बाइबललाई साहित्यिक दृष्टिकोणबाट हेर्दा (भाग १)

परमेश्वरको प्रेरणाबाट लेखिएको भए तापनि बाइबल मानवीय भाषामा लिखित पुस्तक हो । यसको समृद्ध भाषा, जीवन्त चित्रण, प्रेम, न्याय, मुक्ति र विश्वासका गहन विषयवस्तुले विविध संस्कृतिलाई प्रभाव पार्नुका साथै असङ्ख्य पाठकलाई अभिप्रेरित गरेका छन् । धर्मशास्त्रका अतिरिक्त यो कालातीत साहित्यिक र नैतिक खजानाको रूपमा पनि खडा छ । यसमा कथा, कविता, इतिहास, भविष्यवाणी, दृष्टान्त आदि जस्ता विविध साहित्यक शैली पाइन्छन् ।

साहित्यका विविध पक्षमध्ये अलङ्कार एउटा हो । वास्तवमा अलङ्कारलाई काव्यको सर्वस्व पनि भन्ने गरिन्छ । अलङ्कारलाई अङ्ग्रेजीमा Figures of Speech भनिन्छ । घुमाउरो भनाइ भएको शब्द वा वाक्य नै अलङ्कार हो । विशेष प्रभाव सिर्जना गर्न वा अर्थ बढाउन गैरशाब्दिक तरिकाले यसको प्रयोग गरिन्छ । अलङ्कार गहना हो । यो आभुषण हो । यसले काव्यलाई सिँगार्ने काम गर्छ । साहित्यमा यसको तात्पर्य साहित्यको गहना भन्ने हुन्छ । जसरी बहुमूल्य धातुहरूले शरीरको शोभा बढाउँछन् त्यसै गरी भाषाको गहनाको रूपमा अलङ्कारले साहित्यको सौन्दर्य बढाउँछ । बाइबलमा विभिन्न किसिमका अलङ्कार पाइन्छन् जसमध्ये हामी यहाँ ७ ओटा अलङ्कारको बारेमा अध्ययन गर्ने छौँ ।

१. उपमा

दुई व्यक्ति वा वस्तुको तुलनालाई उपमा भनिन्छ । यसलाई अङ्ग्रेजीमा Simile (सिमली) भनिन्छ । यस अलङ्कारमा चारवटा कुरा हुनुपर्छ : उपमेय, उपमान, धर्म र वाचक शब्द । जुन व्यक्ति वा वस्तुको तुलना देखाइन्छ त्यो उपमेय हो भने जुन व्यक्ति वा वस्तुसित तुलना गरिएको हुन्छ त्यो उपमान हो । उपमेय र उपमानमा पाइने समानतालाई धर्म भनेर बुझिन्छ । झैँ, जस्तै, सरी, तुल्य जस्ता शब्दहरू चाहिँ उपमामा आउने वाचक शब्द हुन् ।

अपरिचित वा अमूर्त अवधारणालाई ज्ञात अनुभवसँग सम्बन्धित गरेर बुझ्न मदत मिलोस् भन्ने हेतुले उपमाको प्रयोग गरिन्छ । बाइबलले परमेश्वरको काम, मानिसको स्वभाव वा आत्मिक वास्तविकतालाई ठोस शब्दहरूमा वर्णन गर्न उपमाको प्रयोग गर्दछ ।

एउटा उदाहरण हेरौँ, “ऊ खोलाको किनारमा रोपिएको बोट जस्‍तै हुन्‍छ” (भजनसङ्ग्रह १:३) । यहाँ ‘ऊ’ उपमेय हो भने ‘खोलाको किनारमा रोपिएको बोट’ उपमान हो । ‘रोपिनु’ धर्म हो भने ‘जस्तै’ वाचक शब्द हो ।

२. रूपक

रूपक भनेको एउटा वस्तुलाई अर्को वस्तु भनेर प्रत्यक्ष तुलना गर्नु हो । यसलाई अङ्ग्रेजीमा Metaphor (मेटाफोर) भनिन्छ । यसमा उपमेय र उपमानका बिचमा आरोप हुन्छ । यहाँ फलानो नै फलानु हो भनी व्यक्त गरिन्छ र ‘जस्तै’ वा ‘झैँ’ जस्ता तुलना गर्ने वाचक शब्दको प्रयोग गरिँदैन ।

