क्यारोलबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

  1. वर्तमान संसारमा क्यारोल ख्रिस्टमसको अभिन्न हिस्सा भइसकेको छ । ख्रिस्टमसको अवसरमा क्यारोलसम्बन्धी गीत भजनहरूले सडक, चर्च र घरहरूमा आशा, आनन्द र ख्रीष्टको जन्मको कथा घोषणा गर्छन् । ‘क्यारोल’ को अर्थ ‘गीत’ हुन्छ । अङ्ग्रेजी भाषाबाट लिप्यन्तरण गरिएकाले यो आगन्तुक शब्दभित्र पर्छ । यो पुरानो फ्रान्सेली शब्द ‘क्यारोल’ बाट व्युत्पन्न भएको हो । यो फ्रान्सेली शब्द ल्याटिन ‘चोरौला’ र ग्रिक ‘चोराउलस’ बाट आएको हो र दुबै शब्द गायन र नृत्यसँग सम्बन्धित छन् । नेपाली ख्रिस्टियन अभ्यासमा यो शब्द विशेष गरी ख्रिस्टमसको समयमा घर घरमा गई येशूको जन्मसम्बन्धी गीत भजनहरू गाउने चलनसँग सम्बन्धित छ ।
  2. मूल रूपमा नृत्यसँगै गाइने गीतलाई क्यारोल भनेर बुझिन्थ्यो । युरोपमा यो प्रायः जाडो मौसममा गाइन्थ्यो । क्यारोल ख्रिस्टियन गीतका रूपमा सुरु नभए तापनि पछि यस शब्दले मुख्यतया ख्रीष्टको जन्मबारे चर्चा गर्ने ख्रिस्टियन गीतलाई जनाउन थाल्यो । चर्चका अगुवाहरूले “सबै मानिसका लागि सबै कुरा” बन्ने प्रेरित पावलको उदाहरण (१ कोरिन्थी ९:२२) लाई प्रस्तुत गर्दै सङ्गीत शैलीलाई अझ प्रभावकारी रूपमा घोषणा गर्न थाले । ऐतिहासिक अभिलेखअनुसार दोस्रो शताब्दीमा बिसप टेलिस्फोरसले ‘सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा’ शीर्षकको भजनलाई लोकप्रिय बनाएका थिए । यो लुका २:१४ मा स्वर्गदूतको घोषणासँग मिल्दोजुल्दो छ, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ तिनीहरूलाई शान्‍ति !” यसको मौलिक धुन अस्तित्वमा नभए तापिन ख्रिस्टमसको समयमा गाउने परम्पराको इतिहास धेरै लामो भएको देखिन्छ ।
  3. १२ औँ शताब्दीदेखि क्यारोल युरोपभरि व्यापक चलनमा विकसित भइसकेको थियो । तेर्‍हौँ शताब्दीमा असिसीका सन्त फ्रान्सिसले येशूको जन्मसम्बन्धी नाटकहरू प्रस्तुत गरेर क्यारोलकोपुनरुत्थानमा प्रमुख भूमिका खेले । ती दिनमा पढ्न नसक्ने सामान्य मानिसलाई धर्मशास्त्र सिकाउन गीतको प्रयोग गरिन्थ्यो । यी गीत बिस्तारै चर्चको पर्खालभन्दा बाहिर गाउँका सर्वसाधारण र घर घरमा फैलिए । यसले बाइबलीय कथालाई सुरक्षित राख्यो जुन बेला धेरै मानिसमा लिखित धर्मशास्त्रको पहुँच हुँदैनथ्यो ।
  4. सोर्‍हौँ शताब्दीको सुधारवादपछि क्यारोलसम्बन्धी प्रसिद्ध गीत भजनहरू देखा परे । सुधारवादले मन्डलीको गायनलाई प्रोत्साहन गर्‍यो जसले गर्दा नयाँ नयाँ क्यारोलसम्बन्धी भजनहरू फस्टाउन थाले। मार्टिन लुथर आफैँले पारिवारिक उपासनाका लागि ख्रिस्टमससम्बन्धी भजनहरू रचना गरे । यसविकासले सबै विश्वासीको पुजारीगिरीलाई जोड दियो (१ पत्रुस २:९) । ख्रीष्टको जन्म र छुटकाराको घोषणा गर्दै ख्रिस्टियनहरूलाई गीत भजन गाउन प्रोत्साहन गरियो ।
  5. नेपालमा ख्रिस्टमसको अवसरमा नेपाली लेखकहरूद्वारा रचित र अनूदित दुबै किसिमका क्यारोलसम्बन्धी गीत भजनहरू गाइन्छन् । ‘ख्रिस्टमस बडा दिन’, ‘चिसो चिसो हावामा न्यानो माया है बोकेर’, ‘शान्तमय रात’, ‘खचाखच भो’, ‘दुनियाँ रमाऊ’ आदि जस्ता केही क्यारोलसम्बन्धी भजनहरू हुन्। यी गीतले धर्मशास्त्रका विषयवस्तुलाई सङ्गीतमा ढालिदिएका छन् । उदाहरणका लागि ‘दुनियाँ रमाऊ’ भजनसङ्ग्रह ९८ बाट प्रेरित छ जसले घोषणा गर्दछ, “परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ ।”
  6. १८०० को दशकको प्रारम्भमा भिक्टोरिया युगमा इङ्गल्यान्डमा घर घरमा ‘क्यारोल’ गाउने अभ्यास व्यापक भयो । छरछिमेक र सार्वजनिक स्थानहरूमा बाइबलीय सत्यताको घोषणा गर्दै ख्रिस्टियनहरूले यसलाई सुसमाचार प्रचारको अवसरका रूपका प्रयोग गरे । यस अभ्यासले तपाईं र मलाई गोठालाहरूको सम्झना दिलाउँछ जसले “यी बालकको विषयमा जे कुरो तिनीहरूलाई भनिएको थियो त्‍यो … बताइदिए” (लुका २:१७) ।
  7. द्वन्द्व, चिन्ता र नैतिक भ्रमले भरिएको संसारमा ख्रिस्टमस क्यारोलले धर्मशास्त्रमा अभिलिखितआशाको सन्देश प्रदान गरिरहेको छ । शान्ति, आशा, इम्मानुएल, मुक्ति र आनन्द जस्ता क्यारोलका विषयवस्तु मानवजातिका चाहना हुन् । क्यारोल अभ्यासले हामीलाई सम्झना दिलाउँछ कि मानवजातिलाई बचाउन परमेश्वर स्वयम् मानव इतिहासमा प्रवेश गर्नुभयो (युहन्ना १:१४) । डिजिटल प्रभुत्व रहेको वर्तमान युगमा चर्चमा होस् वा घरमा होस्, सामुदायिक कार्यक्रममा होस् वा सार्वजनिक स्थानमा होस्, क्यारोलको अभ्यासले साझा उत्सव र आत्मिक भावनाको पुनःस्थापित गर्न मद्दत गर्दछ । क्यारोलको स्थायी सुन्दरता यसको सङ्गीतमा मात्र होइन तर प्रत्येक पुस्तालाई बेथलेहेममा स्वर्गदूतहरूले पहिलो पटक गाएको सत्यको सम्झना गराउने क्षमतामा पनि निहित छ । “किनभने आज दाउदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्‍तिदाताको जन्‍म भएको छ जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ” (लुका २:११) ।
Facebook Comments

Powered by Youth Circle