मसीह (अर्थ अभिषेक गरिएको) एउटा हिब्रू शब्द हो जसलाई ग्रिक भाषामा ख्रिस्टोस भनिन्छ भने नेपालीमा ख्रीष्ट । पुरानो करारका यहूदीहरूले मसीहको आगमनलाई उत्सुकतापूर्वक अपेक्षा गरिरहेका थिए । उहाँ परमेश्वरबाट पठाइनुहुने राजकुमार हुनुहुनेथियो जसले परमेश्वरका इच्छाहरूलाई पूरा गर्नुहुनेथियो । उहाँको विषयमा ख्रीष्टियान पवित्रशास्त्र बाइबलको पुरानो करारमा सयौँ भविष्यवाणीहरू गरिए । स्मरण रहोस्, पुरानो करारका ३९ ओटा पुस्तकहरू येशूको आगमनभन्दा सयौँ वर्षअगि लेखिएका थिए ।
येशू आजभन्दा लगभग २,००० वर्षअगि (अर्थात् पुरानो करारको अन्तिम पुस्तक लेखिएको ४०० वर्षपछि) एसिया महादेशको प्यालेस्टाइनमा जन्मनुभयो । उहाँले यस धरतीमा साढे तेत्तिस वर्षको छोटो जीवन गुजार्नुभयो । उहाँ खास गरी पछिल्ला साढे तीन वर्ष सक्रिय हुनुहुन्थ्यो । मसीहको बारेमा गरिएका मनग्गे भविष्यवाणीहरू येशूको जीवनमा पूरा भएका छन् जसले एउटा तार्किक व्यक्तिलाई सोच्न बाध्य पार्नुपर्छ । तीमध्ये हामी दश ओटालाई हेर्ने छौँ ।
१. उहाँ कन्याबाट जन्मनुहुनेथियो
येशूको जन्मभन्दा लगभग ७०० वर्षअगि यशैया अगमवक्ताले असाधारण भविष्यवाणी गरे, “… हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (यशैया ७:१४) । येशूको जन्मको विषयमा भएका नयाँ करारका विवरणहरूबाट प्रस्ट छ कि येशू मरियम नाउँ गरेकी कन्याबाट जन्मनुभयो (मत्ती १:१८-२५; लूका १:२६-३८) । यसरी वर्षौंअगिको भविष्यवाणी येशूको जन्मको असाधारण प्रकृतिमा आएर पूरा भयो ।
२. उहाँ यहूदाको कुलमा जन्मनुहुनेथियो
यहूदा याकूबका १२ जना छोरामध्ये चौथा थिए । बाँकी ११ जनालाई छाडी मसीहले यहूदाको कुलमा जन्म लिनुहुनेथियो (उत्पत्ति ४९:१०) । नयाँ करारको वंशावलीअनुसार येशू यहूदाकै कुलमा जन्मनुभयो (लूका ३:२३, ३३-३४) । यसरी १,७०० वर्षअगि याकूबले मर्ने बेलामा गरेको भविष्यवाणी येशूको जन्ममा पूरा भयो ।
३. उहाँ दाऊदको घरानामा जन्मनुहुनेथियो
दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्ष राज्य गरे । मसीहको जन्म तिनकै घरानामा हुनेथियो भनी भविष्यवाणी गरियो (२ शमूएल ७:१२-१६) । येशू दाऊदकै सन्तान भएर जन्मनुभयो र नयाँ करारमा उहाँलाई बारम्बार “दाऊदका पुत्र” (मत्ती १:१; २१:९; २२:४२-४५) भनिएको छ ।
४. उहाँ बेथलेहेममा जन्मनुहुनेथियो
येशूको जन्मभन्दा झन्डै ७०० वर्ष अगाडि मीका नाम गरेका अगमवक्ताले मसीहको जन्म स्थलको ठोकुवा गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ” (५:२) । येशूको जन्म वरिपरिका परिवेशहरूलाई नियाल्दा यहूदाको बेथलेहेममा नै येशूको जन्म भएको यथार्थता (मत्ती २:१) ले एउटा सन्देहवादीलाई छक्क पार्नुपर्छ ।
५. उहाँको लागि अग्रदूतले बाटो तयार पार्नेथियो
