येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानवीय चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । मानव धरतीमा येशू मात्रै एक यस्ता अनुपम व्यक्तित्व हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गबाहीहरूमा आधारित उचित निष्कर्ष हो । उहाँका मित्रहरूले मात्र उहाँले सिद्ध जीवन जिउनुभयो भनेर गबाही दिएका छैनन् तर उहाँका शत्रुहरूले पनि उहाँमा कुनै खोट देखाउन सकेनन् । उहाँले मात्र यसको दाबी गर्नुभएन तर उहाँको जाँच पडताल गर्ने अधिकारीहरू पनि उही निचोडमा पुगे । हामी यहाँ सात जनाको गबाहीलाई हेर्ने छौँ ।
१. येशूको गबाही
येशूको मृत्युको चाहना राख्ने उहाँका चिरपरिचित प्रतिद्वन्द्वीहरूको सामना गर्नुहुँदा उहाँले तिनीहरूलाई प्रश्न गर्नुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ” (युहन्ना ८:४६) ? कसैले पनि उत्तर दिने आँट गर्न सकेन । किन ? किनकि उहाँलाई पापको दोष लगाउने तिनीहरूसँग कुनै प्रमाण नै थिएन । हरेक ख्रिस्टियनले जानेकै कुरो हो कि हामी जति धेरै परमेश्वरको नजिक जान्छौँ त्यति नै पापबारे सचेत हुन्छौँ । तर येशूको हकमा यो लागु हुँदैन । संसारको कुनै पनि मानिसभन्दा येशू परमेश्वरको नजिक जिउनुभयो तरै पनि उहाँमा पापको अनुपस्थिति थियो । बाइबलले हामीलाई उहाँका परीक्षाहरूको विषयमा बताउँछ तर उहाँले पाप गर्नुभयो भनी कहिल्यै बताएको छैन । प्रसिद्ध मन्डली इतिहासकार फिलिप स्काफ लेख्छन्, “तब उहाँको मिसनसाथै एकैनासको चालचलन र सुस्पष्ट समर्पणबाट यो सत्यता निर्विवाद छ कि ख्रीष्टले आफैलाई पाप र दोषबाट मुक्त भएको रूपमा चिन्नुहुन्थ्यो । यस सत्यताका लागि एउटै मात्र तर्कसङ्गत व्याख्या यही हो कि ख्रीष्ट पापी हुनुहुन्थेन ।”
२. पन्तियस पिलातसको गबाही
पिलातस रोमी प्रान्त यहुदामाथि ख्रिस्टाब्द २६–३६ सम्म राज्यपाल थिए । रोमी र यहुदीहरूको बिचमा वैमनस्य थियो । येशू यहुदी हुनुहुन्थ्यो भने पिलातस रोमी । राज्यपाल भएकाले येशूको जाँचपडताल गर्ने जिम्मा तिनको काँधसम्म आइपुगेको थियो । अनुसन्धानपश्चात् तिनले येशूको बारेमा उचित निष्कर्ष निकाले, “तिमीहरूकै सामुन्ने जाँच गर्दा तिमीहरूले यिनीमाथि लाएका अभियोगको दोषी मैले भेट्टाइनँ” (लुका २३:१४) । पिलातसको निर्णय इतिहासकै निर्णय भएको छ ।
३. रोमी कप्तानको गबाही
लुकाको विवरणअनुसार जब येशूले क्रुसमा प्राण त्याग गर्नुभयो त्यहाँ केही असाधारण घटना घटे— सारा देशलाई अन्धकारले ढाक्यो, सूर्यको तेज कम भयो अनि मन्दिरको पर्दा च्यातियो । यी अनौठा घटना देखेपछि क्रुसको छेउमा उभिएका रोमी कप्तानले भने, “निश्चय नै यिनी धर्मी मानिस थिए” (लुका २३:४७) !