रूपकले एउटा वस्तुलाई अर्को वस्तुसँग पहिचान गरी बयान गर्ने काम गर्दछ । फलस्वरूप सन्देशको प्रभाव गहन हुन पुग्छ । बाइबल धर्मशास्त्रमा प्रायः परमेश्वर, ख्रीष्ट, मन्डली र आत्मिक जीवनका लागि रूपकको प्रयोग भएको पाइन्छ । यस्तो प्रयोगले सत्यताको अभिव्यक्तिलाई बलियो बनाउँछ ।

“परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ” (भजनसङ्ग्रह २३:१) । यहाँ ‘परमप्रभु’ उपमेय हो भने ‘गोठाला’ उपमान हो । “तिमीहरू संसारका ज्‍योति हौ” (मत्ती ५:१४) र “म जीवनको रोटी हुँ” (युहन्ना ६:३५) अन्य उदाहरण हुन् ।

३. दृष्टान्त

दृष्टान्तको शाब्दिक अर्थ उदाहरण हो । दृष्टान्त भनेको सत्यतालाई चित्रण गर्न व्यक्त गरिने कथा हो । नैतिक वा आत्मिक पाठ सिकाउन प्रयोग गरिने छोटो र सरल कथा नै दृष्टान्त हो । यसलाई अङ्ग्रेजीमा Parable (प्याराबल) भनिन्छ ।

येशूले खोजकर्ताहरूलाई सत्यता प्रकट गर्न र कठोर हृदय भएकाहरूबाट सत्यता लुकाउन अक्सर दृष्टान्तहरूमा सिकाउनुभयो । राज्यसम्बन्धी गहन सिद्धान्तहरू प्रकट गर्न दृष्टान्तहरूमा दैनिक अनुभवका कथाहरू प्रयोग गरिएका छन् । चारवटा सुसमाचारमा झन्डै ४० ओटा दृष्टान्त पाइन्छन् । असल सामरीको दृष्टान्त (लुका १०:३०-३७), बिउ छर्नेको दृष्टान्त (मत्ती १३:३-९), उडन्ता पुत्रको दृष्टान्त (लुका १५:११-३२) केही उदाहरण हुन् ।

४. अतिशयोक्ति

अतिशयोक्ति बढाइचढाइ गरिएको भनाइ हो । यसमा कुनै कुरा, घटना, गुण वा भावलाई वास्तविकता भन्दा धेरै नै बढाइचढाइ गरी व्यक्त गरिन्छ । कुरो यति धेरै बढाइचढाइ गरिन्छ कि त्यो असम्भव जस्तै लाग्छ । जोड दिन वा प्रभावका लागि यस्तो किसिमको अलङ्कारको प्रयोग गरिन्छ । यसलाई अङ्ग्रेजीमा Hyperbole (हाइपरबोल) भनिन्छ ।

सामान्य सीमाभन्दा बाहिर गई कुनै बुँदालाई जोड दिन बाइबलमा अतिशयोक्तिको प्रयोग गरिएको पाइन्छ । यस अलङ्कारले पाप, न्याय वा आशिष् जस्ता गम्भीर विषयहरूमा ध्यानाकर्षण गर्छ जसले गर्दा पाठक रोकिन्छ र उसले कथनको गम्भीरतालाई विचार गर्छ ।

“यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ” (मत्ती ५:२९) । यहाँ येशू अतिशयोक्ति अलङ्कारको प्रयोग गर्दै हुनुहुन्छ । यसको अर्थ हामीले साँच्चै आँखै निकालेर फालिदिनुपर्छ भन्न खोजिएको होइन । बरु पापबाट बच्न हामीले कट्‍टरपन्थी र निर्णायक कदम चाल्नुपर्छ भन्ने उहाँको आशय हो । “यदि कोही मकहाँ आउँछ अनि आफ्‍ना बुबा र आमा र … आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने त्‍यो मेरो चेला हुन सक्‍दैन” (लुका १४:२६), “हेर, संसारै त्‍यसको पछि लागिसक्‍यो” (युहन्ना १२:१९) जस्ता भनाइहरू अतिशयोक्तिका अन्य उदाहरण हुन् ।

