पृथ्वी बडो विचित्रको र रहस्यपूर्ण छ । हामी पृथ्वीको बारेमा जति धेरै ज्ञान हासिल गर्छौं त्यति नै धेरै छक्क पर्छौं । तपाईं र म बाँच्नका लागि पृथ्वीमा धेरै ससाना कुरा मिलेको हुनुपर्छ । सानो परिवर्तनले पनि जीवको अस्तित्वलाई असम्भव तुल्याइदिन्छ । यहाँ हामी पृथ्वीबारे १० ओटा तथ्यमाथि मनन गर्ने छौँ जसले तपाईंलाई परमेश्वरकहाँ डोर्याउँछन् ।
१. पृथ्वीको परिक्रमण
पृथ्वी आफ्नो अक्षवरिपरि घुम्छ जसलाई पृथ्वीको परिक्रमण भनिन्छ । यसलाई एक फन्को मार्न लगभग २४ घण्टा लाग्छ । यही घुमाइको कारणले गर्दा पृथ्वीमा दिन र रात हुन्छ । यस घुमाइमा हाम्रो पृथ्वी लगभग १,६०० किलोमिटरको रफ्तारमा हुइँकिन्छ । पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्छ । त्यसैले सूर्य पूर्वमा उदाउँछ र पश्चिममा अस्ताउँछ । यो स्थिर परिक्रमाले पृथ्वीको तापक्रम, हावाको ढाँचा र मौसमसम्बन्धी प्रणालीहरूलाई नियमन गर्न मदत गर्छ । पृथ्वी नघुम्ने हो भने यसको एउटा भाग सधैँ सूर्यतिर फर्किने थियो र अत्यन्तै तातो हुने थियो जबकि अर्को भाग अँध्यारो र जमिरहने थियो । अर्कोतिर यदि पृथ्वी ढिलो वा छिटो घुम्यो भने यसले जीव, मौसम र वातावरणमा ठुलो प्रभाव पार्ने थियो । पृथ्वीको परिक्रमा असाध्यै व्यवस्थित प्रणाली हो जसले धेरै तरिकाले जीवको अस्तित्वलाई समर्थन गर्दछ ।
२. पृथ्वीदेखि सूर्यसम्मको दूरी
पृथ्वी सूर्यदेखि लगभग १५ करोड किलोमिटर टाढा छ । परिणामस्वरूप हाम्रो पृथ्वी न धेरै तातो छ न त धेरै चिसो । यो जीव बस्न योग्य क्षेत्र बनेको छ । यदि पृथ्वी ५% नजिक भएको भए यहाँका सबै पानी वाष्पीकरण हुने थियो र यो शुक्र ग्रह जस्तै हुने थियो । अर्कोतिर यदि यो ५% टाढा भएको भए सबै कुरा जम्ने थियो । यदि सूर्य पृथ्वीको नजिक भएको भए तापक्रम तीव्र गतिमा बढ्ने थियो जसले गर्दा पानी वाष्पीकरण हुने थियो, बरफ पग्लिने थियो र जीव अत्यधिक गर्मीबाट पीडित हुने थियो । यदि सूर्य टाढा भएको भए पृथ्वी धेरै चिसो हुने थियो जसले गर्दा पानी जम्ने थियो, बालीनाली असफल हुने थियो । त्यसैले पृथ्वीदेखि सूर्यसम्मको दूरी एकदमै सही छ ।
३. पृथ्वीको वायुमण्डल
पृथ्वीको सतहदेखि लगभग १० हजार किलोमिटर माथिसम्म फैलिएको क्षेत्रलाई पृथ्वीको वायुमण्डल भनिन्छ । हाम्रो वायुमण्डल ७८% नाइट्रोजन, २१% अक्सिजन र १% अन्य ग्यासहरू मिलेर बनेको छ । वायुमण्डलले सूर्यबाट आउने हानिकारक किरणहरूलाई रोकेर हामीलाई बचाउँछ । यसले सूर्यको तापलाई केही हदसम्म समातेर पृथ्वीलाई न्यानो राख्छ र यस प्रक्रियालाई हरितगृह प्रभाव भनिन्छ । वायुमण्डलले हामीले सास फेर्ने हावा प्रदान गर्दछ अनि वर्षा, हिउँ र हावा फैलाउन मदत गर्दछ । योबिना पृथ्वी चन्द्रमा जस्तै हुने थियो अर्थात् निर्जीव, वायुविहीन र अत्यन्तै तातो वा चिसो हुने थियो । मौसम, हावापानी र सबै जीवित वस्तुका लागि वायुमण्डल अपरिहार्य छ । मानिस, जनावर र बोटबिरुवाका लागि २१% अक्सिजनको मात्रा एकदमै उपयुक्त छ । अक्सिजनको प्रतिशतमा केही मात्रा थपघट हुँदा गम्भीर समस्याहरू निम्तन्छन् ।