४. क्रुसमा टाँगिएका अपराधीको गबाही
येशूका दायाँ बायाँ दुई जना अपराधी येशूसँगै क्रुसमा टाँगिएका थिए । आफूहरूको दण्डलाई न्यायोचित मान्दै येशूको बारेमा चाहिँ एक जनाले गबाही दिए, “यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लुका २३:४१) ।
५. युहन्नाको गबाही
मछुवाबाट येशूका प्रेरित बनेका युहन्ना नयाँ करारका पाँचवटा पुस्तकका लेखक हुन् । चेलाहरूमध्येमा तिनी येशूका सबैभन्दा नजिकका चेला थिए । येशूलाई साढे तीन वर्षसम्म नजिकबाट राम्ररी अवलोकन गरेका तिनले येशूको बारेमा लेखे, “तिमीहरू जान्दछौ कि पापहरू हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो र उहाँमा कुनै पाप छैन” (१ युहन्ना ३:५) ।
६. पत्रुसको गबाही
पत्रुस नयाँ करारका दुईवटा पुस्तकका लेखक हुन् । युहन्ना जस्तै तिनी पनि मछुवाबाट येशूका चेला बनेका थिए । येशूका तीन जना नजिकका चेलामध्ये पत्रुस एक थिए । येशूको साढे तीन वर्षीय सेवाकार्यमा तिनी पनि येशूसँगै हिँडे । कुनै समय आफ्ना मालिक येशूलाई इन्कार गरेको भए तापनि आफ्नो विश्वासका निम्ति सहिद बनेका पत्रुसले येशूले पापरहित जीवन जिउनुभयो भनी लेखेका छन्, “उहाँले कुनै पाप गर्नुभएन र उहाँको मुखमा कुनै छलको कुरो पाइएन” (१ पत्रुस २:२२) ।
७. पावलको गबाही
नयाँ करारमा पावलले १३ ओटा पत्र लेखेका छन् । आदि मन्डलीलाई उग्र रूपमा सतावट गर्ने पावल पुनरुत्थान हुनुभएका येशूलाई भेटेपछि नाटकीय रूपमा परिवर्तन भए । तिनले कसरी युरोपलाई सुसमाचारको पानीले सिँचित गरे र सुसमाचारलाई यरुसलेमदेखि रोमसम्म पुर्याए भनी प्रेरितको पुस्तकमा पढ्न पाइन्छ । येशूलाई ग्रहण गरेपछि कुटाइपिटाइ, हुलदङ्गा, भोक, कैद आदि जस्ता हर किसिमका आपत्विपत् भोगेका पावल सहिद बनी यस धरतीबाट बिदा भएका थिए । निस्सन्देह तिनको गबाही वजनदार छ, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर परमेश्वरले पाप नचिन्नुहुनेलाई हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) ।
येशूले निष्पाप जीवन जिउनुभएको थियो भन्ने तथ्य सुस्पष्ट छ । उहाँले मात्र यसको दाबी गर्नुभएन तर उहाँका मित्रहरूसाथै वैरीहरूले यसको साक्षी दिएका छन् । भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा महात्मा गान्धीले येशूको निर्दोष जीवनको बारेमा यसरी टिप्पणी गरेका थिए, “येशू पूर्णतः निर्दोष व्यक्ति हुनुहुन्थ्यो जसले आफ्ना शत्रुसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।” येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तरै पनि पृथ्वीमा जन्म लिनुभएदेखि क्रुसमा प्राण त्याग नगरुन्जेलसम्म उहाँको हरेक विचार, हरेक कार्य, हरेक उद्देश्य, हरेक काम सबै नै परमेश्वरद्वारा अनुमोदित थिए । एकै पटक पनि हाम्रा प्रभुले पापको स्वीकार गर्नुभएन किनकि उहाँमा कुनै पाप थिएन । ईश्वरशास्त्री तथा इतिहासकार फिलिप स्काफको भनाइसँगै यस लेखक यस अध्यायलाई टुङ्ग्याउन चाहन्छ, “पृथ्वीमा येशूभन्दा निष्पाप व्यक्ति कोही बाँचेन । उहाँले कसैलाई चोट पुर्याउनुभएन, उहाँले कसैबाट कुनै फाइदा लिनुभएन, उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन, उहाँले कहिल्यै गलत काम गर्नुभएन ।”
Reasons to Believe KamalAdhikari.com.np 