५. मानवीकरण

मानवीकरण एउटा अलङ्कार हो जसमा मानवेतर वस्तुलाई मानवीय गुण वा कार्यहरू प्रदान गरिन्छ । यसमा जनावर, वस्तु वा अमूर्त विचारलाई मानवीय विशेषता दिइन्छ । यसलाई अङ्ग्रेजीमा Personification (पर्सोनिफिकेसन) भनिन्छ ।

निर्जीव वस्तुलाई मानवीय गुणहरू दिएर मानवीकरणले अमूर्त अवधारणालाई जीवन्त बनाइदिन्छ । फलस्वरूप त्यसलाई बुझ्न सजिलो हुन्छ । प्रशंसाको अभिव्यक्ति, परमेश्वरप्रति प्रकृतिको प्रतिक्रिया वा निर्जीव सृष्टिको गतिविधि व्यक्त गर्न बाइबलले यस अलङ्कारको प्रयोग गरेको छ ।

“आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ” (भजनसङ्ग्रह १९:१), “नदीका तरङ्‍गहरूले ताली बजाउन्‌” (भजनसङ्ग्रह ९८:८), “बुद्धि सडकमा चर्को सोरले कराउँछ” (हितोपदेश १:२०) जस्ता भनाइ मानवीकरणका उदाहरण हुन् ।

६. व्यङ्‍ग्य

एउटा कुरो भनेझैँ गरी अर्को कुरो भन्ने अलङ्कार नै व्यङ्ग्य हो । यसमा सामान्यतया अभिप्रेरित अर्थ शाब्दिक अर्थको विपरीत हुन्छ । यसलाई अङ्ग्रेजीमा Irony (आइरनी) भनिन्छ । छेड हान्न वा अन्तर्विरोधलाई जोड दिन यसको प्रयोग गरिन्छ ।

बाइबलीय व्यङ्‍ग्यले मानवीय मूर्खता वा पापलाई उजागर गर्दछ जसमा अभिव्यक्तिको बेतुक्का वा गम्भीरता प्रकट गर्ने तरिकाले केही भनिएको हुन्छ । कपटको सामना गर्न येशू र पुरानो करारका अगमवक्ताहरूले यसको प्रयोग गरेका छन् ।

“पिलातसले एउटा दोष पत्र पनि लेखे अनि क्रुसमाथि टाँसिदिए । त्‍यसमा यही लेखिएको थियो : ‘नासरतका येशू, यहुदीहरूको राजा’” (युहन्ना १९:१९) । पिलातसले व्यङ्ग्य गर्दै दोषपत्रमा ‘यहुदीहरूको राजा’ भनी लेखेका थिए । “तिमीहरू जसका आँखा त छन्‌ तर देख्‍दैनौ, कान त छन्‌ तर सुन्‍दैनौ” (यर्मिया ५:२१), “तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्‍ने छु” (यसैया १:१५) जस्ता भनाइहरू व्यङ्ग्यका अन्य उदाहरण हुन् ।

७. आलङ्कारिक प्रश्न

उत्तर प्राप्त गर्न नभई कुनै कुरालाई जोड दिन सोधिने प्रश्न नै आलङ्कारिक प्रश्न हो । यसमा उत्तरको अपेक्षा गरिँदैन बरु नाटकीय प्रभाव सिर्जना गर्न यस्तो प्रश्न सोधिने गरिन्छ । अङ्ग्रेजीमा यसलाई Rhetorical Question (रिटोरिकल क्वेस्चन) भनिन्छ ।

बाइबलले प्रायः शिक्षा, भविष्यवाणी र हप्काइमा यस्तो प्रश्नको प्रयोग गर्दछ । यस्ता प्रश्नहरूले श्रोतागणलाई चुनौती दिन्छन्, सत्यतालाई जोड दिन्छन् वा प्रत्यक्ष प्रतिक्रियाको अपेक्षा नगरी बेतुकका कुरा प्रकट गर्छन् ।

“अनि तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घडी पनि थप्‍न सक्‍छ” (मत्ती ६:२७) ?, “यदि परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्‍छ भने हाम्रो विरुद्धमा को हुन सक्छ” (रोमी ८:३१) ?, “साउल, साउल, तिमी किन मलाई सताउँदछौ” (प्रेरित ९:४) ? यी आलङ्कारिक प्रश्नका उदाहरण हुन् । यी प्रश्नमा प्रश्नकर्ताले उत्तरको अपेक्षा गरेका हुँदैनन् ।

क्रमश: …

Facebook Comments

Powered by Youth Circle