४. पानीको उपलब्धता
पृथ्वी एक मात्र ज्ञात ग्रह हो जहाँ पानी प्राकृतिक रूपमा ठोस (बरफ), तरल र ग्यास (वाष्प) को रूपमा अवस्थित छ । पृथ्वीको ७१% क्षेत्रफल पानीले भरिएको छ । पृथ्वीमा लगभग १.३८६ अर्ब घन किलोमिटर पानी छ र यो भनेको लगभग १.३८६ अर्ब ट्रिलियन लिटर बराबर हुन्छ । कुल पानीको मात्रामध्ये करिब ९६.५% पानी महासागरमा पाइन्छ, करिब २.५% ताजा पानी हुन् भने बाँकी १% नुनिलो पानी हो । जलचक्रले गर्दा नै बादलको निर्माण हुन्छ, वर्षा हुन्छ, नदी बहन्छ र बोटबिरुवा हुर्कन्छ । पानीले पृथ्वीको तापक्रमलाई पनि नियमन गर्दछ । अन्य कुनै ज्ञात ग्रहमा तीनवटै स्वरूपमा पानीलाई कायम राख्ने यो अद्वितीय क्षमता छैन । पानीबिना हामी जीवको परिकल्पना गर्न सक्दैनौँ ।
५. ओजोन तह
पृथ्वीको सतहभन्दा माथि करिब १२ किलोमिटरदेखि ५० किलोमिटरसम्म फैलिएको क्षेत्र समतापमण्डल (स्ट्राटोस्फेयर) नामले चिनिन्छ । यही समतापमण्डलभित्र पर्ने एउटा क्षेत्रलाई ओजोन तह भनिन्छ । पृथ्वीमा जीवधारीका लागि ओजोन तहलाई निकै महत्त्वपूर्ण क्षेत्र मानिन्छ । यस अदृश्य रक्षाकवचले हाम्रो सुरक्षा गर्ने काम गर्छ । यसले सूर्यबाट आउने अधिकांश अल्ट्राभाइलेट जस्ता हानिकारक विकिरणलाई सोस्ने काम गर्छ । यी विकिरण पृथ्वीमा आइपुग्यो भने छालाको क्यान्सर, आँखाको समस्यालगायत समस्याहरू पैदा गरिदिन्छन् । यसको उच्च मात्राले अधिकांश प्राणी, बोटबिरुवा र सूक्ष्मजीवाणूलाई हानि पुर्याउँछ । ओजोन तह नहुने हो भने मानवजातिले छालाको समस्या झेल्नुपर्ने हुन्थ्यो । फलस्वरूप तिनीहरूका प्रतिरोधात्मक क्षमतामा कमी आउँथ्यो ।
६. पृथ्वीको ढल्काइ
पृथ्वी आफ्नो अक्षमा लगभग २३.५ डिग्रीको कोणमा ढल्केको छ । यसको अर्थ पृथ्वीले सूर्यको परिक्रमा गर्दा यो सिधा माथि र तल खडा हुँदैन । यही झुकावको कारणले गर्दा पृथ्वीमा वसन्त, ग्रीष्म, शरद र हिउँद ऋतु हुन्छन् । यसले जलवायु र तापक्रमलाई नियमन गर्न मदत गर्छ अनि धेरैजसो क्षेत्रमा अत्यधिक गर्मी वा चिसोलाई रोक्छ । यस झुकावले दिन र रातको लम्बाइ पनि परिवर्तन गर्छ जसले कृषि, पशुपक्षीको जीवन र मानवीय गतिविधिलाई असर गर्छ ।
७. पृथ्वीको चुम्बकीय क्षेत्र
पृथ्वीले एउटा विशाल चुम्बक जस्तै काम गर्छ र यसको चुम्बकीय क्षेत्र भित्री भागदेखि अन्तरिक्षसम्म फैलिएको छ । यो एउटा अदृश्य तर शक्तिशाली क्षेत्र हो । यसले हाम्रो ग्रहलाई बचाउन र बस्न योग्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । खतरनाक सौर्य विकिरणहरूलाई जमिनमा पुग्नबाट रोकी यसले ढाल जस्तै काम गर्छ । लामो दूरीको यात्रामा चराचुरुङ्गी र कछुवालगायत धेरै जनावरलाई मार्गदर्शन गर्न यसले प्राकृतिक कम्पास जस्तै काम गर्दछ । चुम्बकीय क्षेत्रले कम्पास सुईलाई उत्तरतिर फर्काउँछ जसले मानिसहरूलाई आफ्नो बाटो पत्ता लगाउन मदत गर्छ । चुम्बकीय क्षेत्रबिना बलियो सौर्य हावाले पृथ्वी वरिपरिको हावालाई बिस्तारै उडाउन सक्छ जसले गर्दा जीव बाँच्न गाह्रो हुन्छ । यसले भूउपग्रह र सञ्चारलाई राम्ररी काम गर्न मदत पुर्याउँछ ।