येशूले मानवीय चोला धारण गर्नुभन्दा ७०० वर्षअगि मसीहको लागि कसैले बाटो तयार पार्नेथियो भनी यशैया अगमवक्ताले भविष्यवाणी गरे (४०:३) । नयाँ करारका पाठकहरूलाई राम्ररी थाहा छ कि बप्तिस्मा-दिने यूहन्ना येशूको अग्रदूतको रूपमा देखा परे (मत्ती ३:१-१२) ।
६. उहाँले आश्चर्यकर्महरू गर्नुहुनेथियो
मसीहका आश्चर्यकर्महरूको विषयमा यशैयाले भविष्यवाणी गरे, “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन् । तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ” (३५:५-६) । सुसमाचारीय विवरणअनुसार येशूले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो (मत्ती ९:३५; यूहन्ना २०:३०-३१) । यसरी वर्षौंअगिको भविष्यवाणीलाई पूरा गर्नुभयो येशूले ।
७. उहाँ डाँकुहरूसँगै क्रूसमा टाँगिनुहुनेथियो
सुसमाचारीय लेखक मर्कूसले अभिलिखित गरेका छन्, “तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि । धर्मशास्त्रको वचन यसरी पूरा भयो, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ ।” (१५:२७-२८) । उहाँ अपराधीहरूसँगै गनिनुहुनेथियो भन्ने यशैयाको भविष्यवाणी (५३:१२) दुई जना डाँकुको बिचमा येशूलाई क्रूसमा टाँग्दा अक्षरशः पूरा भयो ।
८. उहाँको कुनै हड्डी भाँचिदैनथ्यो
“‘उहाँको कुनै पनि हड्डी भाँचिनेछैन’ भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए” (यूहन्ना १९:३६) । येशू क्रूसमा टाँगिनुहुँदा सिपाहीहरूले दायाँ र बायाँका दुई जना डाँकुका खुट्टा भाँचे तापनि तिनीहरूले उहाँका खुट्टा भने भाँचेनन् । किन ? किनकि १,००० वर्षअगि दाऊदले उहाँको कुनै हड्डी भाँचिदैनथ्यो भनी भविष्यवाणी गरेका थिए (भजन ३४:२०) ।
९. उहाँ मृतकहरूबाट जीवित हुनुहुनेथियो
येशूको पुनरुत्थानको १,००० वर्षअगि दाऊदले मसहीको बारेमा असाधारण भविष्यवाणी गरेका थिए, “किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ” (भजन १६:१०) । तेस्रो दिनमा जीवित हुनुभई उहाँले यस भविष्यवाणीलाई पूरा गर्नुभयो भनी पत्रुसले प्रस्ट पारे (प्रेरित २:३१) ।
१०. उहाँ स्वर्ग जानुहुनेथियो
भजन ६८:१८ ले मसीहको स्वर्गारोहणको बारेमा भविष्यवाणी गर्दछ । येशू जैतून पर्वतबाट स्वर्ग जानुहुँदा (प्रेरित १:९-११) वर्षौंअगिको यो भविष्यवाणी पूरा भयो ।
येशूको जीवनमा पूरा भएका यी केही भविष्यवाणीहरू मात्र हुन् । वास्तवमा सयौँ वर्षअगि मसीहको बारेमा गरिएका सयौँ भविष्यवाणीहरू येशूको जीवनमा पूरा भएका छन् । यसले के पुष्टि गर्छ त ? येशू स्वर्गबाट ओर्ली आउनुभएका परमेश्वरका पुत्र हुनुहुन्छ जो अन्य सबै धार्मिक, सामाजिकसाथै दार्शनिक अगुवाहरूभन्दा फरक मात्रै होइन तर महान् पनि हुनुहुन्छ । येशूको जीवनमा पूरा भएका यी भविष्यवाणीहरूले दुई हजार वर्षअगि सन्देहवादी थोमाले येशूको बारेमा गरेको स्वीकारलाई आज पनि अपरिवर्तनशील बनाउँछन्, “मेरा प्रभु, र मेरा परमेश्वर!”