वारा परमेश्वरले आफैँलाई प्रकट गराउनु चाहिँ विशेष प्रकाश हो भनी ईश्वरशास्त्रका विद्यार्थीहरूलाई थाहा छ ।

यसका अतिरिक्त मानवीय पापले प्रकृतिबारे हाम्रो व्याख्यालाई असर गरेको छ । रोमी १ अध्यायले यो पनि बताउँछ कि मानिसले प्रायः सृष्टिमा प्रकट भएको सत्यलाई दबाउँछ अनि परमेश्वरलाई बहिष्कार गर्ने वैकल्पिक व्याख्याहरूको छनोट गर्छ । यसको अर्थ प्रमाण अस्पष्ट छ भन्ने होइन तर मानवीय हृदयले यसको प्रभावको प्रतिरोध गर्न सक्छ भन्ने हो ।

अन्त्यमा सृष्टिले परमेश्वरका बारेमा स्पष्ट, शक्तिशाली र विश्वव्यापी रूपमा बताएको छ । यसले मानवजातिलाई विनम्रता, आश्चर्य र उपासनाका लागि आमन्त्रित गर्दछ । प्रकृतिले मात्र हामीलाई मुक्तिको मार्गमा डोऱ्याउन नसक्ने भए तापनि यसले हामीलाई येशू ख्रीष्टमा आफूलाई पूर्ण रूपमा प्रकट गराउनुहुने सृष्टिकर्तातर्फ औँल्याउने काम गर्दछ । यसरी प्रकृतिमा विद्यमान प्रकाश एउटा अनुग्रही वरदान हो जसले प्रत्येक व्यक्तिलाई सबै कुरा सिर्जनुहुने परमेश्वरको खोजी गर्न आह्वान गर्दछ ।

Facebook Comments

Powered by Youth Circle