८. पृथ्वीको आकार र गुरुत्वाकर्षण
पृथ्वी लगभग १२,७४२ किलोमिटर व्यास भएको मध्यम आकारको ग्रह हो । पृथ्वीको यही आकारको कारण यसमा हावा, पानी, मानिस र जमिनमा रहेका अन्य सबै चिज रहन सम्भव भएको हो । पृथ्वीको गुरुत्वाकर्षणले वस्तुहरूलाई आफ्नो केन्द्रतिर तान्छ । त्यसैले कुनै वस्तु फाल्दा त्यो आकाशमा हुत्तिएर जाँदैन, पृथ्वीको सतहमै खस्छ । यही बलले चन्द्रमालाई पृथ्वीको वरिपरि आफ्नो कक्षमा पनि राख्ने काम गर्दछ । पृथ्वीको गुरुत्वाकर्षण एकदमै ठिक छ । यसको आकार र गुरुत्वाकर्षणको कारण पृथ्वीले जीवलाई बचाइराख्न, ऋतुहरू कायम राख्न र हानिकारक अन्तरिक्ष वस्तुहरूबाट हामीलाई बचाउन सक्छ ।
९. कार्बनडाइअक्साइड र हरितगृह प्रभाव
कार्बनडाइअक्साइड (CO₂) ले पृथ्वीको वायुमण्डलको लगभग ०.०४% मात्र ओगटेको छ तर यसले पृथ्वीलाई न्यानो राख्न ठुलो भूमिका खेल्छ । धेरै कम कार्बनडाइअक्साइडले पृथ्वीलाई धेरै चिसो बनाउँछ भने धेरै बढी भएमा धेरै तातो हुन्छ । तापका लागि हामीसँग अहिले भएको मात्रा एकदमै सही छ । बोटबिरुवालाई प्रकाश संश्लेषणका लागि पनि कार्बनडाइअक्साइड चाहिन्छ जसले हामीलाई सास फेर्न अक्सिजन उत्पादन गरिदिन्छ । यति सानो मात्राले जीवको अस्तित्वमा यति ठुलो भूमिका खेल्नुलाई अचम्मकै मान्नुपर्छ ।
१०. पृथ्वीको बाहिरी सतहको मोटाइ
हाम्रो पृथ्वी चारवटा छुट्टाछुट्टै तह मिलेर बनेको छ : अन्तर्भाग, बाह्यभाग, म्यान्टल र बाहिरी सतह । तपाईं हामी बाहिरी सतहमा बसेका छौँ र यसको मोटाइ ३० किलोमिटर रहेको छ र यो एकदमै सही छ । यो न धेरै बाक्लो छ न त धेरै पातलो । यदि यो धेरै बाक्लो भएको भए ज्वालामुखीका गतिविधि सीमित हुने थियो र महत्त्वपूर्ण ग्यासहरू वायुमण्डलमा पुन: प्रयोगमा आउने थिएनन् । अर्कोतिर यदि यो धेरै पातलो भएको भए धेरै ज्वालामुखी गतिविधि हुने थियो जसले ग्रहलाई अस्थिर बनाइदिन्थ्यो । यस सन्तुलनले प्लेट टेक्टोनिक्सलाई समर्थन गर्दछ जुन खनिजहरू पुन: प्रयोग गर्न र ग्रहको तापक्रम नियमन गर्न महत्त्वपूर्ण छन् ।
यी सबै उदाहरणले देखाउँछन् कि पृथ्वी जीवका लागि अकल्पनीय रूपमा निकै सुव्यवस्थित ढङ्गमा मिलाइएको छ । यी सबै कारक दुर्घटनावश पूर्ण रूपमा एकसाथ आउने सम्भावना अत्यन्तै न्यून छ । यो स्वत: उत्पन्न हुन नसक्ने भएकाले यसको पछाडि रचनाकार हुनैपर्छ भन्ने धेरै वैज्ञानिक विश्वास गर्छन् । बाइबलअनुसार यो पृथ्वी परमेश्वरले सिर्जनुभएको हो । “किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ जसले आकाश सृष्टि गर्नुभयो, (उहाँ नै परमेश्वर हुनुहुन्छ !) जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो; (उहाँले त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो !)” (यसैया ४५:१८) । पृथ्वीको सुव्यवस्थित रचना परमेश्वरको अस्तित्वका लागि एउटा बलियो प्रमाण हो ।
Reasons to Believe KamalAdhikari.com.np 


