ख्रिस्टमस संसारमा सबैभन्दा धेरै मानिसद्वारा मनाइने पर्व हो । प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । झिलिमिली बत्ती, उपहार लेनदेन र ख्रिस्टमस ट्रि जस्ता परम्पराले यसको वास्तविक अर्थ गुमाउन दिनु हुँदैन ।ख्रिस्टमस येशू ख्रीष्टको व्यक्तित्वमा मानवीय इतिहासमा प्रवेश गर्नुहुने परमेश्वरको कथा हो । यो एउटा यस्तो क्षण थियो जसले संसारलाई सदाका लागि परिवर्तन गरिदियो । हामीले ख्रिस्टमससित गाँसिएका परम्पराहरूमा यसको महत्त्व खोज्नु हुँदैन तर देहधारणाको वास्तविकतामा यसको महत्त्व पाइन्छ । बाइबलले भन्छ कि परमेश्वर मानिस हुनुभयो, “अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो र हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएका एक मात्र पुत्रको जस्तो थियो जो अनुग्रह र सत्यताले भरिपूर्ण हुनुहुन्थ्यो” (युहन्ना १:१४) । यही सत्यता नै ख्रिस्टियन विश्वासको केन्द्रबिन्दु हो र यो मानव इतिहासको एउटा गहनतम घटना हो ।
पहिलो, ख्रिस्टमसले हामीलाई सम्झना दिलाउँछ कि परमेश्वर मानवजातिकहाँ आइपुग्न पहल गर्नुभयो । अन्य धेरै धर्ममा मानिसहरू धार्मिक रीतिरिवाज र नैतिक प्रयासद्वारा परमेश्वरकहाँ पुग्ने प्रयास गर्छन् । तर, ख्रिस्टमसले चाहिँ फरक चित्र प्रकट गर्छ अर्थात् परमेश्वर हामीकहाँ आउनुभयो । बेथलेहेममा येशूको जन्मले परमेश्वरको प्रेमलाई व्यवहारमै उतारिदिन्छ । मत्ती १:२३ ले भनेझैँ उहाँ ‘इम्मानुएल’ हुनुहुन्छ जसको अर्थ हो, ‘परमेश्वर हामीसँग ।’ यसको मतलब परमेश्वरले मानिसको पीडालाई टाढाबाट हेरिरहनुभएन । हाम्रा दुःखकष्ट, सङ्घर्ष र सीमितता भोग्दै उहाँले हाम्रै संसारमा पाइला चाल्नुभयो । ख्रिस्टमसले घोषणा गर्छ कि कसैलाई बिर्सिएको छैन र परमेश्वरको ध्यान खिँच्नका लागि कुनै ठाउँ पनि तुच्छ छैन ।
दोस्रो, ख्रिस्टमस महत्त्वपूर्ण छ किनभने यो परमेश्वरका प्रतिज्ञाहरूको पूर्णता हो । येशूको जन्मभन्दा शताब्दीऔँअगि अगमवक्ताहरूले उहाँको आगमनबारे भविष्यवाणी गरेका थिए । यसैयाले “अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार” भनिने बालकका बारेमा भविष्यवाणी गरे (यसैया ९:६) । मिकाले बेथलेहेममा मसिहाको जन्म हुने थियो भनी भविष्यवाणी गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहुदाका कुलहरूमध्ये सानो भए
तापनि तँबाट मेरा निम्ति एक जना निस्कनुहुने छ जो इस्राएलका शासक हुनुहुने छ, जसको सुरु पुरानो समयदेखि अर्थात् प्राचीन कालदेखि नै छ” (मिका ५:२) । यी भविष्यवाणी अस्पष्ट इच्छा थिएनन् तर येशूको जीवनमा पूरा भएका सटीक भविष्यवाणी थिए । यसले ख्रिस्टियनहरूलाई बाइबल विश्वासयोग्य छ र परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनी विश्वस्त गराउँछ ।
तेस्रो, ख्रिस्टमसले टुटेको संसारमा आशा ल्याउँछ । हामी चिन्ता, द्वन्द्व र अनिश्चितताको समयमा बाँचिरहेका छौँ । तैपनि गोठालाहरूलाई स्वर्गदूतको घोषणा आज पनि उत्तिकै सान्दर्भिक छ, “नडराओ किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जुन सबै मानिसका निम्ति हुने छ” (लुका २:१०) । ख्रीष्टको आगमनले घोषणा गर्छ कि पाप, अन्धकार र मृत्यु विजयी हुने छैनन् । येशू बचाउन, निको पार्न र अन्ततः मानवजातिको उद्धारका लागि आफ्नो जीवन दिनका लागि जन्मनुभएको थियो ।
चौथो, ख्रिस्टमसले हामीलाई प्रेम, विनम्रता र करुणाका साथ बाँच्न आह्वान गर्दछ । साधारण ठाउँमा भएको येशूको जन्मले हामीलाई सिकाउँछ कि महानता भन्ने कुरो विनम्रतामा पाइन्छ । उहाँको सम्पूर्ण जीवन अरूको सेवा गर्ने, कमजोरहरूलाई उठाउने अनि न्याय र दया ल्याउने उदाहरण बन्यो । ख्रिस्टियनहरूले ख्रिस्टमस मनाउँदा हामीलाई यही चरित्र प्रतिविम्बित गर्न निमन्त्रणा गरिएको छ अर्थात् हामीले क्षमा गर्न, उदारतापूर्वक दिन र अरूसँग परमेश्वरको प्रेम बाँडचुँड गर्न जान्नुपर्छ ।
अन्तमा, ख्रिस्टमस महत्त्वपूर्ण छ किनभने यसले राष्ट्र र संस्कृतिका मानिसहरूलाई एकताबद्ध गर्दछ । “पृथ्वीमा शान्ति” को बाइबलीय सन्देशले लाखौँलाई प्रेरणा दिइरहेको छ । विभाजित यस संसारमा ख्रिस्टमसले हामीलाई परमेश्वरको प्रेम सबै मानिसका लागि हो भनेर सम्झाउँछ । ख्रिस्टमस संसारका मुक्तिदाता येशू ख्रीष्ट मानवजातिले प्राप्त गरेको सबैभन्दा किमती उपहार हो भनेर सम्झने समय हो ।
Reasons to Believe KamalAdhikari.com.np 


