पुरातत्त्वविद्या प्राचीन सभ्यता, संस्कृति, धर्म र ऐतिहासिक घटनाहरूको अध्ययन गर्ने एउटा महत्त्वपूर्ण विद्या हो । यसले समयको गर्भमा लुकेका प्रमाणहरू उजागर गर्छ जसले इतिहास र धर्मग्रन्थबारे हाम्रो बुझाइलाई गहन बनाइदिन्छ । पछिल्ला डेढ सय वर्षमा थुप्रै पुरातात्त्विक खोजले बाइबलका ऐतिहासिक सन्दर्भहरूलाई एकपछि अर्को गर्दै पुष्टि गरेका छन् । यिनै खोजले आलोचकहरूले मिथक ठानेका पात्र, स्थान र घटनाहरू वास्तविक थिए भन्ने प्रमाण पनि दिएका छन् ।
यहाँ हामी पुरानो करारसम्बन्धी ७ ओटा अत्यन्तै महत्त्वपूर्ण पुरातात्त्विक खोजको चर्चा गर्ने छौँ जसले बाइबलको विश्वसनीयता र ऐतिहासिकताको पुष्टि गर्छन् ।
१. मृत सागरका मुट्ठाहरू
ख्रिस्टाब्द १९४७ देखि १९५६ सम्म मृत सागरको उत्तर पश्चिममा रहेका ११ वटा गुफामा झन्डै एक हजारवटा प्राचीन पाण्डुलिपिका टुक्रा फेला परे जसलाई ‘मृत सागरका मुट्ठाहरू’ भनिन्छ । यी पाण्डुलिपि तेस्रो शताब्दी ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द पहिलो शताब्दीका बिचमा लेखिएका थिए । यसैयाको पूरै पुस्तक मात्र फेला पारिएको छैन तर एस्तरबाहेक पुरानो करारका हरेक पुस्तकका अंशहरू भेटिएका छन् ।
यस खोजले प्राचीन यहुदी धार्मिक परम्परा र बाइबलको लेखन इतिहासबारे गहिरो जानकारी दिएको छ । बाइबलको पाठमा हजारौँ वर्षसम्म पनि खासै परिवर्तन भएको रहेनछ भनी मृत सागरका मुट्ठाहरूले प्रमाणित गरिदिएका छन् । आलोचकहरूले बाइबलमा थुप्रै परिवर्तन गरिएका छन् भनी दाबी गर्दै आए पनि यी पाण्डुलिपिले पुरानो करारको प्राचीनता र विश्वसनीयता पुष्टि गरिदिएका छन् ।
२. एब्ला शिलालेखहरू
ख्रिस्टाब्द १९७४–७५ मा सिरियाको प्राचीन एब्ला सहरमा पत्ता लगाइएका झन्डै १८०० ट्याब्लेट र हजारौँ टुक्राटाक्रीलाई एब्ला शिलालेखहरू भनिन्छ । यी २५००–२२५० ख्रिस्टपूर्वबिच लेखिएका थिए ।
एब्ला शिलालेखहरूमा उल्लिखित स्थान र नामहरू बाइबलीय विवरणसँग मेल खान्छन् जसले प्राचीन इस्राएल, कनान र आसपासका सभ्यताहरूबिचको सम्बन्धको पुष्टि गरिदिन्छ । आलोचकहरूले कल्पित ठानेका केही बाइबलीय स्थान एब्लामा भेटिएपछि इतिहासकारहरू आश्चर्यचकित भएका छन् । यस खोजले बाइबलको प्राचीन ऐतिहासिक परिप्रेक्ष्यलाई पुष्टि गर्दै त्यसको सन्दर्भलाई थप विश्वसनीय बनाइदिएको छ ।
३. टेल दान शिलालेख
दाउद इस्राएलका महानतम राजा थिए तर बाइबलबाहिर उनको कुनै प्रमाण नभएकाले आलोचकहरूले उनको ऐतिहासिकतामाथि नै प्रश्न उठाएका थिए । तर, ख्रिस्टाब्द १९९३–९४ मा इस्राएलको उत्तरमा अवस्थित टेल दान भन्ने ठाउँमा पुरातत्वविद् अब्राहाम बिरामको टोलीले एउटा शिलालेख फेला पार्यो जसमा ‘दाउदको घर’ र ‘इस्राएलका राजा’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
यस खोजले बाइबलबाहिर पहिलो पटक दाउदको नाम प्रमाणित गरिदियो । झन्डै ३,००० वर्ष पुरानो यो शिलालेख यरुसलेमस्थित इजरायल सङ्ग्रहालयमा सुरक्षित छ । यसले न केवल दाउदको ऐतिहासिक अस्तित्वलाई पुष्टि गर्छ तर इस्राएल र यहुदाका राज्यहरू राजनीतिक दृष्टिले प्रभावशाली थिए भन्ने पनि देखाउँछ जुन आलोचकहरू स्विकार्न चाहँदैनथे ।
४. केतेफ हिन्नोम रक्षा कवचहरू
ख्रिस्टाब्द १९७९ मा यरुसलेमनजिकै केतेफ हिन्नोममा प्राध्यापक गब्रिएल बार्केले चाँदीका दुईवटा ससाना मुट्ठा फेला पारे जसलाई केतेफ हिन्नोम रक्षा कवचहरू भनिन्छ । यी सातौँ शताब्दी ख्रिस्टपूर्वका हुन् ।
यी मुट्ठामा गन्ती ६:२४–२६ को वचन लेखिएको छ जुन यसरी सुरु हुन्छ, “परमप्रभुले तिमीहरूलाई आशिष् देउन् … ।” यो अहिलेसम्म पत्ता लागेको बाइबलको प्राचीनतम अंश हो । यसले देखाउँछ कि बाइबलको केही अंश निर्वासनअगि नै अस्तित्वमा थिए । यसले लिबरल आलोचकहरूका तर्कलाई ठाडै चुनौती दिएको छ ।
५. हित्ती जाति
बाइबलमा बारम्बार उल्लेख भएको हित्ती जातिको ऐतिहासिक अस्तित्वमाथि प्रश्न उठाइएको थियो । आलोचकहरूले उनीहरूलाई काल्पनिक मानेका थिए । तर ख्रिस्टाब्द १८७६ देखि सुरु भएका पुरातात्त्विक उत्खननहरूले टर्कीको बोघाजकुई (अर्थात् हतुसा) मा हजारौँ माटाका ट्याब्लेट र संरचनाहरू पत्ता लगाए जसले हित्तीलाई एक शक्तिशाली साम्राज्यको रूपमा चित्रित गरेका छन् ।
जर्मन पुरातत्वविद् ह्युगो विङ्कलरले ख्रिस्टाब्द १९०६ मा यस क्षेत्रको अध्ययन गरेर हित्तीहरूको राजधानी र प्रशासनिक संरचना पत्ता लगाए । यसले बाइबलमा उल्लिखित हित्तीहरूको ऐतिहासिकता बलियोसँग पुष्टि गरिदियो ।
६. राजा बेलसजर
दानिएल ५ अध्यायमा उल्लिखित बेलसजर राजा बाइबलबाहिर कतै उल्लेख नभएको कारण आलोचकहरूले उनलाई काल्पनिक मानेका थिए । तर, ख्रिस्टाब्द १८५४ मा जे. ई. टेलरले बेबिलोननजिकैको उरमा चारवटा सिलिन्डर फेला पारे जसमा नाबोनिदसका छोरा बेलसजरको नाम उल्लेख भएको पाइन्छ ।
यसबाट थाहा भयो कि बेलसजर नाबोनिदसका छोरा थिए र बेबिलोनका सहशासक थिए । यही कारण दानिएललाई दोस्रो नभई ‘तेस्रो सर्वोच्च शासक’ भनिएको थियो । यसले बाइबलको विवरणलाई प्रमाणित मात्र गरेन तर ऐतिहासिक रूपमा सशक्त पनि बनाइदिएको छ ।
७. अस्सुरका राजा सर्गान
यसैया २०:१ मा मात्र उल्लिखित अस्सुरका राजा सर्गानको ऐतिहासिकता शङ्कामा थियो । ख्रिस्टाब्द १८४३ मा पावल इमाइल बोट्टा नाम गरेका फ्रान्सेली पुरातत्त्वविद्ले इराकको खोर्साबादमा सर्गानको दरबार नै फेला पारे ।
शिलालेखहरूमा सर्गानले अस्दोद सहर कब्जा गरेको विवरण यसैयाको लेखनसँग मेल खान्छ । सर्गानको शासन ७२२–७०५ ख्रिस्टपूर्वसम्म थियो । खोजले बाइबलको सटिक विवरण पुष्टि मात्र गरेन तर अस्सुरको इतिहासमा नयाँ दृष्टिकोण पनि खोलिदियो ।
यी सातवटा पुरातात्त्विक खोजले बाइबलको ऐतिहासिकता, विश्वसनीयता र सत्यतामा गहिरो गरी विश्वास गर्न मदत पुर्याएका छन् । समयले गर्दा दबिएका तथ्यमाथि जब धुलो हटाइन्छ सत्य उजागर हुन्छ । यिनै प्रमाणले देखाउँछन् कि बाइबल केवल विश्वासको विषय मात्र होइन तर तथ्य र इतिहासको पनि सशक्त दस्ताबेज हो ।
थप जानकारीका लागि कमल अधिकारीद्वारा लिखित ‘ढुङ्गाहरू बोल्न थालेपछि : बाइबलसित सम्बन्धित १०१ ओटा पुरातात्त्विक खोजहरूको सङ्ग्रह’ नामक पुस्तक पढ्नुहोस् : https://kamaladhikari.com.np/2330/
Reasons to Believe KamalAdhikari.com.np 


